गोलबजार नगरपालिकाको निर्माणाधीन नगर कार्यपालिका भवनमा फेरि २ नं. इटा खसालिएको छ । पहिलो पटक गतसाता नगरका मेयर श्याम श्रेष्ठका नातेदारको धमिनी इटा भट्ठाबाट २ नं. र मिठा पाक इटा भवन निर्माण साइटमा खसालिएको र जोडाईमा प्रयोग भएको समाचार दावानलमा प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि मेयर श्रेष्ठले कमअसल इटा प्रयोग गर्ने ठेकेदारमाथि कारवाही गर्ने बताउनु भएको थियो । निर्माण साइटमा खसालिएको इटा फिर्ता पठाइएको थियो ।
२ नं. इटा खसालेर जोडाई गरेकोमा ठेकेदारमाथि कुनै कारवाही भएन । उल्टो गत आइतवारका दिन ठेकेदारले पुन सप्तरीबाट २ नं. इटा मगाएर भवन निर्माण स्थलमा खसालेका छन् । आइतवार नै भवन निर्माण स्थल अनुगमनमा गएका टोलीले पुन २ नं. इटा ल्याइएको देखेपछि मेयर श्याम श्रेष्ठ लज्जित भएका थिए ।
यस विषयमा मेयर श्रेष्ठको पुन प्रतिक्रिया लिँदा उहाँले भन्नुभयो मैले देख्नासाथ ठेकेदारलाई हप्काए । झण्डै मैले हाथ उठाएको । अब उप्रान्त यस्तो काम गरे कडा कारवाही गर्ने चेतावनी दिएको छु । २ नं. इटा सोलिङ्गमा प्रयोग गर्न अह््राएको छु । साथै एक जना सुपरभाइजर निरीक्षण तथा अनुगमन गर्न खटाएको छु ।
यस प्रसंगमा नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्नुहुन्छ, “ठेकेदार गल्ती गर्नमा माहिर छन् र मेयर साहब माफ गर्नमा माहिर छन् । यो सब नाटक हो । जनताको अगाडि ठीक्क पारेको हो । भित्र बदनीयत छ । भवन निर्माण साइटमा कमअसल सामान खसाल्नै दिनु हुँदैन । त्यहाँ भएको २ नं. इटा जोडाईमै प्रयोग हुन्छ । ठेकेदार पनि ढिठ छन् र नगरपालिकासँग मिलिभगत पनि छ । नत्र पहिलो पटकमै कारवाही हुनु पर्ने हो । ”
“एक पटक समाचार प्रकाशन भएर जग हसाई भइसकेपछि त चेत्नु पर्छ । १२ वर्ष ढुंग्रोमा हाल्यो –बाङ्गोको बाङ्गै शैलीमा काम गरेर हुन्छ र ” भन्दै अनेरास्ववियुका अध्यक्ष सुरेश यादवले भवन निर्माणमा भएको लापर्वाही प्रति हाम्रो संगठनको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले भन्नुभयो आवश्यक परे हाम्रो संगठनले पनि अनुगमन र निरीक्षण गर्ने छ ।
नगर कार्यपालिका भवन निर्माणमा फेरि २ नं. इटा ः १२ वर्ष ढुंग्रोमा हाल्यो –बाङ्गोको बाङ्गै
प्रकाशित : २०८० पुष ९ सोमबार