एउटा हिन्दी शायरीको नेपाली अनुवादबाट भनाइ सुरु गर्छु –“ पहिलेकाले अन्धकारमा राख्यो भनेर नयाँलाई चुनेको , नयाँले त यस्तो विकिरणयुक्त प्रकाश ल्यायो कि दुबै आँखा फुट्यो ” ।
यो भनाइ गोलबजार नगरपालिकाको सन्दर्भमा ठ्याक्कै मिल्छ । पहिलेका मेयरका पालामा साढुभाइका छोरालाई नगरपालिकाको सबै ठेक्काहरु जिम्मा लगाएका थिए । साढुभाइका छोराले ५ वर्षमा गोलबजार नगरपालिकामा लगभग ४० वटा ठूला ठेक्का लिएका थिए । धेरै व्यख्या गर्नै परेन । मेयरका साढुभाइका छोराले ( एउटै व्यक्ति वा फार्मले ) ४० वटा ठेक्का लिएपछि त्यहाँ कुशासन छ भन्ने कुरा प्रमाणित गर्न छुट्टै प्रमाण जुटाउनै परेन ।
अहिलेका मेयरले आफ्नै सुपुत्रलाई ठेक्का दिएका छन् । पुरानाले ५ वर्षमा ४० वटा ठेक्का साढुभाइका छोरालाई दिलाएका थिए । अहिलेका मेयरले एक वर्षमै पहिलेका मेयरलाई उछिनेर सो भन्दा बढी ठेक्का दिएको सूचनाहरु प्राप्त हुन थालेको छ । झन् उनका नातागोता , स्वजातीय बन्धु वान्धवहरुले प्राप्त गरेका कोटेशनको गिन्ती गर्ने हो भने पुरानो मेयरलाई धेरै पछाडि छोडेको देखिन्छ । सुशासनको धज्जी उडेको छ । सिंगो नगरपालिका नातावाद, कृपावाद र जातिवादमा चलेको देखिन्छ ।
गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको दावानल अनलाइन पत्रिकासँग ठूलो गुनासो थियो । दावानलले मेरो वाइट नराखी एकतर्फी समाचार सम्प्रेषण गरिरहेको छ । दावानलको सम्पादक भएको नाताले मैले आफूलाई सच्याउने प्रयत्न गरें । मेयर श्रेष्ठलाई फोन गरेर सोधे – यस वर्ष तपाईले आफ्नै छोराले पेश गरेको ४ वटा फाइल भुक्तानी नदिएर रोक्नु भएको हो ? मेयर साहवको जवाफ थियो मेरो छोराले गोलबजार नगरपालिकामा एउटा पनि काम गरेको छैन । त्यसकारण फाइल पनि पेस गरेको छैन र भुक्तानी पनि रोकिएको छैन । मेरो छोराले मेची देखि माहाकालीसम्म पहिलेदेखि नै काम गरिरहेको छ तर गोलबजार नगरपालिकामा काम गरेको छैन । तपाईले सुनेको कुरा झुठ हो ।
केही समय अघिदेखि सामाजिक सञ्जालहरुमा बाउ मेयर र छोरा ठेकेदार भएको नगरपालिका गोलबजार हो भनेर विभिन्न महानुभावहरुले स्टाटस पोष्ट गरेको र प्रतिक्रियाहरु दिएको हामीले देखिरहेका थियौं । दावानलकातर्फबाट यसको खोजी र सत्यताको पुष्टी गर्ने अभियान सञ्चालन ग¥यौं । खोज्दै जाँदा हामी वडा नं. १ भुल्के पुग्यौं । त्यहाँ एउटा वोरिङ्ग जडान सहितको पानी ट्यांकी निर्माण भएको रहेछ । भूमिगत पाइप लाइन ओछ्याएर ४३ वटा धारा पनि जडान गरिएको छ । धरा जडान गर्न २० लाख र वोरिङ्गसहित ट्यांकी निर्माणका लागि २० लाख रकममा गोलबजार नगरपालिकाले दुईवटा भिन्नाभिन्नै उपभोक्ता समिति गठन गरी सम्झौता गरिएको रहेछ । पाइप लाइन ओछ्याउने र धारा निर्माण गर्ने उपभोक्ता समितिले सम्पूर्ण कार्य आफैले गरेका रहेछन् । गोलबजारका फुलेस्वर नायकको पसलबाट निर्माण सामग्री उधारो लगेको र काम सम्पन्न भई भुक्तानी आएपछि उधारो तिरेको