गोलबजार नगरपालिकामा एमालेको संगठित सदस्य संख्या ५३ प्रतिशतले घट्यो – चोहर्वा दरवारको लोकप्रियतामा भारी गिरावट आएको भनाइ

[sharethis-inline-buttons]

अर्जुन थपलिया
गोलबजार नगरपालिमा मेयरसहित बहुमत , प्रदेश सांसद र संघीय सांसद तीनवटै पदमा विजयश्री प्राप्त गरेको नेकपा एमाले गोलबजार क्षेत्रमा महाशक्तिको रुपमा उदय भएको थियो । तीनवटै पदमा पार्टीको विजय ध्वज फहराउँदा नेतृत्वको छाति गर्वले फुलेको थियो । नेतृत्वको लोकप्रियता र एमालेको दवदवा बारे भन्नु पर्दा “ चोहर्वा दरवारको सिक्का चल्ने बेला भएको ” ठानिन्थ्यो । तर स्थानीय निर्वाचनको १५ महिना समय व्यथित हुँदा चोहर्वा दरवारको राजनीतिक लोकप्रियता र एमालेको साख स्वात्तै घटेको छ । स्थानीय निर्वाचन ताका गोलबजार नगरपालिकामा एमालेको संगठित सदस्य संख्या १४५० रहेको थियो । यस वर्ष यो संख्य ाझरेर मात्र ६८५ मा सीमित हुन पुगेको छ । संगठित सदस्य संख्यामा ५३ प्रतिशतले ह्रास आएको छ ।

एमालेले संगठित सदस्य संख्या बढाउन ४ महिना अघिमात्र मिसन ग्रासरुट अभियान चलाएको थियो । त्यसपछि पनि संगठित सदस्यता नवीकरण गर्न गराउन पटक पटक आह्वान गरिएको र म्याद थपिएको थियो । तर घर–घर गएर सगठित सदस्यता नवीकरण गराउन खोज्दा पनि नयाँ सदस्य थपिने त परै जाओस् पुराना कार्यकर्ताहरुलाई पनि कायम राख्न सकेन ।

प्राप्त जानकारी अनुसार नेकपा विभाजन हुँदा पुरानो एमालेको संगठित सदस्य ११५० जना थिए । माओवादीतर्फबाट ३०० जना संगठित सदस्य एमालेमा समाहित भएका थिए । दुबै संख्या जोड्दा १४५० हुन आउँछ । यो वर्ष संगठित सदस्यता नवीकरण गर्ने गराउने क्रममा मरिहत्ते प्रयास गर्दा पनि वडा नं. १ मा ३५ , २ नं. मा ११० , ३ नं मा ६२ , ४ नं. मा ४८ , ५ नं. मा ५६ , ६ नं. मा ४७ , ७ नं. मा ९२ ं, ८ नं. मा ४६ , ९ नं. मा १९, १० नं. मा ३०, ११ नं. मा २० , १२ नं. मा १०८ र १३ नं. १२ जना गरी जम्मा ६८५ जनाले संगठित सदस्यता नवीकरण गराएका छन् ।

सुत्रले बताए अनुसार माओवादीबाट एमाले प्रवेश गरेका ९० प्रतिशत संगठित सदस्य कार्यकर्ताले संगठित सदस्यता नवीकरण गर्न मानेनन् । त्यसैरी पहिल्यैदेखि एमाले रहेका ४६५ जना संगठित सदस्यहरुले पनि एमालेमा नरहने भन्दै सदस्यता नवीकरण गराएनन् । यता जसपा छोडेर एमाले भित्रिएका नेता द्वय शत्रुधन महतो र मनोज महतोसँग आएका २५० जनाले साधारण सदस्यता कटाएका छन् । नव प्रवेशीहरु पर्टीमा कति दिनसम्म टिकाउ हुने हुर्न हेर्न बाँकी छ । नेता महतो द्वयको प्रवेशले १३ नं. वडामा महतो जातिहरु एमालेमा ग्वारग्वार्ति पस्छन् भन्ने आशा गरिएको थियो तर त्यहाँ जम्मा १२ जनाले सदस्यता नवीकरण गराएका छन् ।

एमालेका नेता गणेश गौतम भन्छन् संगठित सदस्य घट्नु भनेको पार्टीको शक्ति कमजोर हुनु हो । यो खेलाची कुरा होइन –चिन्ताको विषय हो । नेतृत्वले यसको जिम्मा लिनुपर्छ । गोलबजार नगरपालिकामा ५३ प्रतिशत संगठित सदस्य घट्नु चोहर्वा दरवारको लोकप्रियता घट्नु हो । गौतम थप्छन् आफ्नो आदेश नमान्ने र प्रश्न गर्ने कार्यकर्ता चोहर्वा दरवारलाई चाहिएको छैन । त्यस्ताले संगठित सदस्यता नवीकरण नगराएकै राम्रो भन्ने दरवारको धारणा छ । दरवार तनाशाही प्रवृतिमा ओर्लिएको छ । नगरपालिका भित्रको कथा व्यथाले पनि कार्यकर्ताको मोह भंग भएको छ ।

