प्रिय भाइ सकलदेव
वडाध्यक्ष गोलबजार नगरपालिका , वडा नं. ४
आज एकाबिहानै जब मैलै फेसबुकको वालमा तपार्ईँको स्टाटस देखें , मैले आफूलाई रोक्नै सकिन । बैशाखको टन्टलापुर घाममा मरुभूमिको बालुवामा हिँडिरहेको पैदल यात्रुलाई तिर्खा लागेको तर पानी नपाएको जस्तै काकाकुल अवस्था भयो मेरो । छटपटी र हुटहुटी लागेर आयो । त्यसकारण मैले यो लिखित तर अनौपचारिक पत्र तपाईँका समीपमा संप्रेषित गरे. ।
आज खृष्टमसको दिन । एउटा चर्चकै कथबाट लेखनी सुरु गर्दैछु । एउटा धेरै पुरानो , भत्किन लागेको अर्थात जराजीर्ण भएको चर्चमा देशकै मुख्य पादरीको अनुगमन भ्रमण भएको थियो । नियमअनुसार मुल पादरीको स्वागतमा चर्चमा घण्टी बजाउनु पर्ने थियो तर मुख्य पादरी चर्चमा प्रवेश गर्दासमेत घण्टी बजेन । आगन्तुक पादरी रिसाए । सोधे , मेरो स्वागतमा किन घण्टी बजाइएन ?
मुख्य पादरी रिसाएको देखेर पुरानो चर्चका पादरीले भने हजुर घण्टी नबज्ने हजार कारणहरु छन् । तर सबैभन्दा प्रमुख कारण के हो भने यो पुरानो र भत्किनै लागेको चर्चमा घण्टी नै छैन । ती कनिष्ठ पादरीले बिन्ती गर्दै भने अरु पनि कारण बताउँ कि हजुर ? मुख्य पादरीले भने , भयो भयो , थप कारणहरु अब बताउनै पर्दैन । एउटै मुख्य कारण बताएपछि पर्याप्त भयो ।
पत्रकारितामा भनिन्छ एक हजार शब्द बराबर एउटा चित्र वा तस्बिरले बोल्छ । एक हजार शब्दमा जति वर्णण गर्न सकिन्छ त्यति एउटा चित्रले बताइरहेको हुन्छ । कहिलेकाँही पत्रकारले वा लेखकहरुले सय पानामा लेखेर बताएको कुरा कसैको दुई पंक्तिको सशक्त अभिव्यक्तिले प्रष्ट पारिदिन्छ ।
आज बिहान तपाईले पोष्ट गर्नुभएको फेसबुक स्टाटसले गोलबजार नगरपालिकाको तितो सत्यलाई दुई पंक्तीमा उदाङ्गो पारिदिएको छ । तपाईको यो स्टाटसमा गोलबजार नगरपालिकाको कुशासन, विकासको नाममा विनास, कमिशनखोरी, भ्रष्टाचार र मेयर श्याम कुमार श्रेष्ठको कुत्सित धन कमाउ नीति सबै छर्लङ्ग भएको छ ।
विगत एक वर्ष भन्दा अलि बढी नै समयदेखि दावानल अनलाइन पत्रिकाले गोलबजार नगरपालिका भित्रको भ्रष्टाचार, कुशासन,अपारदर्शीता , अनीयमितता , नातावाद, कृपावाद , जातिवाद र वेथितिहरुलाई खनिखोत्रो र छताछुल्ल बनाउने अभियान नै चलाएको छ । हामीलाई के लाग्छ भने सत्ताले जे लुकाउन खोज्छ त्यसलाई खोजी गरेर जनता समक्ष पस्किनु पत्रकारिता हो । मात्र हल्ला सृजना गर्ने गराउने हाम्रो सम्पादकीय उद्देश्य पनि होइन । हामी चाहान्छौ कि परिस्थितिमा सकारात्मक रुपान्तरण होस् । सुशासनको प्रत्याभूति होस् । यसका लागि दावानलले अनेकन धम्की र दबाब पनि खप्नु परेको छ । तर हामी किञ्चित पनि विचलित छैनौ । यायावर फकिरलाई उतिसारो भय छैन । जहाँ भेटिन्छ मृत्यु त्यही अंकमाल गरिहाल्छु । तर निर्भिकतापूर्वक कलम चलाइ रहन्छु ,यति कुराको म विश्वास दिलाउन चहान्छु ।
