अर्जुन थपलिया
६७ वर्षिय जुक्तिलाल मण्डल ( बोलाउने नाम जुगुत लाल ) २०४६ सालमा सर्रे अम्बासमा भएको तत्कालीन नेकपा माले ( हाल एमाले ) को चौथौ राष्ट्रिय महाधिवेशनमा रेडगार्ड ( सुरक्षा गार्ड ) बसेका थिए भन्दा धेरैलाई पत्यार नलाग्ला । तर चौथो महाधिवेशन आयोजन गर्ने हर्ताकर्ता मध्येका एक जना नरेन्द्रराज पोखरेल ( हरि पोखरेल ) जीवित साक्षी छन् । उनले भनेपछि पत्याउन कर लाग्छ । चारु मजुमदार लाइनबाट प्रेरित झापा आन्दोलन ताका नै मणिलाल राईले सिरहामा पार्टी संगठन निर्माण गर्न थालेपछि मण्डल पार्टीमा संगठित भएका थिए । फलामे अनुशासन र चट्टानी गोपनीयताको अवस्था थियो । चौथो महाधिवेशन सर्रे अम्बास भएको कुरा धेरै पछिसम्म पार्टीका धेरै नेता तथा कार्यकर्तालाई थाहा हुन सकेन । तर मण्डल पार्टीका अत्यन्त कर्मठ र विश्वासपात्र थिए । त्यतिबेला यातायातको साधन थिएन । भए पनि प्रयोग गर्न मिल्ने अवस्था थिएन । महाधिवेशनमा खाद्यान्न , लत्ता कपडा, तथा अन्य सामग्री ओसार्ने, नेताहरुलाई सो स्थानसम्म सुरक्षित पु¥याउने , खाना बनाउने , खुवाउने र हतियारसहीत सेन्ट्री बसेर सुरक्षा दिने मण्डलको भूमिका थियो ।
समाज र राज्यबाट शोषित कथित पानी नचल्ने दलित जातमा द¥याइएका जुक्तिलालका बाउ बाजे तत्कालीन समाजले तोकिदिएको डोली बोक्ने जातीय पेसा गरेर गुजारा गर्थे । ज्याला मजदुरी नै जुक्तिलालको परिवार पाल्ने एकमात्र विकल्प थियो । मालिकको खेतमा दिनभरी काम गर्दा ५ सेर ( तीन किलो ) धान ज्याला पाइन्थ्यो । मण्डलकी पत्नी ७० वर्षिया रामपरी भन्छिन् “ कुनै दिन घरमा एक गेडो अन्न नभएर राति भोकै सुतेका थियौं । भोलीपल्ट लौ ५ जना कमरेडहरु तपाईको भागमा पर्नुभयो । खाना खुवाउने व्यवस्था गर्नुहोला भनियो । ” दुवै ज्यामी दिनभरी मालिकको खेतमा काम गर्न गयौं । ल्याएको ज्याला ६ किलो धान कुटेर भूमिगत रहेका कमरेडहरुलाई बेलुका खाना खुवाइयो । मण्डलकी पत्नी रामपरीले पकाएको कोदोको रोटी, उसिनेको सखरखण्ड, मकैको च्याँख्ला र यदाकदा धानको भात नखाएका एमालेका पुराना भूमिगत नेता कमै होलान् । तर उनी अहिले उठबस गर्न नसक्ने गरी थलिएर असक्त भएकी छिन् । मण्डल दुबै ज्यामी निराक्षर छन् । १० धुर घडेरी बाहेक यिनीहरुको अन्य जायजेथा छैन ।
जुक्तिलालको कानमा समस्या उत्पन्न भएको ५ वर्ष भयो । उनको श्रवण शक्ति घटेको छ । रामपरी त उठबस गर्नै नसक्ने गरी थलिएकी छिन् । गोलबजार नगरपालिकामा देवनाथ साह मेयर हुँदा कानमा लगाउने एक थान श्रवण यन्त्र खरिद गर्न आर्थिक सहयोग रु ५ हजार माग्न जुक्तिलालले निवेदन दिएका थिए । तत्कालीन मेयर साहले सहयोग उपलब्ध गराइदिने भन्दै रातो मसीले तोक लागाइदिएका थिए । सहयोग पाइने आशामा मण्डल करिव ३० पटक नगरपालिकामा धाए तर सहयोग दिइएन । मण्डल भन्छन्,“ अन्त्यमा मैले निवेदन च्यातेर मेयर साहकै हातमा थमाएर घर फर्किएँ । ”
२०७९ बैशाखमा भएको चुनावबाट गोलबजार नगरपालिकाको नेतृत्व फेरियो । पुजीपति सर्वहारा नेता श्याम श्रेष्ठ मेयरमा जिते । जुक्तिलालको मरेको आशा फेरि पलायो । कानमा लगाउने एक थान श्रवण यन्त्र नहुँदा निकै कठिनाई भोगिरहेका मण्डलले आफ्ना पुराना दिन सम्झिए । एमालेको पार्टी संगठन श्रीवृद्धि गर्न २०२८ सालदेखि मणिलाल राई र हरि पोखरेलले पहिलो पटक संगठन निर्माण गर्दा उनी पार्टीमा आवद्ध भएका थिए । त्यस दिनदेखि भूमिगतकाल, प्रजातान्त्रिककाल र गणतन्त्रसम्म आइपुग्दा अनवरत , अविच्छिन्न र सर्वकालीक कार्यकर्ता भएर पार्टीका खातिर बगाएको रगत पसिनालाई सम्झिए । आफू भोकै बसेर भूमिगत