किन संगठित सदस्यता घट्यो र पार्टीको लोकप्रियतामा किन कमी आयो ? दावानलको यो प्रश्नमा एमालेका युवा नेता प्रमोद लामा भन्छन् “ नगरपालिका सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीबाट प्रायजसो कार्यकर्ता रुष्ट छन् । १५ महिनामा नगरपालिकालाई जसरी सञ्चालन गरियो त्यसमा अधिकांश एमालेका कार्यकर्ताको मन कुढिएको छ । चित्त दुखेको छ । पक्षपात, काखापाखा र बरिष्टतम कार्यकर्ताहरुको उपेक्षा गरियो , भावनाले कदर गरिएन । त्यसकारण पार्टी कमजोर भएको हो । यसमा नेतृत्व सच्चिन आवश्यक छ । ”

अमुक समुदाय वा जातिका नेताहरु पार्टी प्रवेश गर्नासाथ दुईवटा सांसद पद हत्याउने तर पुरानाहरु हेरेको हेरै हुने अवस्थाले गर्दा वितृष्णा बढेको हो कि भन्ने कुरामा लामाले भने राजनीतिमा जातीय पक्षको महत्व हुँदैन तर गोलबजार नगरपालिकामा एमाले कमजोर हुँदै गएकोमा घटना परिघटनाले तपाईँले प्रश्न गर्नुभए तर्फ नै संकेत गर्छ ।

स्मरण रहोस् नयाँ समुदायका नेताहरुको आगमन र पद हत्याउनुले माओवादी छाडेर आएका खासगरी तामाङ्ग समुदायका नेताहरुको मन दुखेको एमाले वृत्तमा चर्चा छ । नेतृत्वले पनि पुरानाहरुको उपेक्षा गरेको र नयाँलाई तेल घसेको आरोप लाग्दै आएको छ । खासगरी चोहर्वा दरवारले धर्मपुरका तामाङ्ग समुदायका वयोवृद्ध एमाले नेताहरुको मानमर्दन गरेको घटनाले तामाङ्ग समुदायको छुट्टै भेला भएर छलफल भएको बुझिएको छ । नेतृत्वले नयाँ समुदायका नेताको प्रवेश पश्चात पुरानालाई वास्ता गर्न छाडेको दुखेसो पोख्दै आएका छन् ।

एमालेका अर्का नेता रामस्वरुप महतो भन्छन् चोहर्वा दरवार आफ्नै पार्टी भित्र गुट बनाएर एउटा पक्षलाई हातमा लिने र अर्को पक्षलाई पेल्ने रणनीतिमा ओर्लिएको छ । एमालेको लालकिल्ला मानिने वडा नं. २ मा नेतृत्वले एक पक्षलाई उचालेर अर्को पक्षको हुर्मत लिने कार्य गरेको उनले आरोप लगाए । संग्रामपुर र गुरुधाम दुई कित्ता हुने र टुरकियालाई विभाजन गरेर कहिले यो पक्ष बलियो हुने कहिले अर्को पक्ष बलियो हुने अभ्यास चलिरहेको छ । पार्टी भित्रको यो अस्वस्थ प्रतिस्पर्धाको सुत्रधार चोहर्वा दरवार भएको उनको आरोप छ । महतोले भने – एमालेको संगठित सदस्यता घट्नुमा नगरपालिका सञ्चालन शैलीले कार्यकर्तालाई रुष्ट बनाउनु हो ।

एमालेकै अर्का नेता किरण लामा भन्छन् भन्छन् समुच्चा नगरपालिकामा कर्मचारीतन्त्रको रजगज छ । परिवारतन्त्र हावी छ । नगरपालिकामा लुटतन्त्र छ । यसको नकारात्मक असर पार्टीमा परेको छ । चोहर्वा दरवारले आफ्नै सहजादालाई आगामी निर्वाचनमा मेयरको रुपमा अघि सार्ने चर्चा चलाए के काम ? पार्टी नै कमजोर भएपछि । राजनीतिमा भविष्य खोज्ने अन्य कार्यकर्ता किन र कसरी पार्टीमा टिक्ने ? उनले प्रतिप्रश्न गरे । त्यसकारण पनि पार्टीमा नैराश्यता बढेको छ भन्दै लामाले समग्रमा एमाले गोलबजार नगरपालिकामा अधोगतिमा लम्किएको छ । यसको जिम्मा नेतृत्वले लिनुपर्छ भने ।


प्रकाशित : २०८० श्रावण ६ शनिबार