गोलबजार मंसिर २९ ः सिरहा सुन चाँदी व्यवसायी संघ गोलबजारको चौथो अधिवेशन तथा एघारौं साधारण सभा उद्योग वाणिज्य संघ गोलबजारको सभाकक्षमा आज सम्पन्न भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा सिरहा सुन चाँदी व्यवसयी संघका संस्थापक अध्यक्ष भरत अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा सुन चाँदी व्यवसायी सन्तोष साहलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा चयन गरेको छ । ९ सदस्यीय कार्यसमितमा उपाध्यक्षमा देवकृष्ण साह , सचिवमा सपना कुमारी. गोयन्का , कोषाध्यक्षमा आनन्द यादव, सह सचिवमा शैलेन्द्र भूषण ठाकुर, साह कोषाध्यक्षमा गोपाल गोपाल साह , सदस्यमा बिजय साह, अरुण शंकर साह , र लक्ष्मी बिक चयन भएका छन् । थप दुई जना सदस्य नव निर्वाचित कार्य समितिको पहिलो बैठकबाट मनोनीत गरिने वैधानिक प्रावधान रहेको छ ।
नव निर्वाचित कार्य समितिलाई निर्वाचन प्रमुख प्रशान्त साहले प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष विकास शारडाले पद हस्तान्तरण गर्नुभएको थियो । पदभार ग्रहरण गर्दै नव निर्वाचित अध्यक्षले संघलाई नयाँ तरिकाले सकृय गराउने वचनवद्धता प्रकट गर्नुभयो ।
सिरहा सुन चाँदी व्यवसायी संघमा लगभग १९० जना साधारण सदस्य आवद्ध रहेको र उनीहरुबाट छानिएका २६ जना प्रतिनिधि मण्डलबाट जिल्ला अधिवेशन सम्पन्न गराइएको नव निर्वाचित अध्यक्ष साहले जानकारी दिनुभयो । शान्तिपूर्ण र सौहार्दताका साथ अधिवेशन सम्पन्न भएकोमा उहाँले सहभागी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । नव निर्वाचित कार्य समितिको कार्यकाल आगामी तीन वर्षसम्मको हुने छ ।
चौथो अधिवेशनबाट सिरहा सुन चाँदी व्यवसायी संघले एक अक्षय कोष स्थापना गर्ने र सो कोषबाट विपद्मा परेका सुन चाँदी व्यवसायीहरुलाई उद्धार तथा राहत दिइने निर्णय गरेको छ ।
नव निर्वाचित पदाधिकारीहरुलाई सिरहा सुन चाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष तथा नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष भरत अग्रवाल र निवर्तमान अध्यक्ष विकास शारडाले बधाई तथा शुभकामना प्रदान गर्नुभयो । सो अवसरमा अधिवेशमा निर्वाचक भूमिकामा रहनु भएका प्रशान्त साह र सुरेश साहलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।