नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाका सभापति रामचन्द्र यादवले एक पत्रकार सम्मेलन गरी कुशासन , तस्करी , वातावरणीय विनास तथा प्रशासनीक वेथिति र विसंगतिका सवालहरुमा आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । हिजो मंगलबार निज निवास जिरोमाइलमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा सभापति यादवले उक्त घोषणा गर्नुभएको हो ।
कांग्रेस सभापति यादवले जिल्ला पार्टीको तर्फबाट जिल्ला प्रशासन कार्यालय सिरहामा विभिन्न माग राखेर ३ दिन अगाडि नै ज्ञापन पत्र पेस गरेको र प्रशासनीक निकायबाट सुनुवाई नगरिएको बताउँदै नेपाली कांग्रेस सिरहाले आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताउनु भयो ।
पत्रकार भेटघाटमा पार्टीका तर्फबाट जिल्ला प्रशासन कार्यालय सिरहामा पेस गरिएको ज्ञापन पत्रमा उल्लेखित मागहरु पर्टीका जिल्ला सचिवले वाचन गरेर सुनाउनु भएको थियो । नेपाली कांग्रेस सिरहाले भारतीय खुला सीमानाबाट प्रशासनको समेत संलग्नतामा संगठित रुपमा तस्करी भइरहेकोले तस्करी बन्द गर्न कडा कदम चालिनु पर्ने माग गरिएको छ ।
त्यसैगरी जिल्ला समन्वय समिति , प्रहरी प्रशासन र वन कार्यालयसंग मिलेर तस्करहरुले नदी नाला र चुरे वन क्षेत्रमा अवैध उत्खनन् गरी वातावरणीय विनास निम्त्याइएको भन्दै त्यसमाथि अंकुश लगाउनु पर्ने माग गरिएको छ । सिरहा कांग्रेसले हत्याका आरोपी पक्राउ गर्न नसकेको , नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि स्थानीय प्रशासनले भेदभावपूर्ण व्यवहार गरेको पनि आरोप लगाएको छ । पत्रकार सम्मेलनमा किसानहरुले मल , खाद र बीउ विजन समयमा नपाएको र धानको समर्थन मूल्य तोक्न सरकारले आनाकानी गरेको प्रति विरोध जनाएको छ । उपरोक्त मागहरु यथाशीघ्र पूरा नगरी कडा तर शान्तिपूर्ण आन्दोलनमा उत्रिने सिरहा कांग्रेसले घोषणा गरेको छ ।