गोलबजारमा नगरपालिकाको बजेटबाट तीजमा मेयर पत्नीलाई रेशमी सारी र फुलबुट्टे चौबन्दी

[sharethis-inline-buttons]

अर्जुन थपलिया
“ गोलबजार नगरपालिकामा मेयर साहव श्याम श्रेष्ठले रातो कलमबाट बाहुली निशान बक्सिनु भयो र तीज पर्व मान्न २ लाख ९० हजार बजेट विनियोजन गर्नुभयो । सुनेरै मलाई अचम्म लाग्यो । कौतुहलता जाग्यो । झन् के थाहा पाइयो भने उक्त बजेटबाट उद्योग व्यापार संघ गोलबजारको भवनमा दर खाने र नाचगान कार्यक्रम आयोजना गरियो । नगरपालिकाका महिला कर्मचारी , महिला जनप्रतिनिधि , मेयर साहवकी पत्नी , प्रमुख प्रशासकीय अधिकृतकी पत्नी , नगर उप प्रमुख, कर्मचारीहरु र वडाध्यक्षका पत्नीहरुका लागि एकै रंगका ( म्याचिङ्ग कलर ) रेशमी सारी खरिद गरियो । गोलबजारका नाम चलेका होटलहरुबाट वर्फी , कलाकन्द, गुलाव जामुन , रसभरी , अनेक थरी जुस पेय पदार्थ र कवाव दर खानका लागि लगियो । तीजमा दर खानका लागि २ लाख ९० हजार खर्च गर्ने संयोजक बन्नुभयो उप प्रमुख मान्ती साह ।

कतै नभएको लुटतन्त्र गोलबजार नगरपालिकामा । सुनेरै अचम्म र उदेक लाग्ने । नेपालको कुनै कानूनले सरकारी बजेटबाट तीज मान्न खर्च गर्ने गरी बजेट दिने व्यवसथा गरेको छैन । यो कसरी सम्भव भयो ? मेरो मनमा प्रश्न जाग्यो । मैले मेयर साहव श्याम श्रेष्ठलाई फोन गरेर सोधे । उहाँले भन्नुभयो , हो सत्य हो । २ लाख ९० हजार तीज मान्न छुट्याइदिएको हो तर रकम के के मा खर्च गरे मलाई थाहा छैन । उप प्रमुखलाई सोध्नुहोस् । मैले उपप्रमुखलाई पनि फोन गरें । उहाँले भन्नुभयो तपाईलाई जे सोध्नु छ नगरपालिकामा आएर सोध्नुहोस् । फोनमा म जवाफ दिन्न । मैले वडाध्यक्ष बालकृष्ण गौतम र सुकदेव सिंहलाई पनि सोधे । उहाँहरुले भन्नुभयो हो २ लाख ९० हजार बजेट तीज मान्न दिएकै हो । उप प्रमुखलाई संयोजक बनाएर रकम छुट्याइएकै हो ।

८० को वयमा रहेकी गोलबजार नगरपालिका वडानं. ३ की जानकी सदा जीवन धान्न मालिकहरुको खेतमा बेथे ( बथुवा ) को साथ शिला ( लोडहा ) खौज्दै छिन् । मालिकहरुको खेतमा काम गर्दागर्दै यिनको एकबारको जुनी लगभग सकियोे । यही माटोमा यिनको बँैंस पोखियो , ढाड कुप्री प¥यो । निमेक गरेर खाने बल बैँस पनि छैन । मात्र मृत्यु पर्खेर बसेकी जानकी सदालाई बाँकी सास धान्न मुखमा माड लागाउने कुनै बाटो छैन । मालिकहरुको खेतमा बेथे सागको शिला खोज्दै छिन् । उनी जस्ता असंख्यक दलित , गरिब मुसहरसंग पसिना बगाएर लाल बनाएको एक मुठी जमिनको लालपुर्जा छैन । मालिकको गहुँबारीमा पसिना पोखेर हराएको आफ्नो जवानीको बदलामा बेथेको साग पोल्टामा टिप्दै छिन् । सर्वहाराको हितमा राजनीति गर्ने नाममा कथित कम्युनिष्ट पगरी भिरेर यिनै जानकी सदा जस्ताको भोट लिएर मेयर बन्नु भएका श्याम कुमार श्रेष्ठलाई यो हेक्का छ कि छैन । यसरी मालिकको गहुँबारीमा शिला खोजेको बेथेको साग गोलबजार हटियामा बेचेर दुई मुठी चामल किनेर प्राण धान्ने जानकी सदासंग पनि नगरपालिकाले गुद्री हटिया कर (बट्टी ) १० रुपैयाँ लिन्छ । यस्ता तन्नम सर्वहाराले तिरेको करले नगरपालिकाको ढुकुटी भरिन्छ ।