कुरा उपभोक्ता समितिका सदस्यहरुले प्रष्टसँग बताए । तर बोरिङ्ग सहितको पानी ट्यांकी निर्माण कार्य मेयर श्रेष्ठका छोराले गरे गराएको उपभोक्ता समितिका अध्यक्ष फूलमाया विश्वकर्माले बताइन । उनले भनिन् , “ म जम्मा दुई पटक नगरपालिका गए । खाता खोल्न र चेक लिन । नगरपालिकाबाट चेक लिएर मेयर कै छोरालाई दिए । समितिको अर्को चेकमा सही गरेर पनि सही गरेर उनैलाई दिए । मेरो काम त्यति हो । ”
अध्यक्ष फूलमायका पति दशरथ विश्वकर्माले भने , “ समितिमा हामी थियौं तर काम सुमित श्रेष्ठले गराएका हुन् । भुक्तानी पनि उनैलाई जिम्मा लगाइयो । ” हामीले कामको रेखदेख मात्र गरेका हौं । दावानलले उहाँहरुको भनाइ भिडियो रकेर्ड गरेको छ । त्यति मात्र होइन नगरपालिकमा भरीमा कुन कुन परियोजना छोरा, भाइ, भतिजा वा प्रियपात्र मार्फत भएको छ त्यसको फेहरिस्त दावानलले सप्रमाण क्रमश प्रकाशित गर्दै जाने छ ।
मेयर साहव , ढाटे कुरा काटे मिल्दैन । मेयर साहवका विरुद्ध बोल्ने एमालेका कार्यकर्ताहरु माथि मार्शल लगाएर वयान फेर्न लगाइन्छ । तर दावानलसँग उनीहरुले बोलेको रेकर्डिङ्ग सुरक्षित छ । दावानलमाथि तपाईको मार्शल लाग्दैन । यद्यपि लोकतन्त्रको मर्यादा विपरीत तपाईहरुले दावानललाई सचेत गराएको भनेर लिखित विज्ञप्ती जारी गर्नुभएको छ । हामी तपाईका मातहतका कार्यकर्ता होइनौं । समाचारमा चित्त नबुझे खण्डण गर्ने तपाईँहरुको अधिकार सुरक्षित छ तर हामीलाई नसिहत दिने अधिकार छैन । सञ्चारकर्मीलाई सचेत गराउने तपाईको शैली तानाशाहको रुपमा उदय हुने जमर्को हो । म यसबाट किञ्चित विचलीत हुने छैन ।
मेयर साहव , मलाई थाहा छ यो समाचार प्रकाशन पश्चात तपाईँहरुले सिधासादा गौप्राणी दशरथ र फूलमाया दम्पतिलाई मार्शल शैलीमा हप्काउनु हुने छ । जसरी एक साता अघि ४ जनालाई सात्तो टिप्ने गरी थर्काइयो । तर मेरो छोराले काम गरेकै छैन भन्ने तपाईको दावीलाई दशरथ दम्पतिको भिडियोेले महाझुट सावित गरिदिएको छ । गोलबजार नगरपालिका भित्रको नातावाद , कृपावाद र जातिवादी जस्ता कुशासनका छटाहरुलाई छताछुल्ल पारिदिएको छ । पानी माथि बसेर ओभानो बन्ने र देखिने तपाईको प्रयासलाई असफल बनाइदिएको छ । यसबाट सिंगो एमाले पार्टीको छविमा आघात पुगेको छ । कार्यकर्ताहरुको मन पनि कुढिएको होला शायद ।
पानी पानी जपेर वा पानी ट्यांकी हेरेर तिर्खा मेटिदैन । ४३ घरमा धारा बनेको छ । बोरिङ्ग जडान गरिएको छ । पानी ट्यांकी घरै अगाडि उभिएको छ । तर पानी बिना भुल्के गाउँ काकाकुल छ । बोरिङ्ग निरर्थक छ । किनकी विद्युत २ फेज मात्र छ । मोटर चल्दैन । धारमा पानी आउँदैन । ४० लाख लगानी त्यसै प्रयोगविहीन बनेको छ । ४० लाख बजेट विनियोजन गर्दा विद्युतका लागि पनि ५ लाख रकम छुट्याइनु पथ्र्यो । अनि सुशासन र प्रतिफलयुक्त विकासको दावी गर्न सुहाउँथ्यो । ४० लाख खर्चेर पनि भुल्केका बासिन्दा पानी पानी कराउँँदै छन् । यो अर्को वेथिति हो ।