
गोलबजार÷अर्जुन थपलिया
धमिनी मन्दिर परिसरमा रहेको गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय मैनावत्ती नदीको पश्चिम किनारमा रहेको कोभिड अस्पतालको नाममा निर्माण गरिएको भवनमा सार्ने तयारी गरिएको छ । मैनावत्ती पूर्वका खासगरी गोलबजार क्षेत्रका जनताले रोक्ने वा प्रतिवाद गर्ने भयले अत्यन्त गोप्य ढंगले कार्यालय सार्ने रणनीति बनाइएको दावानललाई सुत्रहरुले बताएका छन् । रणनीति अनुसार पहिलो चरणमा विषयगत शाखाहरु सार्ने योजना बनाइएको छ । तत्पश्चात नगर प्रमुख , उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्षहरु क्रमश फर्निशिङ्ग गरी तयार पार्ने र कार्यकक्ष तयार भएपछि उत्रै हाजिर भएर कामकाज थाल्ने योजना बुनिएको छ । कागज पत्रहरु प्रहरीको सहयोगमा बिस्तारै सार्दै जाने नीति लिइएको छ । २०८० सालको दशैं अघि नै नगर कार्यपालिकाको कार्यालय कोभिड अस्पतालमा स्थापना र सुसञ्चालन गरीसक्ने योजना बनाइएको छ । विषयगत शाखाहरु साउनदेखि नै एक –एक गरेर सार्दै जाने आदेश गरिएको छ ।
यस प्रसङ्गमा गोलबजार नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण गौतमसँग बुझ्न खोज्दा उनले भने , “ मैले त मेयर साहवलाई भनिदिएको छु बरु म बोरा ओछ्याएर नगरपालिकाका लागि बनाइएको नयाँ भवनमा बस्छु तर मैनावत्ती पारी कोभिड अस्पताल परिसरमा जाँदिन । ” मेयर श्यम कुमार श्रेष्ठको भनाइ उद्धृत गर्दै वडाध्यक्ष गौतमले भने , “ उहाँ ( मेयर ) भन्नुहुन्छ त्यो नयाँ भवन विवादै विादमा छ । त्यो भवनको डिपिआर फेला परेको छैन । माथि चौथो तलाको छत कमजोर भयो भनेर अख्तियारमा उजुरी छ । त्यो झन्झटमा म पर्दिन । धमिनी मन्दिर परिसरमा स्थानाभाव छ । म नगरपालिका कोभिड अस्पतालका लागि निर्माण गरिएको भवनमा लैजान्छु । नगरपालिका कार्यालय नै गोलबजारबाट सार्ने संवेदनशील विषयमा तानावाना बुनिएको थाहा पाएपछि तपाईँले किन गोलबजारका बासिन्दालाई सूचना नदिएको भनेर प्रश्न गर्दा वडाध्यक्ष गौतमले कार्यालय सार्ने विषयमा आफूले विरोध गर्ने बताए ।
नगर कार्यापालिकाको कार्यालय सार्ने विषयमा वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंहले भने मैले त मेयर साहवलाई यो नहुने र नचाहिँदो कार्य नगर्नुस् , जनताको विरोध थेग्न सक्नु हुन्न भनिसकेको छु । तर उहाँले यो आर्थिक वर्ष भित्रै नगरपालिकाको कार्यालय सार्ने योजना गर्नुभएको छ । औपचारिक निर्णय भएको छैन तर अनौपचारिक रुपमा नगर कार्यपालिकाका सबै सदस्यलाई नगर प्रमुख श्रेष्ठले मनाउन पैरवी थाल्नु भएको छ । हामीले हुन्न भनेका छौं ।
सुत्रले बताए अनुसार मेयर श्रेष्ठले अहिले कोभिड अस्पताल परिसरमा नगरपालिका सार्ने र क्रमश आन्तरिक श्रोतबाट चोहर्वा बयलहट्टा क्षेत्रमा अर्को कार्यालय भवन निर्माण गर्ने लक्ष्य लिएका छन् । नगरपालिकाको कार्यालय मैनावत्ती पश्चिम चोहर्वामा सार्न चोहर्वा पश्चिमका वडाहरुमा जनताको समर्थन लिन संगठित गर्ने कार्य पनि सुरु भएको छ ।