मुल कुरा के हो भने दावानलले विगत एक वर्षमा गोलबजार नगरपालिका भित्रको भ्रष्टाचार, कुशासन,अपारदर्शीता , अनीयमितता , नातावाद, कृपावाद , जातिवाद र वेथितिहरु बारे जति लेख्यो त्यसको सारतत्व तपाईले दुई पंक्तीको फेसबुक स्टाटसमा प्रष्टाइ दिनुभएको छ । “५ ट्रिप ग्राभेललाई १५ ट्रिप बनाउने खेल ” तपाईँको स्टाटसमा भएको यी ७ शब्दहरुले मात्र सिंगो गोलबजार नगरपालिकाको विगत डेढ वर्षको भ्रष्टाचार र लुटतन्त्रलाई उदाङ्गो पारिदिनु भएको छ । गोलबजार नगरपालिकामा अहिलेसम्म भएको काम नै यत्ति हो । “५ ट्रिप ग्राभेललाई १५ ट्रिप बनाउने खेल ” । यो भन्दा अलग र पृथक केही भएकै छैन । किसानलाई गहुँको बिउ पनि खरिद गरेर बाँड्न सकेको छैन । तर ग्राभेल खरिद गर्ने र छर्ने काममा कुनै कसर बाँकी राखिएको छैन । किनकी ग्राभेलमा “५ ट्रिप ग्राभेललाई १५ ट्रिप बनाउने खेल ” चल्छ । यो काममा मेयर श्याम श्रेष्ठ र उनका समस्त कर्मचारीतन्त्र भुलचुक नगरी दत्तचित्त भएर खटिन्छन् ।
७ शब्दमा सिंगो नगरपालिका भित्रको खेलोफडको अर्थात भनौं सारतत्व खिचेर बताउने तपाईँको शैली र अभिव्यक्ति निश्चय पनि प्रशंसायोग्य छ । रवि लामिछाने गृहमन्त्री हुनुभएको बेला जब ग्राभेल खानी र क्रसरहरुमाथि प्रतिबन्ध लागेको थियो त्यतिबेला मेयर श्याम कुमार श्रेष्ठको छटपटी र व्यग्रता हेरिनसक्नुको थियो । बैठक होस् वा कुनै सभा सम्मेलन जहाँ पनि उहाँले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई ग्राभेल खोल्नु प¥यो नत्र बजेट फ्रिज हुन्छ भनेर अनरोध गर्नुहुनथ्यो । वास्तवमा उहाँको हुटहुटी र कौतुहलता सडक बनाउने भन्दा पनि “५ ट्रिप ग्राभेललाई १५ ट्रिप बनाउने खेल ”मा थियो । समाज, जनता , विकास र सुसाशन प्रति उहाँको चिन्ता भएको भए गहुँको बिउ खरिद गर्न पनि उत्तिकै सकृयता प्रदर्शन हुने थियो । तर उहाँको नीति नै के हो भने कमिशन नआउने काम जति भर्सेला परोस् ।
“५ ट्रिप ग्राभेललाई १५ ट्रिप बनाउने खेल ” छोडेर “विकसित नगरपालिका बनाउनमा लागौं” भन्ने तपाईंको स्टाटसको पछिल्लो ५ शब्दमा लोकतन्त्रको मुलमर्म छुपेको छ । जनप्रतिनिधिको मुलभूत दायित्व र प्रयत्न “५ ट्रिप ग्राभेललाई १५ ट्रिप बनाउने खेल ” छोड्नु हो । जनप्रतिनिधिको सपना “विकसित नगरपालिका बनाउनमा लागौं ” भन्ने नै हो । तर गोलबजार नगरपालिकामा “सरकारी धनको लुट छ, लुट सके जति लुट– अन्त समय पछुताउने छौ जब मौका जानेछ छुट ” भएको छ । त्यहाँ “५ ट्रिप ग्राभेललाई १५ ट्रिप बनाउने खेल ” बाहेक केही हुँदैन र भएको छैन ।
