“ धनगढीमाई नगरपालिका वडा नं. ४ का ५० वर्षिय हरिदेव यादवसँग उनको खेतमै भेट भयो । उनले पुर्पुरोमा हात लगाए । खेतको आलीमा बसेर उनले भने नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बिउ भनेर ४५ रुपैयाँ प्रति किलोमा ४० किलो बिउ ल्याएँ । ८ कट्ठा खेतमा गहुँ छरे । ६ दिनमा उम्रिएर ९ दिनमा दुई पात हुनु पर्ने गहुँ १५ दिन बित्दा पनि उम्रिएन । खाद , मल , ट्रयाक्टरको जोताई सबै खेर गयो । हामी किसानको बिल्लीबाठ भयो । खेत बाँझै रह्यो । कसरी बालबच्चा पाल्ने ? सुस्केरा हाल्दै उनले प्रतिप्रश्न गरे – यस्तो पनि अन्याय गर्न हुन्छ ? ”
“धनगढीमाई ४ की देबकुमारी यादवको आर्तनाद पनि सुनिनसक्नु छ । उहाँ भन्नुहुन्छ ,“ गरिब मान्छे हजुर , कसरी बाँच्ने , कसरी दिन काट्ने । खेत बाँझै रह्यो । धेरै फल्छ भनेर उन्नत बिउ सम्झेर ल्याएको । गहुँको बिउ नगरपालिकाले दियो तर नक्कली र पुरानो बिउ बाँडेछन् । एउटा गेडो पनि उम्रिएन । नगरपालिकाले हाम्रो खेतको क्षतिपूर्ति दिनुपर्छ । किसानको जीवनसँग यस्तो खेलबाँड गर्न पाइदैन । ”
धनगढीमाई ४ फूलकाहाकट्टीका जय प्रकाश महतो पनि बिलखबन्दमा परेका छन् । उहाँ भन्नुहुन्छ ,“ वडाको सिफारिस लिएर दुई दाजुभाईले नगरपालिकाको कृषि शाखाबाट ४० किलो गहँुको बीउ ल्यायौं । ८ कट्ठा खेतमा छ छ¥यौं । तर गहुँ उम्रिएन । अब दोहो¥याएर छर्न पनि ढिलो भइसक्यो । ढिलो गरी छरेको गहुँ मौसम नमिलेर फल्दैन । फागुन–चैतको पश्चिमी तातो बायुले बाला नै सुकाई दिन्छ । पुनः नछरु भने खेत बाँझै रहने भयो । बालबच्चालाई के खुवाउने भन्ने चिन्ता छ । ”
“यस्तै व्यथा छ धनगढीमाई ४ जयपुरका रासोभित यादवको । उहाँ भन्नुहुन्छ , “खेती गर्दा गर्दा कपाल सेतै भयो । तर यस्तो हत्ते कहिले आइलागेको थिएन । नगरपालिकाले बाँडेको अनुदानको गहुँको बिउ ४० किलो ल्याएर १० कट्ठा जग्गा आवाद गरें तर एउटा पनि उम्रिएन । फेरि अर्को बिउ किनेर दोहोरो खर्च लगाएर छरेको छु । तर ढिलो लगाएको खेती उब्जनी होला भन्ने आशा कमै छ । ”
यी ४ चार त प्रतिनिधि किसान मात्र हुन् । नगरपालिकाबाट अनुदानको गहुँको बिउ लैजाने ५ सय ५० जना किसानको यस्तै रोदन र क्रन्दन छ । धनगढीमाई नगरपालिकाले किसानलाई अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिए पछि ५ सय ५० जना किसानको गहुँ खेती बर्बाद भएको छ ।
नगरपालिकाले पछिल्लो लटमा कुशवाहा बीज भण्डार देवानगञ्ज , सुनसरीबाट ल्याएको आदित्य जातको १ सय १० क्विन्टल गहुँको प्रति किलो ४५ मा किसानलाई वितरण गरेको थियो । उक्त बिउ लैजाने ५ सय ५० जना किसानले छरेको गहुँको बिउ उम्रिएन । फलतः किसानहरुको एक सय १० बिघा जग्गा बाँझै रहन गएको छ । एक सय १० बिघा जग्गाको ट्रयाक्टर जोताई खर्च , रसायनिक मल डिएपी र पोटास छरेको खर्च , कियारी बनाएको मजदुर खर्च र बिउ किनेको खर्च पनि डुबेको छ । ५ सय ५० जना किसानको १ सय १० बिघा जग्गा बाँझो रहँदा गहुँको उत्पादन न्युनतम पनि २ हजार २ सय क्विन्टल कम हुनेछ । ५ सय ५० परिवारले अनिकालको सामना गर्नु पर्ने छ ।
यस प्रसंगमा धनगढीमाई नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवानसँग हामीले जिज्ञाशा राख्दा उहाँले भन्नुभयो , “पहिलो लटमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट ल्याएको १० लाख बराबरको गौतम जातको गहुँको बिउ राम्रो थियो । उक्त बिउ प्रतिकिलो ८० रुपैयाँमा उपलब्ध भएको र ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको थियो । साल्ट ट्रेडिङ्गको बिउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ । गहुँको बिउ माग्ने किसानको चाप बढेपछि पुनः ११ लाख बरावरको ११० क्विन्टल गहुँको बिउ मगाइयो । तर पछिल्लो लटमा आएको बिउमा धेरै सिकायत आयो । दैनिक दर्जनौ किसान कृषि शाखा घेराउ गर्न आउँछन् । गहुँको बिउ उम्रिएन , क्षतिपूर्ति देउ भन्छन् । हामीले के गर्नु के नगर्नु ? अप्ठ्यारोमा परेका छौं ।
पासवानलाई हामीले प्रश्न थप्यौं , पहिलो लट जस्तै पछिल्लो लटमा साल्ट ट्रेडिङ्गबाट किन बिउ खरिद नगरेको ? बिउ खरिद गर्न किन कुशवाहा बीज भण्डार सुनसरी जानुभयो ? १० रुपैयाँ प्रति किलो महँगो मूल्य किन हाल्नुभयो ? किन फरक जातको बिउ ल्याउनु भयो ?
