गोलबजार नगरपालिकामा भ्रष्टाचारको अर्को काण्ड ,हटिया सार्ने नाममा १२ लाख स्वाहा

[sharethis-inline-buttons]

 

वडा दशैंको ठीक अगाडि गोलबजार नगरपालिकाका प्रमुख श्याम श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेललाई गुद्री हाटबजार राजमार्गबाट सारेर हाट बजार लाग्ने स्थानमा सार्ने जंग चल्यो । कदाचित यो कार्य गर्न आवश्यक पनि थियो । राजमार्गमा हाटबजार लाग्दा यातायातका साधन आवत जावत गर्न कठिनाई हुने र दुर्घटना भई जनधनको क्षति हुने प्रवल सम्भावना पनि रहेको थियो ।

तीन हटियासम्म नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले देखाउनसम्म ताहुरमाहुर देखाउनु भयो । पार्टीका कार्यकर्ता , प्रहरी , ट्राफिक प्रहरी, जनप्रतिनिधि र उद्योग व्यापार संघका पदाधिकारीहरुलाई भेला गराइयो । गोलबजारको गोलचक्करदेखि पश्चिम इलाका प्रहरी कार्यालय गोलबजार जाने बाटोसम्म राजमार्गको दायाँ वायाँ लाग्ने गुद्री बजारमा किसान तथा व्यापारीहरुलाई सम्झाई बुझाई र आवश्यक परे हप्काई दप्काई हाटबजार राजमार्गदेखि उत्तर यथास्थानमा सारियो । नभन्दै तीन सतासम्म गुद्री हाटबजार राजमार्गमा फैलिन पाएन । यथास्थानमै हाट बजार व्यवस्थापन भयो । यस कार्यलाई प्रशंसनीय कार्य कै रुपमा स्थानीय जनताले मूल्याङ्कन गरेका थिए । तर तीन सातापछि हाट बजार पुन ः राजमार्गमै आइपुग्यो । अहिले गोलबजारको गुद्री हाटबजार दशैं अगाडिको पूर्ववत अवस्थामा फर्किएको छ । गोलचक्करदेखि ईलाका प्रहरी कार्यालय जाने बाटोसम्मै हाटबजार लाग्ने र यातायात जाम हुने समस्या पुनः बल्झिएको छ ।

नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत पौडेलको हाट बजार सार्ने तुजुक असफल सिद्ध भएको छ । संगसंगै गोलबजार नगरपालिकाको १२ लाख बजेट पनि स्वाहा भएको तथ्य बाहिरिएको छ । हाटबजार सार्न तीन दिन प्रयास गरेवापत सुरुमा २२ लाख रकम खर्च भएको बील भरपाई पेस गरिएको सुत्रहरुले दावी गरेका छन् । सुत्रले जानकारी दिए अनुसार एक दिन हाटबजार सार्न खटिएका स्वयंसेवक र प्रहरीलाई खाजा खुवाइएको ९० हजारसम्मको बील पेस गरिएको छ । अस्वभाविक खर्च देखाएर भुक्तानी माग गरेको कारण लेखा शाखाले भुक्तानी रोकेपछि त्यसलाई घटाएर १२ लाख बनाइएको र सो अनुसार भुक्तानी भएको सुत्रले बताएको छ ।