सकलदेव भाइ , पदीय दायित्वले तपाईँ जनताको मत पाएर जनप्रतिनिधि गरिमामय वडाध्यक्ष पदमा रहनु भएको छ । मानिस विवश हुन्छ दुई कारणले । डर र लोभ ले । मैले गोलबजार नगरपालिका भित्र डर र लोभको मन्त्रले धेरै काम गरिरहेको देखिरहेको छु । जुन वडाध्यक्षले मेयर श्रेष्ठको मनपरी र स्वेच्छाचारिताको विरुद्धमा बोल्छ उसको वडाको बजेट कटाइदिने र घटाई दिने धम्की दिइन्छ । मेयरको अनीयमिततालाई अन्ध समर्थन गर्नेलाई बजेट थप्ने लोभ देखाइन्छ । दावानलमा प्रतिक्रिया दिने वडाध्यक्षहरुलाई मेयर श्रेष्ठले फोन गरेर धम्क्याउनु हुन्छ । भन्नुहुन्छ तिम्रो वडाको बजेट सबै कटाई दिन्छु , घटाई दिन्छु । मैले पत्रकार गणेश साहबाट सुने , मेयर साहबले एमालेका कार्यकर्ताहरुलाई उर्दी नै लगाउनु भएछ । जो अर्जुन थपलियासँग बोल्छ वा उसको घर आँगनमा जान्छ त्यसलाई पार्टीबाट निष्काशन गरिने छ ।
माहात्मा गान्धीले भारतीयहरुलाई संगठित गर्न भन्नुभएको थियो भारतीय नागरिक हो – डर भन्ने कुरालाई मनबाट झिकेर फालिदेउ – स्वतन्त्रताले तिम्रो पयर चुम्ने छ । मेरो आग्रह छ तपाईँलाई । लोभ र डर त्याग्नुस् । सुशासनको पक्षमा डटेर उभिनुस् । लोकतन्त्रमा सत्ता पक्षको मात्र भूमिका हुँदैन प्रतिपक्षको पनि उत्तिकै जिम्मेवारी र जवाफदेहीता हुन्छ । गोलबजार नगरपालिकामा प्रतिपक्ष कमजोर भएकै कारण भ्रष्टाचार, कुशासन,अपारदर्शीता , अनीयमितता , नातावाद, कृपावाद , जातिवाद र वेथितिहरु सहज रुपमा मौलाएको र झाँगिएको हो । म पुनः भन्न चाहान्छु डर र लोभ त्याग्नुस् र सशक्त प्रतिपक्षको रुपमा आफूलाई उभ्याउनुस् । जनताले तपाईँको कदर गर्ने छन् । गोलबजार नगरपालिकामा व्याप्त भ्रष्टाचार, कुशासन,अपारदर्शीता , अनीयमितता , नातावाद, कृपावाद , जातिवाद र वेथितिहरुका लागि जनताले प्रतिपक्षलाई पनि जिम्मेबार बनाउने छन् । डर र लोभका कारण मेयरको भ्रष्टाचार, कुशासन,अपारदर्शीता , अनीयमितता , नातावाद, कृपावाद , जातिवाद र वेथितिहरुको साझेदार नबन्नुस् । सशक्त जनपक्षीय जनप्रतिनिधि भएर जनताको कसीमा अकबरी सुन भएर उभिनुस् । आजको दायित्व र आवश्यकता यही नै हो । जनताले मूल्याङ्गकन गरिरहेका छन् ।
आजलाई यति नै
फकिर पत्रकार दाजु अर्जुन थपलिया