गहुँको बिउ नपाउँदा किसान मर्कामा ः गोलबजार नगरपालिकाका किसानलाई माछो माछो भ्यागुतो

[sharethis-inline-buttons]

हिउँदे खेतीको मुख्य बाली गहुँ हो । अशोज १५ देखि कात्तिक मसान्तसम्म दुई महिना किसानलाई गहाँ छर्ने चटारो हुन्छ । बिउ किन्न सकस पर्छ । बिउ महंगो हुन्छ । हाइब्रिड बिउ त झन् महंगो हुन्छ । यतिबेला नगरपालिका लगायत सरकारका विभिन्न निकायले किसानलाई सुविधा दिन अनुदानमा बिउ उपलब्ध गराउँछ । जनताले पनि विभिन्न निकायबाट अनुदान सहयोग पाउने आशा गरेका हुन्छन् । तर गोलबजार नगरपालिकाका जनताको आशामा भने तुषारापत भएको छ ।
गोलबजार नगरपालिकामा अनुदानमा गहुँको बिउ प्रदान गर्न १० लाख बजेट विनियोजन गरिएको थियो । तर कमिशनको खेल र ढिलासुस्तीकारण कारण गोलबजार नगरपालिकाले गहुँको बिउ नै खरिद गर्न सकेन । बिउ खरिद गर्न हम्मे हम्मे परेका किसानको लागि गोलबजार नगरपालिकाको कार्यक्रम “आकाशको फल आँखा तरी मर” सावित भयो । गहुँको बीउ नै खरिद गरिएन , बाँडने कुरा त परै जाओस् । गहुँको बिउ नपाउँदा नगरपालिकाबाट सुविधा प्राप्त गर्ने किसानको अधिकार हनन् भएको छ भने नगर सभाबाट पारित बजेट र आदेशको पनि अवहेलना भएको छ । कृषि क्रान्ति गर्छु भनेर सपना बाँडेर चुनाव जितेका मेयर श्याम श्रेष्ठको कार्यकाल किसानका लागि अफाप सिद्ध हुँदैछ ।

गोलबजार नगरपालिका कृषि शाखाका प्रमुख बीरेन्द्र कुमार यादवलाई सोध्यौं , किन गहुँको बिउ खरिद भएन र किन बाँडिएन ? उहाँले भन्नुभयो हामीले दुई पटक टेण्डर आह्वान ग¥यौं तर कसैले पनि टेण्डर भरेनन् । हामीले के गर्ने ? कुनै बिक्रेता टेण्डर भर्न आएनन् । पहिलो पटक पत्रिकामा सूचना आह्वान गरियो दोश्रो पटक पालिकाको फेसबुक पेज र वेभसाइटमा ।

किसान राजकुमार सिंह भन्नुहुन्छ , असारे खेती भन्दा कात्तिके चास लगाउनु चर्को पर्छ । बिउ छर्ने बेला भनेको तेरहम मास हो किसानलाई । बिउ नहुने किसानले बिउदुनी ( बेदुन – बिउको दोब्बर दिने गरी लिने ऋण ) लिनु पर्छ । बिउ जहिले पनि महगों पर्छ । यस्तो बेलामा किसानलाई सहयोग नगर्ने मेयरको साशनलाई कदापी राम्रो भन्न सकिन्न । गरिब र किसानको मर्का यी कमुनिष्ट भनाउँदा मेयरलाई के थाहा हुन्छ ? भयो त भयो भएन त भएन भनि दिए पुग्यो । कस्तो गैर जिम्मेवार ?

नेकपा माओवादीका नेता तथा मेयरका प्रत्यासी रहेका रामचन्द्र सिंह भन्नुहुन्छ लोकतन्त्रमा जवाफदेहीता सुशासनको मुख्य आधार हो । जवाफदेहीता वहन गर्नै नपर्ने वा गर्न नसक्ने हो भने न लोकतन्त्र रहन्छ न सुशासन कायम हुन्छ । समयमा गहुँको बिउ प्राप्त गर्ने जनताको अधिकार हो । मेयरको माया , दयाले बिउ पाउने होइन । मेयरको मजबुरी किसानले बुझिदिनु पर्ने र मौन बस्नु पर्ने विषय होइन । लोकतन्त्रमा सरकारले कि त जिम्मेबारी पूरा गर्नुपर्छ नत्र जवाफदेहीता वहन गर्दै दण्डित हुनु पर्छ । समयमा गर्न सकिन जस्ता झारा टार्ने कुरा गर्न पाइँदैन ।

