विद्यालयको जग्गामा गिर खेलाई “पोखरीको माटो अनीयमित रुपमा बिक्री ” समाचार लेखे जे पनि हुन सक्छ भन्दै पत्रकारलाई धम्की

[sharethis-inline-buttons]

श्री जनता माध्यमिक विद्यालय ( प्राविधक धार) गोलबजारको जग्गामा पोखरी खनेर विद्यालयको चौरमा माटो पुर्ने कार्यमा अनियमितता भएको देखिएको छ । स्वार्थ सिद्धी गर्न खोज्ने समूह र हेडमास्टरको मिलिगतमा सार्वजनिक सम्पत्तिको अपचलन र दोहन गरिएको छ । कानूनी तथा प्राविधिक रीत नपु¥याई हचुवाको भरमा पोखरी खन्ने र माटो बिक्री गर्ने कार्यले विद्यालयलाई हानी नोक्सानी भएको छ ।

दावानलले पोखरी खनेको स्थान , विद्यालयको चौर , पोखरीको माटो बिक्री गरेको स्थानहरु भ्रमण गरी तस्बिर खिचेर प्रमाण जुटाएको छ । माटो खरिद गर्ने व्यक्तिहरु , देखी जान्ने र सुनिजान्ने दर्जनौ स्थानीय बुद्धिजीवीहरु सँग भेटेर , सम्बन्धित सरोकारवाला र पोखरी प्रकरणका हर्ताकर्ताहरुसँग सोधपुछ गरी यो समाचार तयार पारिएको छ ।

समाचार अनुसार विद्यालयको स्वामित्वमा रहेको वडा नं. ६ स्थित १२ कट्ठा जग्गामा पोखरी खनिएको छ । पोखरीबाट झिकिएको माटो करिव १५० देखि २ सय ट्रिपर विद्यालयको चौरमा खसालिएको छ । करिव ४ सय ट्रिपर माटो विभिन्न स्थानका विभिन्न व्यक्तिलाई बिक्री गरिएको छ । विद्यालयको चौरमा वर्षाको पानी जम्ने भएको कारण चौरमा माटो पुर्ने प्रयोजनका लागि विद्यालयकै अर्को जग्गामा पोखरी खनाइयो । तर विद्यालयको चौर नपुरी माटो अन्यत्र बिक्री गरी सार्वजनिक सम्पत्तिको अपचलन गरिएको छ ।

हेडमास्टर भरत साहका अनुसार , “वडा नं. ४ र ६ का वडाध्यक्ष क्रमश सकलदेव यादव र संजीत लामा तथा गोलबजार नगरपालिकाको समेत सहमति लिएर शिक्षक र कर्मचारी स्तरीय बैठकले निर्णय गरी पोखरी खनिएको हो । साहले भन्नुभयो, “ ५० वर्षदेखि बाँझो रहेको जग्गा सधियारहरुले पनि अतिक्रमण गरिरहेका थिए । आम्दानी पनि थिएन । त्यसकारण पोखरी खनिएको हो । स्थानीय देव नारायण साहलाई तीन वर्षको भोगाधिकार दिएर पोखरी खन्न दिइएको हो । ३ वर्षको भोगाधिकार वापत पोखरीको माटो विद्यालयको चौरमा पुर्ने सहमति भएको हो । ”

दावानलबाट हेडमास्टर साहलाई प्रश्न थपियो , “पोखरीको माटो त बिक्री गरियो जवकी विद्यालयको चौर पुर्ने काम आधा पनि भएको छैन । यस्तो किन र कसरी भयो ? ”

हेडमास्टर साहको भनाई थियो , “सुरुमा २ सय ट्रिपर माटो पुर्ने सहमति भएको हो तर पछि पोखरीमा माटो पनि बाँकी रह्यो र चौरमा पनि माटो नपुगेपछि हामीले पुन अर्को बैठकबाट निर्णय ग¥यौं । २ वर्ष थपेर ५ वर्षको भोगाधिकार दिने तर समुच्चा चौरमा भएजति सबै माटो ओसारेर पुर्न लगाउने । सोही अनुसार ठेकेदारलाई गर्न गराउन भनियो । तर ठेकेदारले माटो थपेनन् । विद्यालयको चौरमा सानो ठूलो ट्रिपर मिलाएर १ सय ५५ ट्रिप ( ठूलो एक ट्रिपर बरावर सानो दुई ट्रिपर मान्दा ) जम्मा २ सय ट्रिप माटो खसेको छ । अरु माटो बिक्री गरेका रहेछन् । माटो बिक्री गरेको हुनाले विद्यालयबाट ३ वर्षको भोगाधिकार दिएको सम्झौता रद्द गरिदिन्छौं । हाम्रो अनुमति नै नलिई माटो बेचिएको छ ।”

