एक पटक खनिसकिएको फन्डिसन ( जगको खाल्टो ) आम अभिभावकहरुले पुरपार पारिदिए पछि आधारभूत विद्यालय धर्मपुरको भवन निर्माण कार्य रोकिएको थियो । आम भेला बोलाएर विवाद साम्य पारेर भवन निर्माण कार्य थाल्ने सहमतिलाई लत्याएर मेयर श्याम कुमार श्रेष्ठ , उपमेयर मान्ती साह र वडाध्यक्ष उपेन्द्र कुमार मुखियाले पुनः भवन निर्माण कार्य थालेपछि धर्मपुरमा तनाव सृजना भएको छ । घटना विवरण अनुसार जेठ २१ ग्ते उपमेयर मान्ती साह धर्मपुर गएर विद्यालय भवनको शिलान्यास गर्नुका साथै जग खन्ने कार्य गरे गराएपछि धर्मपुरका बासिन्दाहरु आक्रोसित बनेका छन् । जेठ २२ गते स्थानीय महलिा तथा पुरुषहरु एकत्रित भएर जगको खाल्टो पुर्ने तरखर गरेपछि त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
ध्र्मपुरका नर नारीहरुले कोदालोसहित भेला भएका थिए । बलपूर्वक र स्थानीय अभिभावकहरुको चाहना विपरीत खनिएको जग पुर्ने उनीहरुको निधो थियो । बल प्रयोग गरेर भएपनि भवन निर्माण कार्य थाल्ने वडाध्यक्ष उपेन्द्र मुखियाको जिद्दीले तनावको स्थिति पैदा भएको थियो । तर प्रहरीको समन्वयकारी हस्तक्षेप र द्विपक्षीय सम्वाद गराउने पहलकदमीले हिंसा हुन पाएन । २२ गते जेठ दिउँसो गोलबजार नगरपालिकामा भएको छलफलमा रैथाने जनताको भावनाको कदर गर्नुपर्ने कुरामा मेयर श्रेष्ठले सहमति जनाएपछि २६ गते जेठसम्मलाई निर्माण कार्य स्थगित भएको छ ।
धर्मपुरका नेपाली कांग्रेसका नेता देब कुमार लामाका अनुसार हिजो भएको छलफलमा मेयर श्रेष्ठ समक्ष बासिन्दा तथा अभिभावकहरुले पाँचवटा सर्त अघि सारेका छन् । आमभेला बोलाएर विद्यालय व्यवस्थापन समितिको पुनर्गठन , आमभेलाबाटै विद्यालय भवन निर्माण उपभोक्ता समितिको गठन, प्रधानाध्यापक माथि बक्यौता रहेको ६ लाख रकमको बरबुझारथ , विगतमा निर्माण भएको भवनको हरहिसाब पारदर्शी गर्ने र फछा्र्यौट गर्ने तथा पुरानो अधुरो भवनकै निर्माण कार्य सम्पन्न गर्ने । देव कुमार लामाका अनुसार छलफलबाट २६ गतेसम्मलाई निर्माण कार्य थाति राखेर आम सहमति गरेर मात्र निर्माण कार्य थाल्ने निर्णय गरिएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा सोही विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आएको १८ लाख बजेट खर्च गरेर निर्माण गरिएको भवन अधुरो अवस्थामा छ । स्थानीय अभिभावकहरु भन्छन् – पहिलेको अधुरो भवनको निर्माण कार्य नै पूरा गरिनु पर्छ । तर वडाध्यक्ष उपेन्द्र मुखियाले यस आर्थिक वर्षमा आएको बजेटले नयाँ भवन बनाउने अड्डी लिएका छन् । वडाध्यक्ष स्वयं आफै विद्यालय व्यवस्थापन समितिको पनि अध्यक्ष भएकोले नयाँ भवन निर्माण कार्यको जिम्मेवारी पनि आफैले लिएका छन् । उनले भवन निर्माण कार्य थाल्नु अघि सरसल्लाह नगरेको पनि स्थानीय अभिभावकहरुको गुनासो छ ।
