गोलबजार नगरपालिका – ब्रह्मलुट र भाइ भतिजावादको अखाडा ः “१८ सयको सामान २५ हजारमा जडान ”

[sharethis-inline-buttons]

हिन्दीमा एउटा भनाइ छ “अजिंगर करे न चाकरी पंक्षी करे न काम , सात खण्ड नव दीप जले सबका दाता राम ” । यो भनाइ गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठका भाइ , भतिजा, भाञ्जा वा अन्य नातेदारहरुमा हुबहु लागू भएको छ । नातावाद , कृपावाद र भाइ–भतिजावादको यस्तो निकृष्ट , तुच्छ र निर्लज्ज उदाहरण अन्यत्र सायदै भेटिएला । मात्र मेयर श्रेष्ठको नातामा पर्नु पर्छ , उसले कुनै मेहनत वा उद्यम गर्नै पर्दैन । सिधै धनको वर्षा हुन्छ । सोलीले छोप्नु मात्र भ्याउनु पर्छ ।

माथिका हरफहरु पढदा पूर्वाग्रही भएर अतिरञ्चित समाचार लेखेको आरोप पनि लाग्न सक्छ । तर दावानलले गरेको खोजी र सोध अनुसन्धानबाट यस्तै एउटा लुटको परियोजना सप्रमाण फेला परेको छ । लुट मच्चाइएको परियोजना हो सडक बत्ती जडान कार्यक्रम । आर्थिक वर्ष २०७९÷०८० मा गोलबजार नगर सभाले वडा नंं ४, ६ र ७ मा सडक बत्ती जडान गर्न ३० लाख बजेट विनियोजन गरेको थियो । नियमानुसार उक्त परियोजना सञ्चालन गर्न खुला प्रतिस्पर्धा गर्ने गराउने गरी बोलपत्र आह्वान गर्नु पथ्र्यो । खरिद ऐन अनुसार गत आर्थिक वर्षसम्म १० लाख भन्दामाथिको परियोजना सञ्चालन गर्दा अनिवार्य रुपमा खुला बोलपत्र आह्वान गर्नै पर्ने कानून थियो । तर गुपचुप रुपमा आफ्नै भाइ भतिजालाई परियोजना पार्न नीयम विपरीत परियोजनालाई तीन टुक्ता पारियो । १० – १० लाखको तीन वटा परियोजना बनाएर कोटेशनमार्फत ( दर भाउ पत्र मागेर ) तीन वटै वडाको सडक बत्ती जडान परियोजना आफ्नै भतिजा राजकुमारलाई प्रदान गरियो ।

गोलबजार नगरपालिकाका एक अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो , मेयर साहवको नन्दी भृङ्गीले नगरपालिकालाई चारतिरबाट घेरेका हुन्छन् । प्रणाली अनुसार काम गर्नै सकिदैन । भाइ भतिजाले मेयर साहवलाई दबाब दिन्छन् । मेयर साहवले हामीलाई ठाडो आदेश दिनुहुन्छ । चुइक्क बोल्न पाइँदैन । विमती राख्नै मिल्दैन । कानून विपरीत बोलपत्र आह्वान गर्नुपर्ने ठाउँमा परियोजनालाई तीन टुक्रामा विभाजित गरियो र कोटेशनमार्फत आफ्नै भतिजालाई काम सुम्पिन लगाउनु भयो । भतिजा राजकुमारले तीनवटा फर्म ल्याएर सुटुक्क कोटेशन भर्नुभयो । एक महिनामा काम सम्पन्न गरेर रकम कलम कुम्ल्याउनु भयो ।

१८ सयको सामान २५ हजारमा जडान ः

विद्यार्थीहरुले परीक्षामा “ब्रह्मलुट” भन्ने शब्दलाई वाक्यमा प्रयोग गर्दा गोलबजार नगरपालिकामा सडक बत्ती जडान गर्दा भएको अनीयमितताबारे उल्लेख गर्दा हुन्छ । वडा नं. ४, ६ र ७ मा ३९ –३९ थान गरी ११७ थान सडक बत्ती जडान गरिएको छ । वडा नं. ४ मा पुण्य नेत्र सप्लायर्स , वडा नं. ६ मा सुनकोशी सप्लायर्स र वडा नं. ७ मा कानून इन्टरप्राइजेजसँग सम्झौता गरेर भुक्तानी दिइएको छ । ३९ वटा बत्ती जडान गर्न वडा नं. ४ मा ९ लाख ७१ ह्जार ७ सय ४३ रकम प्रदान गरिएको छ । वडा नं. ६ मा ९ लाख बहत्तर हजार ७ सय ५७ रुपैयाँ भुक्तानी दिइएको छ । त्यसैगरी वडा नं. ७ मा ९ लाख ५७ हजार १ सय १२ रुपैयाँ भुक्तानी दिएको छ । तीनवटै वडामा जडान गरिएको ११७ थान सडक बत्ती २४ वाट को हो । यो बत्तीको मूल्य स्थानीय बजारमा होलसेलमा मात्र १८ सय पर्दछ । गोलबजारस्थित दीपक इन्टरप्राइजेजमा उक्त सडक बत्ती खुद्रा मूल्यमा प्रति गोटा २ हजारमा उपलब्ध छ । १८ सयको बत्ती जडान गर्न प्रतिगोटा २५ हजार भुक्तानी दिइएको छ । यो भन्दा ठूलो बेइमानी र अनियमितता अरु के हुन सक्छ ?

