सिरहामा आलु बालीमा लाग्ने “ अगौटेडढुवा ” रोगको प्रकोपले अधिकांश किसानको आलु बाली सखाप भएको छ । सिरहाको जुन गाउँमा गए पनि आलुबारी डढेलोले खाएको वन जस्तै देखिन्छ । खासगरी जिल्लाको उत्तरी भेक गोलबजार , धनगढीमाई र मिर्चैया क्षेत्रमा यो रोगको प्रकोप फैलिएको छ ।
“अगौटेडढुवा ” रोगले आलु बाली सखाप पारेपछि सिरहाका अधिकांश किसान विलखबन्दमा परेका छन् । यस वर्ष आलुको बिउ महंगिएको थियो । ३० देखि ३५ रुपैयाँ प्रति किलो बिउ आलु किनेर खेती लगाएका किसान आलु बाली सखाप भएका कारण ठूलो आर्थिक मारमा परेका छन् भने आलु उत्पादनमा पनि ह्रास आउने भएको छ ।
गोलबजार नगरपालिका वडा नं. २ गुरुधामकी किसान एलिना राई भन्छिन् , “हेर्दाहेर्दैको लहलह आलुको बोट एक सातामै भसक्कै डढ्यो । यसपाली त शीतलहर लागेन, तुषारो पनि परेन । आलु बाली सप्रिएर आएको छ भनेर मख्ख परेको त झन् पो देसान आए जस्तै भयो । माटो मुनि आलु बैठिएकै छैन ,बोट मरेर सखाप भयो ।”
तरकारी पकेट क्षेत्रको रुपमा परिचित धनगढीमाई नगरपालिका वडा नं. ४ को फूलकाहाकट्टीकी देवकुमारी यादवको आलु बारीमा पनि डढेलो सल्किए जस्तै भएको छ । तीन दिनमै उनको आलु खेत उजाड भएको छ । बोट जति मरेर सखाप भएपछि उनले आलु खन्न थालेकी छिन् । उनले भनिन् , लगानी मात्र खेर गयो । बाख्राका बडकुला जत्रा आलु छन् माटो मुनि ,। त्यै पनि खनेर दुई चार छाक तरकारीको गर्जो टर्ला नि ।
गोलबजार नगरपालिका २ की अरहुलिया देवी यादवको करेसामा लगाएको आलु पनि डढुवा रोग कै सिकार भयो । अरहुलिया भन्छिन् कति महगो बिउ किनेर रोपेको आलु फल्नै नपाई बोट मरिहाल्यो ।
गोलबजार नगरपालिका २ का गुरुधामकै ६५ वर्षिय राजदेव यादव भन्छन् , यस्तो अचम्म र उदेक कहिले देखिएको थिएन । पुष महिनामा खलखली पसिना आउने घाम र गर्मी छ । न कुहिरो लागेको छ न तुषारो परेको छ । तै पनि आलुमा रोग लागेको छ । साधारणतया शीतलहर चलेको बेलामा मात्र आलु बालीमा डढुवा लाग्नु पर्ने हो ।
आलु बालीमा अगौटेडढुवा फैलिएको थाहा पाएर अनुगमनमा आएका बाली संरक्षण प्रयोगशाला सिरहाका प्रमुख तथा बाली संरक्षण अधिकृत मोहन महतोका अनुसार यो रोग घुम्म बादल लाग्यो , अलि अलि हुस्सु लाग्यो , छिनमा सिमसिम पानी र छिनमै घाम लाग्ने भयो भने यो रोगको जीवाणु फैलिन्छ । महतोले भने , “शीतलहर छैन भनेर किसान ढुक्क भए । कसैकसैले शीतलहरबाट आलुको बोट जोगाउने विषादी छरे । तर अगौटे डढुवा रोगको बारे चाल पाएनन् । त्यसकारण बाली संरक्षण प्रयोगशालाले यो रोगबाट गोलभेडा र आलु बाली जोगाउन अपनाउनु पर्ने सावधानी र किटनाशक बारे पम्पलेट छपाएर जिल्लाभरमा वितरण गर्न थालिएको बताए ।
कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठका अनुसार यस वर्ष संकलित गरिएको तथ्यांक अनुसार सिरहा जिल्लामा २ हजार ९ सय ९५ हेक्टर जग्गामा आलु खेती गरिएको छ । सिरहामा प्रति हेक्टर सरदर ८ दशमलव ८ टन आलु उत्पादन हुनेगर्छ । अगौटे डढुवाका कारण सिरहामा यस वर्ष आलु उत्पादनमा ५० प्रतिशत ह्रास आउने अनुमान गरिएको छ ।