लहान, १२ पुस । डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका १ बल्टीयास्थित चुरे वनक्षेत्र भित्रको कमला नदी बगरबाट अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरी खरिद बिक्रीमा संलग्न रहेको आरोपमा एक व्यवसायीलाई पक्राउ गरेको छ ।
वन कार्यालयले कर्जन्हा नगरपालिका ७ मा सञ्चालित कमलेश्वरी कमला प्रशोधन उधोग प्रालिका सञ्चालक जनकपुर उप महानगरपालिका ७ का मोहमद खलिल राईनलाई नियन्त्रणमा लिएको हो ।
वन कार्यालयले चुरे वनक्षेत्र पर्ने कमला नदीको बगरबाट मिति गत शनिवार अबैध रुपमा एक्सकाभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, वालुवा उत्खन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सोही क्षेत्रमा अवैध उत्खनन् गरी खरिद विक्रि गरेको आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले सूचना जारी गरी सार्वजनिक गरेका छन् । ।
यसैबीच डिभिजनल वन कार्यालय लहान र इलाका वन कार्यालय बन्दीपुरले गणेशमान चारनाथ नगरपालिकाले पठाएको पत्र नबुझी फर्काइ दिएको छ । गणेशमान चारनाथ नगरपालिकाले कमला नदी स्थानीय सरकार सञ्चालन ऐन अनुसार ठेक्का लगाइएको बोधार्थ पत्र डिभिजनल वन कार्यालयलाई पठाएको थियो । सूचना अधिकारी राधेश्याम चौधरीले बताए अनुसार वातावरणीय अध्ययन गरेको प्रतिवेदन र ठेक्का सम्झौता सहितको जानकारी पत्र प्राप्त हुनुपर्छ । ठेक्का लगाएको सूचना दिएर मात्र पुग्दैन । त्यसकारण पत्र फिर्ता गरिएको हो । चौधरीका अनुसार वातावरणीय अध्ययन नै रीत पुगेको छैन वा डिभिजनल वन कार्यालयको स्वीकृति नलिइ गरिएको रहेछ भने त्यो हामीलाई मान्य हुने छैन ।
डिभिजनल वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले भन्नुभयो, हाम्रो सरोकार के हो भने –“चुरे र वनको चार किल्ला भित्र पसेर अवैध उत्खनन् गरिनु भएन । वन र चुरे क्षेत्रमा उत्खनन् गर्ने जोसुकै होस् तिनलाई छाडिने छैन । ” कमला नदीमा पनि त्यही प्रकृया आरम्भ हुन्छ ।