कमअसल निर्माण कार्य भएको प्राविधिक प्रतिवेदन आएपछि गोलबजार नगर कार्यपालिकाको भवन निर्माण कार्य २ वर्षदेखि बन्द थियो । हालै उक्त भवनको निर्माण कार्य सञ्चालनमा आएको देखेर नगरबासीहरुमा थोरै आशाको सञ्चार भएको थियो तर भवन निर्माण कार्यमा २ नं. र मिठा पाक इटा प्रयोग भएको देखेर स्थानीय बासिन्दाहरु मर्माहत भएका छन् ।
निर्माण कार्य पुन सञ्चालनमा आएको नगर कार्यपालिकाको कार्यालय भवनमा जोडाई गर्न ( गारो लगाउन ) मेयर श्याम श्रेष्ठ कै भतिजाको स्वामित्वमा रहेको भट्ठाबाट इटा खरिद गरिएको छ । सो भट्ठाबाट भवन निर्माण स्थलमा झारिएको इटाको थुप्रो हेर्दा सुशासनका आकांक्षी जुनसुकै स्वाभिमानी नागरिकको मन दुख्छ । इटाको थुप्रोमा ९० प्रतिशत इटा २ नं. र मिठा पाक रहेको छ । एउटा इटाले अर्को इटामा बिस्तारै ठोक्दा पनि इटा माटोको डल्ला झैं फुट्छ । यस्तै कमअसल र गुणस्तरहीन इटाले बुधबार दिनभरी जोडाई गरिएको छ । कमअसल र गुणस्तरहीन इटा जोडाई गरेको देखेपछि स्थानीय बासिन्दाहरुले निर्माण कार्य रोकाएका दिएका छन् ।
यस प्रसंगमा गोलबजार नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख रमेश यादवलाई फोन गरेर प्रतिक्रिया लिन खोज्दा उहाँले भन्नुभयो यसबारेमा मलाई केही थाहा छैन र थाहा हुँदैन । जे सोध्नु छ प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुस् । भौतिक निर्माण शाखाका प्रमुख भएर यसरी गैर जिम्मेवार उत्तर दिन मिल्छ भन्ने प्रश्नमा उहाँले दोहो¥याएर भन्नुभयो मलाई थाहा छैन ।
दावानलबाट प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेललाई पनि फोन गरेर यथार्थ जान्न खोजियो तर उहाँको फोन उठेन । तत्पश्चात मेयर श्रेष्ठसँग मैले प्रश्न गरे , आफ्नै भतिजाको इटा भट्ठाबाट इटा खरिद गरेर नगर कार्यपालिकाको भवन निर्माणमा २ नं. र मिठापाक इटा प्रयोग गर्नु लुटतन्त्र होइन र ? उत्तरमा उहाँले भन्नुभयो इटा हामीले बिक्री गरेको होइन । इटा ब्रोक्ररमार्फत खरिद बिक्री हुन्छ । त्यसमा हाम्रो कुनै दोष छैन । तपाईले जुन भट्ठाबालालाई सोधे पनि हुन्छ इटा ब्रोकरमार्फत नै बिक्छ । कमअसल इटा प्रयोग गरेको हो भने ठेकेदारमाथि कारवाही हुन्छ । हामीले पुनः सोध्यौं “यो त गैर जिम्मेवार उत्तर भएन र मेयर साहव ? तपाईकै भतिजाको भट्ठा अनि तपाईँ मेयर र नगर कार्यपालिकाको भवन निर्माणमा कमअसल इटा प्रयोग हुनुमा तपाईले जवाफदेही लिनु पदैन ? ” मेयर श्रेष्ठको उत्तर थियो पर्दैन । ठेकेदारले जानोस् र ब्रोकरले जानोस् । मैले वडा नं. ६ का वडाध्यक्ष संजित लामा र उप प्रमुख मान्ती साहलाई अनुगमन गर्ने जिम्मेवारी दिएको छु । उहाँहरुलाई सोध्नुस् ।
वडा नं. ६ का वडाध्यक्ष संजित लामासँग यस विषयमा प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो मैले स्थलगत निरीक्षण गरें । सबै इटा कमअसल ल्याइएको रहेछ । मैले काम रोकिदिएको छु । इटा फिर्ता पठाएर नयाँ राम्रो इटा ल्याउन भनेको छु ।
यस विषयमा स्थलगत निरीक्षणमा पुगेका वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादवसँग प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो हदैसम्मको घटिया इटा प्रयोग भएको रहेछ । यो त अक्षम्य अपराध नै हो । स्थानीय जनताको जीवनसँग खेलवाड हो । भोलिका दिनमा घर भत्केर जनताको ज्यान जान सक्छ । स्थानीय बासिन्दा उमेश बरालले भन्नुभयो जोडाइ भएका सबै वालहरुको जाँच गरेर कमअसल इटा प्रयोग भएका वालहरु भत्काएर पुन निर्माण गरिनुपर्छ । सम्पूर्ण प्रकृयाको जाँच गरेर दोषीमाथि कारवाही गरिनुपर्छ । उहाँले यो कालो कर्तुतको नमूना हेरिदिन र विरोधमा आवाज उठाउन गोलबजारका बासिन्दाहरुलाई आग्रह गर्नुभयो ।
मेयर श्रेष्ठले दावानलसँगको कुराकानीमा पटक पटक भन्नुभएको छ , मैले धमिनी इटा – भतिजाको उद्योगको इटा ) नगरपालिकाको परियोजनाहरुमा प्रयोग नगर्न भनेको छु । तर स्मरण रहोस् गोलबजार नगरपालिकाद्वारा सञ्चालित ९० प्रतिशत भौतिक निर्माण कार्यमा धमिनी इटा नै प्रयोग भइरहेको छ ।
एमालेका नेता गणेश गौतम .भन्नुहुन्छ अब त हद भयो । मेयर श्रेष्ठका कारण पार्टीको साख गिर्दैछ । पार्टीलाई अलोकप्रियताको रसातलमा पु¥याइदै छ । अब पार्टीले हस्तक्षेप गर्नैपर्छ नत्र पार्टीले एक दिन धूलो चाट्नुपर्छ । एमाले मोटाएको छैन एमाले सुन्निएको छ । जंगली हात्तीहरुको प्रवेशले पार्टी झन् ध्वस्त हुँदैछ ।