नेताहरुलाई खुवाएको सम्झिए । महान सर्वहारा नेता तथा सिरहाका लेनिन भनिने लीलानाथ श्रेष्ठ र सदावहार विद्वान नेता श्याम श्रेष्ठलाई नै चुनाव जिताउन पनि दिलोज्यानले लागिपरेको दिन मनन् गरे । चौथो महाधिवेशनमा सर्रे अम्बासमा रेडगार्ड ( सुरक्षा गार्ड ) बसेको दिनलाई सम्झिए । पूर्व मेयरले दुत्कारेको कुरा बिर्सिएर नयाँ आशाको त्यान्द्रो समाएर मण्डल एक पटक फेरि निवेदन लिएर गोलबजार नगरपालिका पुगे । मण्डलको निवेदन पत्रमा नयाँ मेयर श्याम श्रेष्ठले पनि रातो मसीले तोक आदेश ठोके । त्यसपछि सुरु भयो मण्डलको नयाँ दिनचर्या । आज होला , भोलि होला , पर्सी त होला भन्दै उनी गोलबजार नगरपालिका धाइरहे । मेयर श्रेष्ठसँग हारगुहार गरिरहे । तर ४० दिन कुदे पछि मण्डलले आफूलाई मेयर श्रेष्ठले गफलतमा पारेर निरर्थक कुदाई रहेको गाँठी कुराको भेउ पाए । मण्डले फेरि एक पटक पहिले जस्तै निवेदन च्यातेर मेयरको टेवलमा फालेर घर फर्किए । उनले जम्मा ५ हजार आर्थिक सहयोग मागेका रहेछन् । मण्डलले स्वआर्जनबाटै श्रवण यन्त्र खरिद गर्ने जमर्कोमा लागेका छन् । अशक्त पत्नीको उपचार र दैनिक चुल्हो बाल्ने खर्च काटेर बचत भएको कमाईले श्रवण यन्त्र खरिद गर्न मण्डललाई एक वर्ष जति लाग्ने रहेछ ।
“जुन वर्गको सत्ता हुन्छ त्यही वर्गको हितमा काम गर्छ । हामीले मुक्तिका लागि एक दिन सर्वहारा वर्गको सत्ता कायम गर्नुपर्छ ” भन्ने अनुशिक्षण पाएर पार्टीमा होमिएका मण्डल भन्छन् “बल्ल थाहा पाए कम्युनिष्ट भनिएकाहरुको सत्ता कति कठोर हुँदो रहेछ । ” आफूले एउटा श्रवण यन्त्रका लागि गरेको यत्न प्रयत्न खेर गएको र मेयर श्याम श्रेष्ठका छोरा , भतिजा र अन्य नातागोताले गोलबजार नगरपालिकाबाट दर्जनौ दर्जन ठेक्का पाएको सुनेर जुक्तिलालको मन कुढिएको छ । उनले भने म के गर्न सक्छु र ! मात्र आफू
लाई धिक्कार्न सक्छु ।
मण्डलले सुनेका छन् चौथो महाधिवेशन भएको स्थान सर्रे अम्बासमा एमालेको सचिवालय बैठक हुँदैछ । त्यहाँ बरिष्ठ नेताहरु आउँदैछन् । तर उनी दुखि पनि छन् । उनको भनाइ छ, “कमसेकम ३४ वर्ष अघि अधिवेशन भएको स्थानमा आउने भए पछि त्यसबेला अधिवेशन गराउने निम्छरा कार्यकर्ताहरुलाई पनि त सम्झिनु पथ्र्यो । सत्ताका मालिक उनीहरु नै भए । हामी जस्ता सेवक कमरेडहरुलाई बोलाएर पिठ्यूमा धाप मारिदिएको भए पनि पुग्थ्यो । ” मण्डल भन्छन्,“ सिरहा जिल्लाका लेनिन भनिने नेता लीलानाथ श्रेष्ठ र उनैका भाइ श्याम श्रेष्ठलाई के थाहा – ति दिनहरु कस्ता थिए । ” त्यतिबेला पार्टी बनाउन र जोगाउन को–कसले ज्यानको बाजी थापेका थिए । श्रेष्ठ परिवार २०४६ पछिको पार्टी खुला भएपछि आएका हुन् । उनीहरुले सत्ता र शक्ति नभएका पुराना कार्यकर्ताहरु मयल बरावर ठाने । उफ कम्युनिष्ट नीति….. ।
मण्डलले आगामी भदौ १३ गते सर्रे अम्बासमा हुने भनिएको एमालेको सचिवालय बैठक स्थलमा पुग्ने निधो गरेका छन् । चौथो महाधिवेशनमा आएका ९५ देखि १०० जना नेताहरु मध्ये धेरै जना त्यहाँ आउनु हुने मण्डलको अनुमान छ । कसैलाई भेट्न वा कसैसँग बोल्न नपाए पनि पुराना दिन सम्झिदै जंगलको कुइनेटो ( एकाछेउ) मा बसेर डाको छोडेर रोएर आफूलाई धिक्कारेर फर्किन्छु भन्ने उनको भनाइ छ । सर्वहारा वर्गको अधिनायकत्वसहितको जनवादी सत्ता र समाजवाद ल्याउन पार्टीमा गरेको परिश्रम , लगानी र मरिहत्ते सम्झिदै सिरहाली लेनिन लीलानाथ श्रेष्ठ तथा छोरालाई नगरपालिकाको ठेक्कापट्टा सुम्पिने सुशासनका नायक मेयर श्याम श्रेष्ठको जय जय जय भनेर फर्किने मण्डलको निधो छ ।
जुक्तिलाल मण्डलसँगको कुराकानीमा आधारित