जानकी सदा जस्ताले तिरेको करको रकमबाट मेयर साहव श्याम कुमार श्रेष्ठकी पत्नी , प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलकी पत्नी, नगर उपप्रमुख मान्ती साह लगायत नगरपालिका अन्य जनप्रतिनिधिहरुका पत्नी र तलब खाने महिला कर्मचारीहरुलाई रेशमी सारी र फुलबुट्टे चौबन्दी खरिद गरियो । मालिकहरुको खेतमा बेथेको साग सिला खोजेर प्राण धान्ने जानकी सदाहरुको पेट भोकै रह्यो तर सम्भ्रान्त मेयर पत्नी , उप प्रमुख लगायत कुलीन ठालू वर्गका जनप्रतिनिधिका पत्नीहरु एवं कर्मचारीहरुले तिनै भोको पेटले तिरेको करको रकम २ लाख ९० हजार खर्चेर तीजमा सुस्वादु मिष्टान्न र पकवान ज्युनार गरी रेशमी सारी र फुलबुट्टे चौवन्दीमा सजिएर छमछमी नाचेर तीजको उल्लास मनाए ।

मेयर श्याम कुमार श्रेष्ठ ज्यु , उप पमुख मान्ती साह ज्यु र प्रमुख प्रशासकीय अधिकृत ज्यु ,

तपाईँहरुको पत्नीलाई तीज माउन नागरिकले तिरेको कर रकम २ लाख ९० हजार खर्च गर्ने नेपालको कुन कानूनले अधिकार दिएको छ ? कृपया गोलबजारका नागरिकहरुलाई बताई दिनु हुन्छ कि ? चुनाव जित्ना साथ तपाईँ स्वयंले घोषणा गर्नुभएको थियो “कुनै पनि दलित नागरिकको मृत्यु भएमा ५ हजार नगद आर्थिक साहायता दिने । ” आफ्नै घोषणालाई लगौटी लगाइ दिनु भयो । हट्टाकट्टा बैंसमा हात्तीले कुच्लिएर अकाल मृत्यु वरण गर्नुपरेका वडा नं. ३ का गरिब दलित वेद प्रसाद सदाको सदगत गर्न कात्रो किन्ने पैसा नहुँदा उनकी पत्नीले ऋण काढेर कात्रो किन्नु प¥यो । नगरपालिकाले आफैले घोषणा गरेको ५ हजार सहयोग पनि दिइएन । गरिब नागरिकले कात्रो किन्न सहयोग नपाउने तर मेयर , प्रशासकीय प्रमुख र उपप्रमुखले नगरपालिकाको बजेटबाट तीजमा एकै रंगको ( म्याचिङ्ग म्याचिङ्ग कलर ) रेशमी सारी र फुलबुट्टे चौबन्दी लगाएर नाच्नु पर्ने ? स्मरण रहोस् मेयर साहव कात्रो किन्दा पनि नागरिकले राज्यलाई कर तिरेको हुन्छ ।

सारी खरिदमा पनि भ्रष्टाचार र विभेद भएको छ । मेयर पत्नी , हाकिम पत्नी र उप प्रमुखलाई १८ सय प्रतिगोटाको सारी खरिद गरियो । अन्यलाई १२ सय प्रतिगोटाको सारी । तीजमा नगरपालिककै श्रोतबाट खरिद गरिएको सारीमा पनि ओहदा अनुसार उच्चता ( ज्ष्भचबचअजथ ) कायम गर्नु पर्ने हो र मेयर साहव ? १८ र १२ सयमा खरिद गरिएको सारीको ३२ देखि ३८ सय बील पेस गरेर भुक्तानी लिइएको छ । आम का आम गुठलीका भी दाम । एक त जनताले तिरेको करमा राइँदालो त्यसमा पनि कमिसन । यो भन्दा निच र घटिया आर्थिक अनुशासनहीनता अरु के होला र अर्को ? यसलाई जुनसुकै नागरिकले पनि कुकृत्य र घिनलाग्दो आर्थिक अपराध नै भन्ने छन् । यो सुशासन किमार्थ होइन अपितु कुशासनको पराकाष्ठा हो ।