हेडमास्टर साहले भने, हामीले शिक्षा ऐन, विद्यालयको सम्पत्ति संरक्षण ऐनको गहन अध्ययन गरेर मात्र यो काम थालेका हौं । सबै काम कानून अनुसार भएको छ । प्रदेश सरकारसँग ३०–३५ लाख बजेट माग गरेर प्रोपोजल हालेका छौं । पोखरीमा घाट र उद्यान पनि बनाउँछौं । हाम्रो उद्देश्य पोजेटिभ छ ।

यस प्रसंगमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेललाई पोखरी खन्ने अनुमति कसरी दिनुभयो भनेर सोध्दा उहाँले भन्नुभयो हामीसँग अनुमति मागिएको पनि छैन , दिएका पनि छैनौं । विद्यालयले जानोस् , हेडमास्टरले जानुन् ।

पोखरी खन्ने ठेकेदार भनिएका र विद्यालयसँग सम्झौतामा हसताक्षर गर्ने देवनारायण साहसँग फोन सम्पर्क गरियो । उहाँले भन्नुभयो ड्राइभरहरुले २५ –५० ट्रिप चोरचार पारेर बेचेछन् । पोखरी समितिले खनेको हो । म त नामको लागि प्रकृया पूरा गर्न ठेकेदार बनिदिएको हुँ । उनले २ सय ट्रिप माटो विद्यालयको चौरमा खसालिदिएको बताउनुभयो । छद्म समितिमा रहेनुभएका सुनील पूर्वेले माटो बिक्री भएको कुरा इन्कार गर्नुभयो तर समितिमै रहेका अनिल पूर्वेले केही माटो बिक्री भएको स्वीकार गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामबहादुर साहले ५० ट्रिप जति माटो आफूले खरिद गरेको स्वीकार गर्नुभयो । त्यसैगरी अधिवक्ता प्रशान्त साहले पनि माटो खरिद गरेको स्वीकार गर्नुभयो ।

मैले वडा नं. ६ का वडाध्यक्ष संजित लामालाई फोन गरेर यस विषयमा जान्न चाहे । पोखरी कुन कुन शर्तमा कसरी खनियो भनेर सोधे ।

वडाध्यक्ष लामाले भन्नुभयो यसमा धेरै कुरा छ । हामीले समिति बनाएका छौं । चन्दा उठाएका छौं । कति पैसा तिर्नै बाँकी छ । विद्यालयलाई सुरुमा दुई सय ट्रिप माटो चौरमा खसालिदियौं । पछि फेरि १ सय २६ ट्रिप थपिदियौं ।

मैले प्रश्न थपे ः अनि समिति बनाएको कुरा गर्नुभएन त हेडमास्टरले , ठेकेदार देवनारयाण साहसँग समझौता भएको भन्नुभयो । अनि पोखरीको माटो विद्यालयलाई पर्याप्त नदिई बिक्री गरियो रे ? के हो यथार्थ ? विद्यालयलाई जम्मा ( सानो र ठूलो ट्रिपर मिलाएर ) १ सय ५५ ट्रिपर माटो मात्र दिइयो भन्नुहुन्छ त हेडमास्टर ।

वडाध्यक्ष लामाले भन्नुभयो , देवनारायणलाई देखावटी ठेकेदार बनाएको हो । समिति बनाएर काम गरिएको हो । माटो बिक्री गरिएको छैन । यसो एक दुई ट्रिप बाटोमा हालेको मात्र हो ।

माटो बिक्री भएको प्रमाण जुटाएपछि मैले वडाध्यक्ष लामालाई दोश्रो पटक फोन गरेर थप स्पष्ट हन चाहे । मैले भने ”हेडमास्टर भरत साह भन्नुहुन्छ पोखरी खने वापत ३ वर्षको भोगाधिकार दिएको हो अनि माटो बिक्रीबाट उठाएको रकम नी कता गयो ?”

प्रश्न पूरा नसुनेरै वडाध्यक्ष लामा फोनमै कडकिए । “ यता सुन्नुस् तपाईलाई जे जे लेख्न मन लाग्छ लेख्नुस् , मलाई धेर फोन नगर्नुस् । राम्रो काम चै लेख्नु नै हुन्न । खाली नराम्रो नराम्रो कुरा मात्रै सोधी राख्नुहुन्छ जहिले पनि ।”

मैले राम्रै लेख्न खोजेको हुँ , भन्नुस् न त राम्रो के के छ पोखरी खनेकोमा ?

