शौर्य सिमेन्ट मिथिला लोक चित्रकला प्रतियोगीता २०८० सम्पन्न

[sharethis-inline-buttons]

बद्री नारायण यादव, सिरहा,६ पुस । पहिचान, लोक गाथा र स्वास्थ्यसँग जोडिएको मिथिला चित्रकला तथा मिथिलाको खानपानलाई जोगाउन भरपुर प्रयास गरिने मधेस प्रदेशकी उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बताउनु भयो । शौर्य सिमेन्ट मिथिला लोक चित्रकला प्रतियोगीता २०८० को पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले मिथिला लोक चित्रकला र मिथिलाको मौलिकतासँग जोडिएका खानपानका परिकारलाई संरक्षण, व्यवस्थापन तथा व्यहारिक प्रयोग संगै बजारिकरण गर्न मधेश प्रदेश सरकारले बजेट छुट्याएको पर्यटनमन्त्री यादवले जानकारी दिनुभयो । आउने केही महिनाभित्र त्यस्ता कार्यको थालनी गरिने उहाँको कथन थियो । ‘ दैनिक मजदुरी गर्नेहरुको कामलाई समाजले कतिपय अवस्थामा हेपहा दृष्टिले हरिरहेको हुन्छ,’ पर्यटनमन्त्री यादव भन्नुहुन्छ ,‘ हेपहा दृष्टिकै कारण देशमा भएका उर्जावान युवा शक्ति विदेश पलायन भइरहेका छन् ।’ देशभित्र गरिने कुनै पनि कामलाई हेपहा दृष्टिबाट नहेर्न उहाँले सबैसँग आग्रह गर्नुभयो । सरकारले एकलै ठूला लगानीका उद्योगहरु संचालन गर्न सक्ने स्थितिमा नरहेको हुँदा निजि क्षेत्रसँगको साझेदारीमा उद्योगहरु संचालनमा ल्याउन प्रावधानहरु ल्याइरहेको उहाँले बताउनुभयो । हिन्दी फिल्मको कथासँग जोडेर उहाँले भन्नुभयो , ‘कुनै कारणबस उद्योग डुब्दा मजदुरहरुले आफ्नो लगानी र परिश्रमको बलमा उद्योगलाई प्रगतिको मार्गमा ल्याए जस्तै नेपालको कतिपय उद्योगहरुमा त्यस्तै गर्नुपर्छ ।’ देशभित्र धेरै प्रकारका साना तथा ठूला उद्योगहरु संचालन गर्न सक्ने सम्भावना रहेको र त्यसबाट हजरौं व्यक्तिहरुले रोजगार पाउन सक्ने अवसर सृजना हुन सक्ने उहाँले जिकिर गर्नुभयो ।
महिला हिंसा, बालात्कार जस्ता अन्य अपराधिक घटनालाई जोडेर मिथिला चित्रकला बनाउन प्राज्ञ व्यक्तित्व डा.राजेन्द्र बिमलले सुझाव दिनुभयो । मिथिला चित्रकला बन्यो भने यस्ता धेरै अपराधिक क्रियाकलापमा न्यूनीकरण आउने उहाँको भनाइ थियो । तराई मधेशको पहिचानलाई थप उचाईमा पु¥याउनुका साथै रोजगारी समेत सृजना गर्ने भएकोले यस्तालाई मधेश प्रदेश सरकार र स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने उहाँको माग थियो ।
मजदुर र जग्गावालासँग विगतमा भएका सहमतिलाई व्यवहारमा लागु गर्न शौर्य सिमेन्टसँग मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले जोडदार माग गर्नुभयो । स्थानीय व्यक्तिलाई रोजगारी सृजना हुनेतिर विषेश ध्यान दिन उनले उद्योग संचालन गर्ने नेतृत्वसँग आग्रह गर्नुभयो । मजदुर र जग्गाबालासँग धोकाधडी गर्नेहरुको बिरुद्धमा जान पछि नपर्ने उनले प्रष्ट्याए । कानून भन्दा माथि कोही पनि नभएकोले मजदुर संगठन खोल्न र संचालन गर्न सक्ने कानूनमै रहेकोले त्यसमा कसैले हस्तक्षेप गर्न नमिल्ने उनले सचेत गराउनु भयो । एकपक्षीय रुपमा उद्योगका मालिक मोटाउने हैन कि स्थानीय स्तरमा रहेको कृषि, शिक्षा,सडक संजाल लगायत अन्य पक्षमा काम गर्न उद्योग नेतृत्वसँग आग्रह गर्नुभयो ।
कर्जन्हा र मिर्चैया क्षेत्रका वातावरणीय शुद्धतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न शौर्य सिमेन्ट उद्योग संचालन गर्ने नेतृत्व पक्षलाई कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला पोखरेलले सुझाव दिनुभयो । वातावरणीय रक्षा, समाजको चौतर्फी विकासमा सहयोग गर्न कर्जन्हा नगरपालिका तयार रहेको उनले प्रतिबद्धता जनाए ।
चित्रकला प्रतियोगीहरु मध्ये उत्कृष्ट चित्रकला बनाएकोमा प्रमाण पत्र सहित रुवी कर्णलाई प्रथम पुरस्कार ७५ हजार, नेहा दासलाई द्वितीय पुरस्कार ५० हजार, बिना कर्णलाई तृतीय पुरस्कार २५ हजार प्रदान गरियो । सरस्वति कुमारी महतो, सोनम देवी कर्ण, हिरा देवी कर्ण, रुवी देवी कर्ण, पुनम कुमारी देवी, राखी कुमारी, सुमन कुमारी, राजकुमारी खत्वे, पुनम झा लगायतलाई शान्त्वना पुरस्कारको प्रमाण पत्र र जनही ११ हजारका दरले नगद प्रदान गरिएको आयोजकले जनाए ।
मिथिला लोक चित्रकला प्रतियोगीता संचालनका लागि सुनैना मिथिला आर्ट ग्यालरीकी सुनैना ठाकुर, मिथिला चित्रकलाकर्मी द्वय श्यामसुन्दर यादव र मिथिला यादवले शौर्य सिमेन्ट उद्योगसँग समन्वयात्मक भूमिका निर्वाह गरेको थियो ।
अत्यन्त जोखिम लिएर तीनै जनाले मिथिला लोक चित्रकला प्रतियोगीतालाई सफल बनाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । शौर्य सिमेन्ट उद्योगको दक्षिणी पर्खालामा बनाइएको मिथिला लोक चित्रकलाले तराई मधेशमा लोप भइरहेको सामा–चकेवा, वन जंगल, ढिकी–जाँतो, पौराणिक गाउँ–घर, विवाह, पाल्की लगायतका पहिचानमुखी अन्य पक्षलाई उजागर गरिएको सुनैना मिथिला आर्ट ग्यालरीकी संचालिका सुनैना ठाकुरले बताउनुभयो । पुरस्कार वितरण समारोहको अध्यक्षता गुरुदयाल महतोले गर्नुभएको थियो ।


प्रकाशित : २०८० पुष ९ सोमबार