धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो आज उप्रान्त फौजदारी मुद्दाका फरार अभियुक्त

[sharethis-inline-buttons]

धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो आज उप्रान्त फौजदारी मुद्दाका फरार अभियुक्त भएका छन् । संरक्षित तथा निषेधित चुरे तथा वन क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का लगाएको र अवैध उत्खनन् गराएको आरोपमा डिभिजनल वन कार्यालय लहानले १८ जनामाथि जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ । प्रतिवादीहरु मध्ये एक जना प्रमुख प्रशासकीय अधिकृत महतो पनि छन् । डिभिजनल वन कार्यालय लहानले महतोलाई पक्राउ गर्न खोजे पनि उनी बिदा लिएर नगरपालिका बाहिर गई बसेका छन् ।
दायर गरिएको मुद्दामा बिगो बमोजिम जरिवाना र एक वर्ष कैद सजायको माग गरिएको छ । फौेजदारी कसुरमा अभियोग लागेको भए पनि एक वर्षभन्दा कम जेल सजाय हुने मुद्दामा अदालतमा आत्मसमर्पण गर्दा धरौटीमा रिहा हुन सक्ने कानूनमा प्रावधान छ । त्यसकारण प्रमुख प्रशासकीय अधिकृत महतोले पुर्पक्षका लागि थुनामा बस्नु पर्दैन । तर मुद्दाको छिनोफानो नहुञ्जेल उनी फौजदारी अभियोगका अभियुक्त मानिनेछन् ।
मुद्दा दायर गरिएका प्रतिवादीहरुमा मञ्जित यादव, फूल कुमार यादव, सन्दीप कुमार यादव, राम कुमार यादव, अरविन्द किशोर यादव , इन्द्रजित महतो , रमण किशोर यादव र पुरुपोत्तम यादव रहेका छन् । त्यसैगरी धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, प्रशासन शाखाका साहायक रञ्जित कुमार सिंह, बरुण कन्सट्रक्सनका सञ्चालक नीलम कुमारी यादव, स्काभेटरका धनी बद्री यादव, ट्रयाक्टर धनीहरु ऋजित पासवान , रघुनाथ कुमार महतो, बिमल अधिकारी, सरोज कुमार यादव, राकेश यादव र हरि नेपालीलाई पनि प्रतिवादी बनाइएको छ ।

डिभिजनल वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ , “ वन नियमावली २०७९ को नियम ३०(५) , वातावरण संरक्षण ऐन २०७६ को दफा ३ (ख) र ढुंगा , गिट्टी , बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ को दफा ४ (ख) र ६ (३) बमोजिमको प्रकृया पूरा नगरी अवैध रुपमा उत्खनन् गरेको कसुरमा निज प्रतिवादीहरु उपर मुद्दा दायर गरिएको हो । ”

वन ऐन २०७६ को दफा ४९ (झ) सोही ऐनको दफा ५० (६) ( ङ ) बमोजिम १ लाख ५७ हजार ८ सय १५ रुपैयाँ बिगो र एक वर्ष कैद सजाय तथा बोझबाहक साधनहरु जफत हुने माग दावी सहित मुद्दा दायर भएको विज्ञप्तीमा उल्लेख छ । फरार प्रतिवादीको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम अदालतबाटै पक्राउ पुर्जी जारी हुने गरी मुद्दाको मिसिलमा माग दावी सामेल रहेको बताइएको छ ।

धनगढीमाई नगरपालिका वडा नं. १२ र १३ स्थित सर्रे खोलामा अवैध रुपमा गिट्टी , बालुवा र ढुंगा उत्खनन् गरेको भन्दै गत मंसिर १४ गते डिभिजनल वन कार्यालय लहानले १ थान स्काभेटर र ७ थान ट्रयाक्टर सहित ८ जनालाई पक्राउ गरेको थियो ।

 


प्रकाशित : २०८० पुष ४ बुधबार