आर्थिक वर्ष २०८०÷०८१ म झन् ठूलो लुट मच्चाउने प्रपञ्च

सडक बत्ती जडानमा मह काढ्ने र हात चाट्ने अवसर देखेपछि आर्थिक वर्ष २०८०÷०८१ मा हरेक वडाहरुमा सडक बत्ती जडान कार्यक्रम राख्न लगाइएको छ । वडास्तरीय बजेटमा पनि सडक बत्ती जडान कार्यक्रम राखिएको छ । नगरस्तरीय बजेटमा पनि सडक बत्ती जडान गर्न अलग्गै रकम विनियोजन गरिएको छ । वडा नं. २ र १३ का वडाध्यक्षहरुले मेयर श्याम श्रेष्ठसँग प्रस्ताव राखे , हामी आ–आफ्नो वडाको बजेट र कार्यक्रम अनुसार आफै सडक बत्ती जडान गर्छौ । वडाध्यक्ष सुकदेव सिंहले भन्नुभयो हामी आफैले सडक बत्ती जडान गर्दा प्रतिगोटा मिस्त्री खर्च समेत मात्र ६ हजारमा गर्न सक्छौ । तर नगरपालिकाले एउटै बत्तीमा २५ हजार खर्चिएको छ । त्यति रकममा त ४ थान बत्ती जडान हुन्छ ।

वडाध्यक्ष सिंह भन्नुहुन्छ “मेयर श्रेष्ठले मान्नुभएन । उहाँले हरेक वडामा एकीकृत रुपमा नगरपालिकाको जिन्सी शाखाबाटै सडक बत्ती एकमुष्ठ खरिद गरिने छ भनेर पत्राचार गर्न लगाउनु भएको छ । ” त्यसैगरी वडा नं. १३ का वडाध्यक्ष नन्द कुमार सिंहले भन्नुभयो “नगरपालिकाको लुट मच्चाउने पत्राचारलाई हामीले महत्व दिएनौ. । हामीले सडक बत्ती जडान गर्ने कार्य आफैंले कार्यन्वयन थालिसकेका छौं ।”

यस प्रसंगमा दावानलबाट मेयर श्रेष्ठको प्रतिक्रिया जान्न चाह्यौं । हामीले सोध्यौं किन वडाहरुलाई वडास्तरीय कार्यक्रम अन्तर्गत राखिएको सडक बत्ती जडान कार्यक्रम सञ्चालन गर्न रोक लगाउनु भएको हो ? उहाँले भन्नुभयो “वडाहरुबाट खरिद गर्दा लेखा परीक्षणमा बेरुजु आउँछ । त्यसकारण नगरपालिकाबाटै एकमुष्ट खरिद गर्ने भनिएको हो ।” हामीले प्रश्न थप्यौं , “मेयर साहव तपाईका भाइ भतिजाले १८ सयको सामान २५ हजारमा खरिद गर्दा बेरुजु नहुने तर वडाहरुले सोही सामान ६ हजारमा जडान गर्दा बेरुजु हुन्छ र ? ” मेयर श्रेष्ठले लाज र धक नमानी भन्नुभयो “हो ! वडाहरुले खरिद गर्दा बेरुजु आउँछ । त्यसको जिम्मा कसले लिने ?”

१८ सय मूल्य पर्ने सडक बत्ती २५ हजारमा जडान । सुन्दा अचम्म र अपत्यारीलो लाग्न सक्छ । तर यथार्थ सत्य यही हो । एउटा लज्जा भन्ने चिज त्यागे पछि सबैथोक जायज हुन्छ भन्ने कुरा गोलबजार नगरपालिकामा प्रमाणित भएको छ । भाइ भतिजा मोटाएर अजिंगर जनतालाई सुकेनास

 


प्रकाशित : २०८० पुष १ आईतवार