लामाले भन्नुभयो – “पोखरी खनेको नराम्रो भयो त दाई ? समाजलाई सोध्नुस् त पोखरी खनेको राम्रो भयो कि भएन ? हामीले पैसा तिरेका छौं । जेसिभिले पोखरी खनाएका छौं ।”

मैले फेरि प्रश्न थपे , राम्रो भयो तर पोखरी कसरी , कुन शर्तमा खनियो ? त्यसको खोजी त गर्नु प¥यो नी ! हेडमास्टर भन्दै हुनुहुन्छ ३ वर्षे भोगाधिकार दिइसकेपछि माटो खनेको र ओसारेको खर्च ठेकेदारले तिर्ने हो । माटो बिक्री गरेकोले सम्झौता तोड्छु । माटो किन बिक्री गरियो ? मेरो प्रश्न त्यहाँनिर छ । तपाईले अघि माटो बिक्री भएकै छैन भनेर झुठ बोल्नु भयो जबकी आधा दर्जन स्थानमा माटो बिक्री गरिएको देखियो । बिक्री गर्ने र खरिद गर्नेहरु अनिल पूर्वे, रामबहादुर साह , छद्म ठेकेदार बनेका देवनारायण साहले पनि स्वकीकार गरिसक्नुभयो माटो खरिद र बिक्री भएको भनेर ? लौ भन्नुस् कसको कुरा सही कसको गलत हो ?

वडाध्यक्ष लामाको पारो तात्तियो । उहाँले भन्नुभयो –“तपाई धेरै रकेर्ड गर्न जान्नु हुँदो रहेछ । रेकर्ड गर्न मलाई पनि आउँछ । तपाई धेरै फोनमा मसँग कुरा नगर्नुस् । ल जे जे गर्नु छ गर्नुस् , जे जे लेख्नु छ लेख्नुस् ।”

यस प्रसंगमा देखीजान्ने जसपाका नेता हीरा यादव भन्नुहुन्छ –“ मैले विद्यालयमा गएर माटोको थुप्रो गिन्ती गरें । जम्मा १ सय २६ थुप्रो भेट्टाए । त्यसपछि ट्रिप अनुसार ट्रिपरलाई टोकन दिने पालेको हातमा रहेको कुपन गिन्ती गरें र तस्बिर पनि खिचे । जम्मा १२६ वटा टोकन ( कुपन ) बनाइएको रहेछ । त्यसमध्ये पनि १० वटा कुपन पालेकै हातमा बाँकी थियो । भोलि गिन्तीमा बढाई चढाई गर्छन् भनेर मैले भएजति पानाको तस्किर खिचे । अहिले ३ सय २६ ट्रिपको कुपन छ भन्छन् । सरासर झुठ हो । पछि बनाएर थपेका हुन् । मसँग तस्बिर नै छ । ”

यस विषयमा हामीले युवा नेता संजीव यादवलाई सोध्यौं । पोखरी खनिएकोमा के भन्नुहुन्छ ? उहाँले भन्नुभयो ,“ विद्यालय व्यवस्थापन समिति नभएको बेलामा शिक्षकहरुको बैठकबाट निर्णय लिइनु नै गैर कानूनी हो । अभिभावकहरुले निर्णय प्रकृयामा सहभागी हुन पाएनन् । विद्यालयमा अभिभावकहरुको प्रतिनिधि नै नभएको बेला यस्तो दुरगामी महत्वको निर्णय लिइनु हुँदैन्थ्यो । ”

नेता यादवले थप्नुभयो , “पोखरी खन्न बाञ्छनीय नै भए वडाको सिफारिसमा नगर कार्यपालिकाको बैठकबाट अनुमोदन गराउनु पथ्र्यो । नगरपालिकाको लिखित सहमति नै नलिई दुई जना वडाध्यक्षहरुको सहमति मात्र लिएर विद्यालयको सम्पत्ति ५ वर्षका लागि भोगाधिकार हस्तान्तरण गर्नु र जमिनको स्वरुप विगार्नु किमार्थ नियमसंगत छैन । हेडमास्टरको निजी अभिष्टले काम गरेको छ ।”