विवाद सृजना भएको लगभग एक महिना बितेको छ । यस घटनामा स्थानीय एमालेका नेताहरुले मेयर श्याम श्रेष्ठलाई भेटेर पटक पटक आग्रह गरेपनि कुनै सुनुवाई नभएको र मेयर श्रेष्ठले एकपक्षीय रुपमा वडाध्यक्षको पक्षपोषण गरेको दुखेसो पोखेका छन् । मेयर श्रेष्ठले झन् झन् अल्झिएर गुजुल्टो परेको समस्याको पोको समाधान गर्न सकेका छैनन् ।
वयोवृद्ध समाजसेवी तथा अगुवा व्यक्तित्व सुकबहादुर लामा भन्छन् , “ मेयर श्याम श्रेष्ठ र सांसद लीलानाथ श्रेष्ठले धर्मपुरमा जनता जुधाउने उद्योग गरेका छन् । एक पटक सबै दलबाट प्रतिनिधि पठाउनुस् अर्को निर्माण समिति गठन हुन्छ भनेर सहमति गरियो तर त्यसलाई पनि मान्यता दिएनन् । ” अहिले बल प्रयोग गरेर भवन निर्माण गराउने षडयन्त्र गरेको देखिन्छ । आफ्नै पार्टीका कार्यकर्ताहरुको हुर्मत लिने काम पनि भइरहेको छ ।
विशेष सुत्रले जानकारी दिए अनुसार एमाले सांसद लीलानाथ श्रेष्ठले माओवादीका स्थानीय नेता कृष्ण कुमार लामालाई भेटेर धर्मपुरको समस्या समाधान र गोलबजार नगरपालिका सञ्चालन गर्न आफ्ना भाइ मेयर श्याम कुमार श्रेष्ठलाई सहयोग गर्न आग्रह गरेका छन् । सांसद श्रेष्ठकै शब्द उद्धृत गर्दै सुत्रले भने , “ अब श्यामले नगरपालिका चलाउन सक्दैन , तपाईले सुझाव , र साथ सहयोग दिनुहोला । ” यता राजनीतिक रुपमा श्रेष्ठतम परिवारसँगको सामीप्यता र साँठगाँठ देखेर लामाको मातृ पार्टी भित्र पनि उनको अतीतदेखिको ( चुनाव ताकाको ) भूमिकामाथि प्रश्न उठेको एक माओवादी कार्यकर्ताले दावानललाई बताएका छन् ।
एक पछि अर्को विवाद थपिदै जाने र गोलबजार नगरपालिका समस्याको भूमरीमा परेर विकास निर्माणका कामहरु अवरुद्ध हुँदै जाने क्रम बढेपछि सांसद लीलानाथ श्रेष्ठले दिक्दारी व्यक्त गरेको बुझिएको छ । तर सांसद श्रेष्ठको भनाइ प्रति एमालेका कार्यकर्ताहरु भने क्षुब्ध भएका छन् । एक कार्यकर्ताले नाम उल्लेख नगर्ने सर्तमा दावानललाई बताए अनुसार समस्या समाधान गर्न पार्टी पंक्तिलाई नभनेर फरक पार्टीका लामालाई आग्रह गरिनुले हाम्रो मन दुखेको छ । आफ्ना कार्यकर्तालाई विश्वास नगर्ने तर अर्को पार्टीका कार्यकर्तालाई नगरपालिका सञ्चालनका लागि सल्लाहकारको भूमिका खेल्न आग्रह गर्नु अक्षमता प्रकट गर्नु हो ।
त्यसो त मेयर कप फुटबलको उद्घाटन सत्रमा मञ्चमा आसिन मेयर श्रेष्ठले आडैमा बसेका नेपाली कांग्रेसका नेता लालबाबु साहलाई हसी मसखरीको शैलीमा भनेको कुरा पनि एमाले वृत्तमा अहिले चर्चा चुलिएको छ । मेयर श्रेष्ठले पूर्व मेयर देवनाथ साहतर्फ देखाउँदै भनेका थिए , “ उहाँको पालो पनि पुग्यो , अब म पनि लडदिन चुनाव । अब तपाईकै जित्ने पालो हो । तयारी गर्नुस् । ” मेयर श्रेष्ठको भनाइ सुनेर साह मुस्कुराएका थिए । एमाले कार्यकर्ता माझ अहिले चर्चा छ – श्याम श्रेष्ठ आगामी चुनाव नलडे पनि पार्टीका अन्य कार्यकर्ता त छन् नि ! आगामी मेयरका लागि लालबाबु साहलाई जिम्मा लगाउने उनलाई कसले अधिकार दियो ?