शाखा प्रमुख पासवानले भन्नुभयो बिउ पुगेन भनेर हामीले मेयर साहबलाई जाहेर ग¥यौं । त्यसपछि मेयर साहब स्वयंले कुशवाहा बीज भण्डारबाट बिउ खरिद गर्नुभयो । हामीले रोजेको पनि होइन , निर्णय गरेको पनि होइन । पालिकाबाट जुन बिउ उपलब्ध गराइयो त्यही बिउ वितरण गरिदिएका हौं । ल्यावबाट ल्याएर हामी समक्ष पेस गरिएको जर्मिनेशन र मर्सराइजर प्रमाण पत्र हामीले हेरेका हौं । प्रमाण पत्र ठीकै थियो । कुन बिउ कति दर रेटमा कहाँबाट खरिद गर्ने भन्ने सबै निर्णय मेयर साहबको हो ।
अधिकृत पासवानलाई गरिएको प्रश्न नगरपालिकाको कृषि संयोजक रहनु भएका वडा नं. १ का वडाध्यक्ष सूर्य नारायण यादवलाई पनि तेस्र्यायौं । उहाँले भन्नुभयो , “जुलुम भयो , अरुको कुरा के गरौं – मैले छरेको गहुँ पनि उम्रिएन । सैकडौ किसानको घाँटी निमोठियो । पछिल्लो लटमा बाँडेको बिउ नै म्याद गुज्रेको नक्कली रहेछ । किसान ठूलो मर्कामा परे । ”
तपाईँ आफै कृषि संयोजक हुनुहुन्छ अनि यस्तो कसरी भयो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो यसको जिम्मेवारी र जवाफदेही मेयर साहवले लिनुपर्छ । किनकी बिउ उहाँकै निर्देशनमा कुशवाहा बिज भण्डार सुनसरीबाट खरिद गरिएको हो । आदित्य जातको बिउ किसानले मागेकै थिएनन् ।
सुनसरीबाट किन बिउ खरिद गरियो होला ? भन्ने प्रश्नमा वडाध्यक्ष यादवले गलल हाँस्दै भन्नुभयो “नाता , कुटुम्बले पनि काम गरेको होला । अब किसानको मर्का त नगरपालिकाले बुझ्नु पर्छ । अनर्थ भएको छ । ”
धनगढीमाई नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ओम यादवले भन्नुभयो , दर्जनौ किसान म समक्ष गुनासो गर्न आए । मैले स्वयं उनीहरुको खेत–खेत घुमेर हेरें । पछिल्लो लटमा बाँडिएको कुशवाहा बीज भण्डार सुनसरीको बिउ उम्रिएको छैन । सैकडौ किसानको गहुँ खेती चौपट भएको छ । मेयर साहब स्वयंले ल्याएको बिउ हो । किसानलाई उचित क्षतिपूर्ति दिनै पर्छ । म जोडदार रुपमा कुरा उठाउँछु ।
यस सम्बन्धमा आवश्यक जानकारी लिन हामीले धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम कुमार महतोसँग बारम्बार फोन सम्पर्क गर्ने प्रयास ग¥यौं तर उहाँले फोन उठाउनु भएन ।
अन्त्यमा मेयर शिव शंकर महतोलाई हामीले सोध्यौं , मेयर साहब किसानको गहुँ उम्रिएन । किसान त भुतुक्कै भएका छन् त ? मेयर महतोले भन्नुभयो “त्यस्तो भएको छैन । दुई चार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको होला ।”
हामीले प्रश्न थप्यौं , हामीले किसानको खेत–खेतमा गएर हे¥यौं । किसानहरु खेत देखाउँछन् र गहुँ उम्रिएन भन्छन् । दुई जना वडाध्यक्ष र कृषि शाखा प्रमुखले पनि गहुँ नउम्रिएको स्वीकार गरेका छन् त ? जवाफमा मेयर महतोले भन्नुभयो म काठमाडौंमा छु । १० गते बिउ बिक्रेता पनि आउँछु भनेको छ । म फर्केपछि हेर्छु के भएको हो भनेर ।
हामीले तेश्रो प्रश्न पनि तेस्र्यायौं – मेयर साहब तपाईँको एकल निर्णयबाट नाता कुटुम्बको बिक्रेताबाट म्याद गुज्रेको नक्कली बिउ खरिद गरिएको आरोप छ , किसानहरु क्षतिपूर्ति माग्दैछन् । के भन्नुहुन्छ ? उहाँले भन्नुभयो नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर खरिद गरिएको हो । क्षतिपूर्ति दिनै परे बिउको पैसा मिनहा गरिदिउँला ।