वडा नं. २ का अगुवा युवा तथा समाजसेवी दिनेश यादव भन्नुहुन्छ , “किसानलाई गहुँको बिउ समेत समयमा उपलब्ध गराउन नसक्ने मेयरले नगरको विकास गर्छु , कृषि क्रान्ति गर्छु भन्नु हावादारी कुरा हो । काम गर्न नसक्ने हो भने जनता समक्ष गएर “म असक्षम मेयर हुँ ” भनेर स्वीकार गर्नु प¥यो । ” यादवले थप्नुभयो–“बजेट हुँदाहुँदै किसानलाई गहुँको बिउ उपलब्ध गराउन नसक्नु मेयरको अक्षम्य अपराध हो । किसान प्रतिको खेलवाड हो । ” आउँदै छ चुनाव जनताले यस्ता काम गर्न नसक्ने मेयरलाई दण्डित गर्नेछन् ।

वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंह भन्नुहुन्छ , मेयर श्याम श्रेष्ठ र म एउटै डुंगाका यात्रु हौं । उहाँ आफू त डुब्नु नै हुन्छ साथमा पूरै टिमलाई डुबाएर छाड्नु हुन्छ । अहिले हामीले गाउँमा किसान समक्ष मुख देखाउने ठाउँ छैन । जता गयो उतै भन्छन् खोई गहुँको बिउ ? के जवाफ दिने ? सिंहले भन्नुभयो मैले मेयर साहबलाई साल्ट ट्रेडिङ्गबाट गहुँको बिउ खरिद गरौं । सरकारी निकायबाट खरिद गर्दा टेण्डर पनि गर्नु पर्दैन । नत्र सहकारीलाई दिनुहोस् । हामी जनतालाई उचित मूल्यमा बिउ उपलब्ध गराउँछौ भने । तर हाम्रो कुरा कसले सुन्ने । नगरपालिका भित्र एउटा भयानक जालो छ । त्यो जालोलाई चिर्नै कठिन छ । अब नयाँ हाकिम आउनु भएको छ । उहाँले केही परिवर्तन गर्नुहुन्छ कि भन्ने आशा छ ।

जिल्लाका धेरैजसो पालिकाहरुले सरकारीसंस्था साल्ट ट्रेटिङ्गबाट गहुँको बिउ खरिद गरेर किसानलाई समयमा उपलब्ध गरायो । तर गोलबजार नगरपालिकामा जे काममा पनि कमिशनको खेलो छ । साल्ट ट्रेडिङ्गबाट बिउ खरिद गर्दा कमिशन नआउने भए पछि निजी व्यवसायिक प्रतिष्ठानहरुबाट टेण्डर आह्वान गरियो । तर कसैले पनि टेण्डर भरेनन् । स्थानीय एग्रोभेट व्यापारी राजकुमार सिंह भन्छन् एक लाखको सामान खरिद गर्दा ५ लाखको बील माग्छन् । यस्तो पाप कर्म कसले गर्ने ? त्यसकारण हामीले टेण्डर हालेनौ । नगरपालिकामा माल सामान सप्लाई गरेपछि भुक्तानी लिन कुददा–कुददा पैताला खिइन्छ । पालिका प्रति सबैको विस्वास मरिसकेको छ । विषादी छर्ने ट्यांकी र अन्य कृषि औजार खरिद गर्दा स्थानीय व्यापारीलाई थाहा हुन पनि दिइएन । ठूलो कमिशन आउने भएपछि बाह्य व्यापारीसँग खरिद गरियो । गहुँको बिउ मात्रै सप्लाई गरेर हामी किन बिटुलो हुनु ।
किसान संघका प्रदेश अध्यक्ष मुक्ति यादव भन्नुहुन्छ गहुँको बिउ खरिद गर्न भदौ महिनामै प्रकृया आरम्भ गनुपर्छ । भोजको बेला कुभिण्डो रोपेर तरकारी पाक्दैन । मैले कृषि शाखामा पटक पटक भने छिट्टै सूचना निकाल्नुस् । तर सुनुवाई भएन । एकै पटक मंसिर लागेपछि टेण्डर (सूचना ) प्रकाशन गरेर कहाँ भेटिन्छ गहुँको बिउ ? समयमा सूचना प्रकाशन गरिएको भए गोलबजारकै बिक्रेताहरुले बिउ उपलब्ध गराइ दिने थिए । नगरपालिकाकै ढिलासुस्तीले किसानको अधिकार खोसियो ।
वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादवलाई हामीले गहुँको बिउबारे प्रश्न गर्न फोन ग¥यौं । हामीले सोध्यौं धेरै पालिकाहरुले गहुँको बिउ बाँडेर किसानलाई राहत दिए तर गोलबजार नगरपालिकाले किन बिउ बाँडेन ? तपाईहरुलाई जनताले सोधनी गर्दैनन् ? उहाँले जवाफमा प्रतिप्रश्न गर्नुभयो , “यो कुरा तपाईले मलाई दाजुभाईको नाताले अनौपचारिक सोध्नु भएको हो कि पत्रकारको नाताले अन्तरवार्ता लिनु भएको हो ? ” हामीले जवाफ दियौं – “पत्रकारले सोधेपछि रेकर्डेड हुन्छ । त्यसपछि उहाँले भन्नुभयो त्यसो भए म पनि रेकर्ड गर्छु । मैले हुन्छ गर्नुहोस् भने ।
गहुँको बिउबारे बोल्दै वडाध्यक्ष यादवले भन्नुभयो धेरै त्रुटीहरु छ , त्यही भएर बाँड्न सकेन । त्रुटी अब यो बीचमा कर्मचारीहरुको कारणले गर्दा । प्रमुख प्रशासकीय अधिकृत पनि चेञ्ज हुनु भयो । त्यो कारण पनि हुन सक्छ । अरु अरु पनि कारण छ । मेन अब नगर प्रमुखलाई सोध्नुहोस् । उहाँबाटै थाहा हुन्छ ।
हामीले फेरि प्रश्न थप्यौ – तपाईको पनि जिम्मेवारी हो । तपाईलाई जति थाहा छ त्यति स्पष्ट पारिदिनुस् । त्यसपछि यादवको जवाफ थियो – मैले जनतालाई भनिसके म नगर प्रमुखसँग सोधेर भन्छु । नगर प्रमुखले मलाई भन्नुभयो अब समय गयो अब नबाँडदा पनि हुन्छ । यति कुरा हो यति लेखिदिनुस् । कार्यपालिका बैठकमा हामीले कुरा राख्यौं । अब थप कुरा के भनुँ , त्यहाँ त्यस्तै छ । कस्को कुरा कसले सुन्छ । तपाईलाई अझै थप के भनौं । जनताले भन्या भनै छन् । कृषिमा अफिसर रिक्त छ । वास्तवमा चारैतिर अन्यौल छ । खोइ के भनौं ।

