पशुपति शर्माको “लुट्न सके लुट ” बोलको गीत कहिकतै चरितार्थ भएको छ भने त्यो गोलबजार नगरपालिकामा भएको छ । सामान्यतया पत्याउनै गाह्रो छ तर सुत्रहरुले भन्छ यथार्थ यही हो । प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले चढने गाडी ( बागमती प्रदेश ०१०२७च ९१७० स्कारपियो ) को एक वर्षको खर्च लगभग ४२ लाख पुगेको छ ।
नगर प्रमुखमा श्याम श्रेष्ठ निर्वाचित हुनु अगाडि प्रमुख प्रशासकीय अधिकृत पौडेलले दैनिक रु ४ हजार भाडा तिर्ने गरी गोलबजारकै बासिन्दा दीपेस साहको गाडी भाडामा लिएका थिए । तर नयाँ नगर प्रमुख श्रेष्ठले पदभार ग्रहण गरेको ३ महिना पछि दीपेसको गाडीको सम्झौता रद्द गरियो । दीपेस साहको गाडी भाडा रकम हालसम्म भुक्तानी दिइएको छैन ।
नव निर्वाचित नगर प्रमुख श्रेष्ठकै भाञ्जा नाता पर्नेको नाममा दर्ता रहेको गाडी प्रति दिन ६ हजार तिर्ने गरी भाडामा लिइयो । नगर प्रमुख श्रेष्ठले सपथ लिनासाथ नगरपालिकाको बजेट सकेसम्म भाइ ,भतिजा र स्वजातीय बन्धुहरु बाहेक अन्यत्र नजाओस् भन्ने नीति लिए । सोही नीतिको पहिलो कदम नै आफ्ना भाञ्जाको गाडी भाडामा लिन लगाएका थिए । त्यो पनि दिनको २ हजार रकम थप गरेर । सुत्रको भनाइ छ – खरिद ऐन अनुसार उक्त गाडी भाडामा लिंदा प्रतिश्पर्धा गराउनु पर्ने थियो । सूचना निकालेर खुला प्रतिश्पर्धा गराएर मात्र भाडामा लिइनु पथ्र्यो तर प्रति दिन २ हजार रकम थपेर गैर कानूनी रुपमा गाडी भाडामा लिएर नगरपालिकाको रकम अपचलन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको वार्षिक भाडा नै आर्थिक वर्ष २०७९÷०८० मा २१ लख ६० हजार तिरिएको छ । पहिलेको गाडी छोडेर नगर प्रमुखको भाञ्जाको गाडी प्रयोग गर्दा ७ लाख २० हजार रकम अतिरिक्त खर्च भएको छ । स्थानीय अगुवा व्यक्तित्व विलेक्षण यादव भन्छन् , “यो जनताले रगत पसिना बगाएर तिरेको करको खुला अपव्यवय र भ्रष्टाचारको नमूना हो ।”
त्यसैगरी उक्त गाडीले आर्थिक वर्ष २०७९ ÷०८० मा १६ लाख भन्दा अधिकको इन्धन खपत गरेको छ । नगरपालिकाका पीडित तथा भुक्तभोगी जनप्रतिनिधि र कर्मचारीहरु भन्छन् , “अन्यले ५ लिटर पेट्रोल माग्दा पनि प्रमुख प्रशासकीय अधिकृतले चार वचन नलगाई दिंदैनन् । तर आफ्नो गाडीमा पानी खन्याए जस्तै इन्धन खपत गर्छन् ।
अन्य नगरपालिका र गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पौडलले चढेको गाडीको तुलना गर्दा गोलबजारमा इन्धन खर्च तीनदेखि चार दोब्बर अधिक देखिन्छ । सिरहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको गाडीको इन्धन खर्च वार्षिक ४ लाख भन्दा कम देखिएको छ ।
नेपाली कांग्रेसका युवा नेता सुरेश साह भन्छन् , “प्रमुख प्रशासकीय अधिकृत धेरै फिल्ड घुम्दैनन् । उनको आवास र कार्यालयको दुरी ५ सय मिटरभन्दा कम छ । तर इन्धन खर्च सुन्दा अपत्यारिलो र आश्चर्यजनक छ । अगस्त्य ऋषिले समुन्द्र पिए जस्तै प्रमुख प्रशासकीय अधिकृत पौडलको गाडीले इन्धन पिउँने हो र ! जरुर कुनै कैफियत छ । छानविन हुन आवश्यक छ ।
प्रमुख प्रशासकीय अधिकृत काठमाडौ जाँदा आउँदा र काठमाडौंमा बस्दा उक्त गाडी साथमै लैजाने गरेका छन् । गाडी साथमा लैजाँदा चालकलाई खाना र बासको लागि भत्ता अलग दिनु पर्छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलको गाडी चलाउने चालकले गोलबजार नगरपालिकाबाट बुझिलिएको भत्ता नै ४ लाखभन्दा बढी रहेको नगरपालिकाकाका एक वडाध्यक्षले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले भने अधिकृत पौडेल हवाई रुटबाट काठमाडौं जाने र राजधानीमा बस्दा ट्याक्सी प्रयोग गर्ने हो भने गाडी प्रयोग गरेको भन्दा कम खर्च हुन्छ । तर उनलाई जनताले तिरेको करमा राइँदाइँ गर्नुछ । मितव्ययिता र आर्थिक अनुशासनमा उनको रुची नै छैन ।
यस बारे दावानलले नगर प्रमुख श्याम श्रेष्ठसंग जिज्ञाशा राख्दा उहाँले भन्नुभयो त्यो गाडी मेरो होइन र मेरो भतिजाको पनि होइन । कुनै नातेदारको त हो नी ? भन्ेर सोधिएपछि भने उहाँ गम खानुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो सम्बन्धित शाखामा बुझेर मात्र लेख्नुस् । जथाभावी नलेख्नुस् । तर यस विषयमा लेखा शाखामा पटक पटक बुझ्न जाँदा लेखा अधिकृत भेटिएनन् । उनको फोन पनि स्वीच अफ छ । अर्कोतिर दावानलबाट गोलबजार नगरपालिकामा सूचना कानूनको प्रयोग गरेर यस सम्बन्धी तथ्य र खर्च फाँटवारी माग गर्न सकिन्थ्यो । तर नगर प्रमुख श्याम श्रेष्ठले सूचना मागेर हामीलाई डिस्टर्व नगर्नुस् , हामी सूचना दिदैनौ , कर्मचारी छैन , फुर्सद छैन , असारसम्म काम गर्न दिनुस् , एकै पटक साउनमा सूचना माग्नुस् भनेर जवाफ दिनु भएकोले हामीले सूचना माग्न सकेनौं । एक वर्ष अघि दावानलले कानून बमोजिम रीत पु¥याएर मागेको सूचना अहिलेसम्म दिइएको छैन । त्यसकारण हामीले सुत्रहरुको प्रयोग गर्नु परेको छ ।