मेयर साहव, माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादले यही सिकाएको छ ? के एमालेको चुनावी घोषणा पत्रमा यही लेखिएको छ ? एमाले पार्टीको नीति यही हो ? नागरिकले रगत पसिना बगाएर तिरेको कर कात्रो किन्दा तिरेको कर रकम खर्चेर जनप्रतिनिधिहरुका पत्नीहरुलाई रेशमी सारी र फुलबुट्टे चौबन्दी किन्ने कानूनमा कही कतै उल्लिखित छ ? छ भने मलाई र आम जनतालाई त्यो कानूनको दफा बताइ दिनुस् । मेयर साहब, तीज मान्न बजेट दिने हो भने जीतिया मान्न पनि बजेट दिनु प¥यो नी ! विभेद किन ? अनि कतिवटा चाडपर्व मान्न बजेट छुट्याउने ? मेयर साहव आर्थिक अनुशासन भंग गरेर यो भन्दा पनि तल ओर्लिने ठाउँ छ कतै । लोक लाज त बचाउनुस् । अर्को पटक पार्टीलाई भोट माग्न जाने र अनुहार देखाउने बाटो र राख्नुस् । एक पटक गम खाएर सोच्नुस् त वेद प्रसाद सदाले कात्रो किन्न सहयोग नपाउने तर तपाईकी अर्धाङ्गिनीलाई नगरपालिकाको बजेटबाट रेशमी सारी किनिने ? तीजमा कलाकन्त र कबाव ज्युनार गर्ने ? विकृति र विसंगतिको यो भन्दा घिनलाग्दो नमूना के हुनसक्छ ? वास्तव मै भन्ने हो भने तपाईको पार्टी पंक्तीले पनि यसतर्फ अब बिचार पु¥याउनु पर्छ । नत्र एमाले पार्टीको साख धूलोमा मिल्ने छ ।

प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेल ज्यु , तीजको रकझममा अतिथि भएर जानुभएको छ । पत्नीको आडमा उभिएर फोटो खिचाउनु भएको छ । बेथेको साग शिला खोजेर गुजारा चलाउने जानकी सदा जस्ता गरिबले तिरको करबाट तपाईकी पत्नीको आङ्गमा रातो रेशमी सारी सजिएको छ । त्यो रातो रंग गरिबको रगतको रंग हो । तपाईको चरित्र कुहिएर दुर्गन्ध फैलिएको छ गोलबजारमा । तपाईले आफ्नो अनुहारमा आफै मोसो दल्नु भएको छ । तपाई जस्ता ब्युरोक्र्याटलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै कारवाही नगर्ने हो भने जनताले तिरेको करको यसरी नै अपचलन भइरहन्छ ।

गोलबजार नगरपालिकाको विषयमा धेरै लेखियो , नलेख भनेर विभिन्न दवाव आइरहेको छ । तर यस्तो आर्थिक अपचलन र भ्रष्टाचारलाई पर्दाफास नगर्ने हो भने आम नागरिकले मलाई भन्नेछन् “पत्रकारको पनि जिब्रो काटियो र कलम बेचियो ।” युद्धमा हतियार बेच्ने सिपाही र कलम बेच्ने पत्रकार एउटै हुन् भन्ने लाग्छ मलाई । हल्ला सृजना गर्नु मेरो उद्देश्य होइन । म चहान्छु परिस्थितिमा रुपान्तरण होस् । सुशासन कायम होस् । म निरन्तर लेखिरहन्छु । परिवर्तन हुने नहुने आम जनताको हातमा छ ।


प्रकाशित : २०८० मंसिर २२ शुक्रबार