यस प्रसंगमा हामीले वडा नं. ११ का वडाध्यक्ष सोहेव अनवर सँग सोध्यौ जनता त निराश भए नि , किन बिउ बाँडिएन ? जनतालेआश गरेका थिए । बजेट छदाँछदैं पनि किन यस्तो भयो ? उहाँले जवाफमा भन्नुभयो धेरै कुरा त नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई नै सोध्नु पर्छ । हामीले कार्यपालिका बैठकमा पटक पटक कुरा उठाएका थियौं । कृषि शाखा प्रमुख नभएर पनि ढिलो भयो । अब त समय पनि गइसक्यो ।
यो त असक्षमता भयो नि भन्ने प्रश्नमा वडाध्यक्षले अनवर भन्नुभयो हो नगरपालिकाको कमजोरी भएको छ । अहिले अवस्था त्यस्तै छ । धेरै कुराको सुधार गर्नुपर्ने छ ।

हामीले ९ नं. वडाका वडाध्यक्ष उपेन्द्र मुखियालाई पनि गहुँको बिउ नबाँडिनुमा कस्को कमजोरी हो भनेर सोधेका थियौं । मुखियाले भन्नुभयो , कार्यपालिकाबाट हामीले निर्णय गरिदिएका हौं । कृषि शाखाले भन्यो कसैले टेण्डर नै हालेन । एक जनाले टेण्डर हाल्यो । तर कम्तिमा तीन जनाले नहालेसम्म खरिद गर्न मिल्दैन ।
हामीले प्रश्न थप्यौं – अन्य नगरपालिकाहरुमा बिक्रेताले सामान सप्लाई गर्न मरिहत्ते गर्छन् । तर गोलबजार नगरपालिकामा के त्यस्तो कमजोरी छ कि बिक्रेताले टेण्डर हाल्न पनि छोडिसके ? मुखियाले भन्नुभयो यो प्रश्नको जवाफ मेयर साहवलाई सोध्नुस् । जनताले हामीलाई गहुन्को बिउ नबाँडेकोमा लज्जित पारिरहेका छन् । हामी आफै जवाफ दिन सकिरहेका छैनौं ।

वडा नं. ३ का वडाध्यक्ष धन प्रसादलाई हामीले सोध्यौं गहुँको बिउ पनि समयमा किसानलाई दिन नसक्ने नगरपालिकाले समृद्धि र समाजवादको कुरा गर्न सुहाउँछ ? उहाँले भन्नुभयो जस्को ढिलासुस्तीले बिउ बाँड्न सकिएन उसलाई कारवाही हुनुपर्छ । मेरो ढिलासुस्ती हो भने मलाई नै कारवाही होस् । यो कुरा म कडाईका साथ कार्यपालिका बैठकमा राख्छु ।
यस विष्यमा हामीले मेयर श्याम कुमार श्रेष्ठलाई सोध्यौं , किन गहुँको बिउ खरिद भएन र बाँडिएन ? उहाँले जवाफ दिनुभयो कुनै बिक्रेताले टेण्डर हालेनन् । भएन त भएन । के गर्ने ? अब धान र तरकारीको बीउमा त्यो बजेट प्रयोग गर्ने भनेका छौं ।


प्रकाशित : २०८० पुष ८ आईतवार