यस प्रसंगमा हामीले नेपाली कांग्रेसका युवा नेता सुरेश साहलाई सोध्यौं , “विद्यालयको पोखरी प्रकरणमा तपाईं के भन्नुहुन्छ ? ” उहाँले भन्नुभयो “सर्वप्रथमतः विद्यालयले आफ्नो चौरमा माटो पुर्ने प्रयोजनका लागि विद्यालयकै स्वामित्वको १२ कट्ठा जग्गामा पोखरी खन्ने भएपछि कमसेकम उक्त पोखरीको माटो विद्यालयलाई आवश्यक भए जति विद्यालयले लिने र बाँकी रहेको माटो बिक्री गरेर विद्यालयको आम्दानीमा दाखिला गर्ने गरी सम्झौता गर्नुपथ्र्यो । विद्यालयको १२ कट्ठा जग्गामा ९ फिट गहिरो पनि खाडल खनेर पोखरी बनाइएको छ , अर्कोतिर विद्यालयको चौरको एक चौथाई भागमा पनि माटो पुर्ने काम भएन । तीन चौथाई चौर खाली नै रह्रयो जवकी माटो अन्यत्र बिक्री गरियो । यसमा सिधै हेडमास्टर र वडाध्यक्षहरुको बदनीयत भएको देखिन्छ । ”

अखिलका विद्यार्थी नेता सुरेश यादव भन्नुहुन्छ , “पोखरी खन्नु अघि वातावरणीय अध्ययन गरिनु पथ्र्यो । व्यवसायिक लाभ हानीको अध्ययन गरिनु पथ्र्यो । पोखरी खन्नुभन्दा जग्गा अन्य प्रयोजनका लागि भाडामा दिँदा फाइदा हुने हो भने पोखरी खन्नु उचित थिएन । राजमार्ग (कालोपत्रे सडक) ले छोएको जग्गा अन्य व्यापारिक प्रयोजनका लागि पनि भाडामा लाग्न सक्थ्यो । हचुवाको भरमा निर्णय गरिएको छ । भविष्यप्रति कुनै चेत देखाइएको छैन ।”

वडा नं. २ का समाजसेवी तथा अगुवा युवा दिनेस यादव भन्नुहुन्छ , “ पोखरी खन्नु अगाडि इन्जिनीयरबाट नाप जाँच गराउनु पथ्र्यो । चौरमा कति माटो लाग्छ र पोखरीबाट कति माटो निसिक्न्छ , त्यसको हिसाव किताव गरेर सम्झौता गरिनु पथ्र्यो । त्यसो किन गरिएन ? यो मूल प्रश्न छ । हचुवाको भरमा २ सय ट्रिपर माटो झार्ने शर्तमा ३ वर्षको भोगाधिकार दिनु सार्वजनिक सम्पत्तिको सरासर अपचलन हो । ”

नेकपा माओवादीका युवा नेता शिव नारायण यादव भन्नुहुन्छ , “ विद्यालयको आफ्नो जग्गा खाडल बनेको छ । ५ वर्षे भोगाधिकार पनि अर्कैले पाएको छ । तर विद्यालयले चौर भर्ने माटो समेत पाएन । भोलिका दिनमा कथंकदाचित सोही जग्गामा छात्रछात्राबास बनाउन पर्ने भयो भने ३० लाखभन्दा बढी रकम माटो पुर्न खर्च हुन्छ । बाठो त बाठो चामल दिएर पिठो साटो जस्तै गरेका छन् हेडमास्टरले । ”

स्थानीय युवा राम ध्यानी यादव भन्नुहुन्छ , “हेडमास्टरले पोखरी सौन्दर्यकरण परियोजना अन्तर्गत प्रदेश सरकारबाट ३५ लाख बजेट ल्याउने र बाँकी रहेको दुई वर्षे कार्यकालमा सो बजेटबाट तर मार्ने सपना झल्झल्ती देखेका छन् । त्यसकारण उनलाई पोखरी नखनी भएको थिएन । पोखरी खन्ने हुटहुटीको पछाडि प्रदेश सरकारको बजेटमा ढलिमली गर्ने महत्वकांक्षा लुकेको छ ।”

जसपाका नेता हीरा यादव थप्नु हुन्छ , “खनिएको पोखरी देखि दक्षिण सेलर मिल छेउछाउ २ स्थानमा , पोखरीदेखि उत्तर रामबहादुर साहको घडेरीमा, अधिवक्ता प्रशान्त साहको नव निर्मित घरमा र नयाँ दुर्गा मन्दिरदेखि दक्षिणमा माटो पुरिएको देखिन्छ । अन्य कतिपय स्थानमा माटो बिक्री भएको छ । लगभग ४ सय ट्रिपर माटो बिक्री भएको छ । प्रति ट्रिपर ३ हजारका दरले १२ लाखको माटो बिक्री भएको छ । १२ लाखको माटो बिक्री गरिसकेपछि ५ वर्षको भोगाधिकार किन ? यसमा ठूलो चलखेल भएको छ । स्वतन्त्र ढंगबाट निष्पक्ष छानविन गरिनु पर्छ । समुदायलाई छठ पर्व मान्न पोखरीको आवश्यकता थियो भने नगरपालिकाले अर्को जग्गा व्यवस्था गरेर पोखरी खन्नु पथ्र्यो । विद्यालयको जग्गा मास्नु सरासर गलत हो । विद्यालयको जग्गाको माटो बाबाजीके बेल हाथे हाथे गेल भएको छ ।”