यस प्रसंगमा नगर प्रमुख श्रेष्ठलाई दावानलले कति खर्च भयो भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो “यति उति कति हो थाहा छैन । अहिले बील पेस भएको छैन । ” दावानलले फेरि दोश्रो प्रश्न तेस्र्यायो । एक दिनमै ९० हजारको खाजा खुवाइएको बील पेस गरिएको छ , कसरी त्यति खर्च भयो ? नगर प्रमुख श्रेष्ठले भन्नुभयो प्रहरी र ट्राफिक प्रहरीहरुलाई खुवाउनु प¥यो । प्रहरीका जिम्मेवार अधिकारीले भन्दैछन् “हामीलाई त दुई वटा समोसा मात्र खाजा दिइएको हो ।” यो तेश्रो प्रश्न सुनेर नगर प्रमुख श्रेष्ठ पडकिनु भयो । को हो त्यसो भन्ने प्रहरी ? ल्याउनुस् त मेरो अगाडि समाएर । खाने बेलामा मासु भात खाने , अहिले दुईवटा समोसा मात्र दियो भन्ने ? प्रहरीलाई समाएर हामीले नगर प्रमुख समक्ष हाजिर गराउन पनि सक्दैनौ र त्यसो गर्ने सञ्चारकर्मीको जिम्मेवारी पनि होइन भने पछि नगर प्रमुख श्रेष्ठले भन्नुभयो त्यसो हो भने हामीले भनेको विश्वास गर्नुहोस् । यता नाम उल्लेख नगर्ने शर्तमा प्रहरी अधिकृतले भन्नुभयो “हामीलाई फगत बदनाम गराउन खोजिएको छ । ”

नगर प्रमुख श्रेष्ठलाई हामीले पाँचौ प्रश्न ग¥यौं हटिया सार्ने कार्य त बालुवामा पानी खन्याए सरह भयो । १२ लाख रकम खर्च भयो तर एक महिना पछि नै हाटबजार पुन राजमार्ग मै आइपुग्यो त ? नगर प्रमुख श्रेष्ठले भन्नुभयो – “असफल भयो त मैले के गर्ने ? भयो त भयो । ” नाहकमा नगरपालिकाको बजेट खर्च भयो नी त ? भन्ने प्रश्नमा नगर प्रमुख श्रेष्ठले भन्नुभयो , “भयो त भयो – मैले के गर्ने ?

हटिया सार्ने प्रसंगमा हामीले स्थानीय वुद्धिजीवीहरुसंग पनि प्रतिक्रिया लिएका थियौं । यस विषयमा स्थानीय पत्रकार रामबाबु यादव भन्नुहुन्छ “अभाव तत्वले मानिसलाई असल नागरिक बन्न दिंदैन । बसमा ४ वटा सिट मात्र खाली छ तर यात्रु १० जना छन् भने जतिसुकै पढेलेखेका र सभ्य कहलिएका भए पनि तछाड मछाड हुन्छ–हुन्छ । एक सय जना अट्ने स्थानमा एक हजार मान्छे कोचेर व्यवस्थापन हुँदैन । गोलबजारमा हजारौं किसान तरकारी लिएर आउँछन् । व्यापारी पनि हजारौंको संख्यामा आउँछन् । जवकी गुद्री हाटबजार लाग्ने स्थान नै साँघुरो छ । भित्रपट्टी बजार अटाउँदैन । फलतः बजार राजमार्गमा सरेर आइपुग्छ । दिगो बजार व्यवस्थापन गर्नका लागि फराकिलो र सुगम ढुवानी मार्ग भएको स्थानमा बजार सार्नु पर्छ । अन्यथा जति प्रयास गरेपनि बालुवामा पानी खन्याए सरह हुन्छ । ”

हाट बजार सार्न १२ लाख रकम खर्च भएको तथ्य बाहिरिए पछि गोलबजारमा नगरपालिका भित्रको भ्रष्टाचार र अपव्यय माथि पुन चर्चा चुलिएको छ । नागरिकहरुले यसलाई ब्रह्मलुट भनेर संज्ञा दिएका छन् । व्यापारी पवन साह भन्नुहुन्छ तीन हटिया स्वयंसेवकहरु लगभग ४०–५० जना खटिएका थिए । एक दिनमा १० देखि १५ हजारको खाजा खर्च हुनसक्छ । तीन दिनमा लगभग ५० हजार खर्च हुनु स्वभाविक मान्न सकिन्छ । तर १२ लाख खर्च भयो भन्नु सरासर लुटतन्त्र हो ।

 


प्रकाशित : २०८० मंसिर १६ शनिबार