अर्जुन थपलिया
“गोलबजार नगरपालिका कार्यालय कोभिड अस्पतालमा सार्ने तयारी ” शीर्षकको समाचार दावानल डटकममा प्रकाशित भएको एक घण्टा पछि मेयर श्याम कुमार श्रेष्ठले मलाई फोन गर्नुभयो । उहाँको भनाई थियो नगरपालिका सार्ने समाचार असत्य हो । नगरपालिका सार्ने कुनै तयारी गरिएको छैन । उहाँले भन्नुभयो यो समाचार प्रकाशित गर्नु अघि मसँग प्रतिक्रिया लिनु पथ्र्यो । मेयर श्रेष्ठले भन्नुभयो मलाई किन सोध्नु भएन ? त्यसैगरी उहाँले गोलबजार नगरपालिकाको विरुद्धमात्र किन लेख्नु हुन्छ , अरु पालिकाहरु पनि छन् नी ! अन्त्यमा उहाँले भन्नुभयो प्लिज अर्जुन जी मलाई यसरी नलखेट्नुस् । म ज्जस्तो सोझो मान्छे । तपाईँलाई पाप लाग्छ । तपाईँलाई पनि जनताले चिनेका छन् मलाई पनि चिनेका छन् ।
मेयर साहवको अन्तिम कारुणिक उदगारले मलाई दुखी र द्रवित बनायो । म निकै गम्भीर भएँ । मैले उहाँलाई भने मेयर साहवसँग मेरो कुनै शत्रुता वा पूर्वाग्रह छैन । दुई जना वडाध्यक्षहरुको अन द रेकर्ड भनाइ लिएपछि मात्र मैले यो समाचार प्रकाशित गरेको हुँ । कतिपय भित्री सुत्रहरुले पनि मलाई सूचना दिएका छन् । पत्रकारिताको धर्म अनुसार मैले गोप्य सुत्रको परिचय खुलाउन मिल्दैन । तर दुई जना वडाध्यक्षहरुले निरपेक्ष झुट बोलेका होइनन् भन्ने कुरामा म विस्वस्त छुँ ।
कोभिड अस्पताल भित्र प्रदेश सरकारको सहयोगमा प्राप्त रसायन र स्वास्थ्य उपकरणसहित ल्यावरोटरी खोलिएको थियो । नगरपालिकाको कार्यालय सार्नैका लागि त्यहाँबाट ल्यावरोटरी अन्यत्र सार्न लगाइएको भन्ने समाचार सुत्रको दावी छ । आगो नबली धुँवा निस्कदैन । स्वास्थ्य ल्यावरोटरी किन कोभिड अस्पताल परिसरबाट सार्ने तारतम्य गरियो ? निश्चय पनि शंकाको सुईले समाचारको सत्यता पुष्टी गर्दछ ।
अर्को मुख्य आधार के छ भने चुनाव जितेको १५ महिना नाघ्यो । तर नगरपालिकाका लागि निर्मित नयाँ भवनको बाँकी निर्माण कार्य सम्पन्न गर्ने वा त्यस भवनमा भएको विवाद सुल्झाउने वा त्यहाँ नगरपालिकाको कार्यालय सञ्चालन गर्नेतर्फ मेयर साहवको शासन प्रशासनले सिन्को पनि भाँचेको छैन । यसको कारण के हो ? यसबाट पनि नगरपालिकाको कार्यालय नवनिर्मित भवनमा नलैजाने नियत प्रष्ट हुन्छ । तीन तलासम्म त उक्त भवन विवादरहित र मजवुत नै छ । माथिल्लो तला मात्र न विवादित हो ।
मेयर साहवले नगरपालिका कोभिड अस्पताल परिसरमा सार्नुपर्छ र नयाँ भवन विवादित भएकोले त्यहाँ नजाने भनेर चर्चा वा विमर्श गर्नुभएको आधा दर्जन महानुभावहरुसँग मैले सोधेको छु । उहाँहरुले मेयर साहवले अनौपचारिक छलफल थाल्नु भएको बताउनु भएको छ । उहाँहरुको भनाई म क्रमश उल्लेख गर्दै जाउँला । मैले लेखेको समाचार निराधार र कपोलकल्पित छैन भन्ने कुरामा म दृढ छु । मेरो पत्रकारिता पेशा सत्ता र सत्तासिनका लागि जहिले पनि आँखाको तारो बनिरहेको छ । तर मूल्याङ्कन गर्ने र निर्णय दिने त जनता नै हुन् । जनताको मूल्याङ्कनको कसीमा म परीक्षण हुन तयार छु । पेशागत कर्तव्यपालनको कारण पापको भागिदार भइएछ भने ठीकै छ ।