३ वर्षको लागि भोगाधिकार र त्यसबाट आउने आयस्ता खाने भएपछि पोखरी खन्न र माटो ओसार्न लाग्ने खर्च सबै पोखरी खनाउने पक्षले बेहोर्नु पर्ने हो । पोखरी खनेको र माटो ओसारेको खर्च माटो बेचेर निकाल्ने हो भने किन र कसरी ३ वा ५ वर्षको भोगाधिकार दिनु ? विद्यालयलाई थोरै माटो दिने सम्झौता गरेर हेडमास्टर र यस प्रकृयामा संलग्न व्यक्तिहरुले सार्वजनिक सम्पत्तिमा गिर खेलेका छन् । अपराध गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता सुरेश साह थप्नुहुन्छ ,“ पोखरीमा वडाध्यक्ष संजीत लामाको ग्राण्ड डिजाइन छ । उनले चुनाव ताका छठ मान्न पोखरी खनाउने वाचा गरेका थिए । चुनावमा गरेको वाचा पूरा गर्नु राम्रो हो तर विद्यालयको सम्पत्ति मासेर गरिएकोमा हाम्रो आपत्ति छ । एकातिर झुठमुठको ठेकेदार खडा गर्ने अर्कोतिर समिति पनि बनाउने । नियत खराव भन्ने यही देखिन्छ । अनि ५ वर्षको भोगाधिकार लिने भएपछि माटो किन बिक्री गरेको ? विद्यालयको सम्पत्ति मासेर दोहोरो लाभ लिने ? पोखरी खनेको खर्च भन्दा बढी माटो बिक्री गरेर उठाएपछि ५ वर्षको भोगाधिकार किन ? नगरपालिकाको बजेटबाट पोखरी किनारमा बोरिङ्ग जडान गर्ने । माटो बिक्री गरेर पोखरी खनिएको खर्चभन्दा बढी रकम कुम्ल्याउने । ५ वर्षको भोगाधिकार पनि लिने । वाह रे विजनेस प्लानिङ्ग , वडाध्यक्ष लामाको मास्टर माइन्ड । यो कथित सम्झौता हामी मान्दैनौ । यसको छानविन हुनुपर्छ । ”

यस विषयमा वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादवसँग प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो पोखरीबाट माटो बिक्री भएको छ । अब मेरो टेबुलमा कागज पत्र आएपछि यसबारेमा कुराकानी हुन्छ । यता वडा नं. ६ का व्याडमिन्टन खेलाडी बिमल गौतम भन्नुहुन्छ पोखरी खन्न हामीले चन्दा दिएका छौं । माटो बिक्री गरिएको छैन । ट्रिपर भाडा उठाउन केही माटो मात्र बिक्री भएको हो । अनियमितता भएकै छैन ।

यता पोखरी खन्ने प्रकृयासँग जोडिएका समाचारहरु संकलन गर्ने क्रममै यो पंक्तिकारले धम्कीको सामना गर्नु परेको छ । गोलबजार नगरपालिकाका वडाध्यक्ष संजीत लामाले मेरो बहिनी माननीय सांसद सम्झना थपलियालाई फोन गरेर पत्रकार दाजुलाई सम्झाउ । समाचार लेख्यो भने जे पनि हुन सक्छ भनेर धम्की दिएका छन् । माननीय थपलिया बहिनीले बताए अनुसार संजीत लामाले उनलाई २ पटक फोन गरेर धम्की दिएका थिए । लामाको भनाइ उद्धृत् गर्दै माननीय बहिनीले भनिन् “म लीला र श्याम जस्तो होइन , सहेर बस्ने । मेरो ब्याकग्राउन्ड तपाईलाई थाहै छ । म कुन पृष्टभूमिबाट आएको थाहै छ । ६ नं. का मेरा केटाहरु कति बदमास छन् –थाहै छ । भोलि मलाई यस्तो भयो उस्तो भयो नभन्नु होला । न्युज लेख्यो भने जे पनि हुन सक्छ । राम्रँेसँग सम्झाई दिनु ।


प्रकाशित : २०८० पुष ४ बुधबार