ग्राभेल तस्कर तथा प्रहरी प्रशासन बीचको अन्योन्याश्रय सेटिङ्गबाट प्रताडित समाजमा बिचरा गोपाल प्रसाद बगाले

[sharethis-inline-buttons]

अर्जुन थपलिया

सिरहा जिल्लामा १७ वटा स्थानीय तह रहेका छन् । त्यस मध्ये धनगढीमाई नगरपालिकाको एउटा अलग विशिष्ट विशेषता छ । यस पालिकामा भौतिक निर्माणका लागि प्रयोग हुने गिटी,बालुवा र ग्राभेल प्राकृतिक श्रोतको रुपमा प्रचुर मात्रामा उपलब्ध छ । प्राकृतिक श्रोत गिटी,बालुवा र ग्राभेलको उपलब्धता यस पालिकाको लागि एक अर्थमा वरदान सावित भएको छ भने अर्को अर्थमा अभिशाप भएको छ । अपार प्राकृतिक श्रोतको रुपमा गिटी बालुवा र ग्राभेलको उपलब्धताले स्थानीय सरकारको आमदको श्रोत बढाएको छ । यसर्थमा यसलाई वरदान मान्न सकिन्छ । तर उपलब्ध प्राकृतिक श्रोतको अनियन्त्रित दोहन गरेर अकुत धन कमाउन चाहनेहरुका लागि यो पालिका लुटको स्वर्ग जस्तै भएको छ । गैर कानुनी र मापदण्ड विपरीत ग्राभेल खानी र कथित क्रसर उद्योग सञ्चालनले वातावरणको अविवेकी विनाश गरिरहेको छ । सिंगो पालिका भित्र हजारौ हजार वडेमाको खाडल बनेको छ । अनियन्त्रित उत्खनन्ले पर्यावरणलाई अपूर्णिय क्षति भएको छ । गाउँ बस्ती वरपर खानीले सृजना गरेको खाडल बालबालिका तथा पशुधनका लागि मृत्युमय धराप बनेको छ । भूमिगत जलसतह निरन्तर तल भास्सिदै गएको छ । ठाउँ ठाउँमा पहिरो जाने सम्भावना बढेको छ । तर बाहुवल प्रयोग गरेर राजनीतिक संरक्षणको आडमा प्राकृतिक श्रोतमाथि गिरखेल्नेहरुका लागि गिटी, बालुवा र ग्राभेल गाजरको हलुवा जस्तै गुलियो , मिठो तथा सुस्वादु आहार बनेको छ । समाजमा तस्करी फस्टाएको छ । बाहुबली संस्कृति संस्थागत भइरहेको छ । गिटी बालुवा र ग्राभेलमाथि आधिपत्य स्थापित गर्न संगठित अपराध गर्ने बाहुबली गिरोह र आपराधिक समूहहरु खडा गरिदै छ । यही गतिमा गिटी, बालुवा र ग्राभेल खानीमाथि प्रभुत्व र नियन्त्रण कायम गर्ने समूहहरु सकृय हुँदै जाने हो भने एक दिन रुवाण्डामा हीरा खानीमाथि नियन्त्रण गर्न विभिन्न युद्ध सरदारहरुले एके ४७ राइफल सहितको सैन्यदस्ता खडा गरे जस्तै स्थिति नआउने भन्न सकिन्न । पर्यावरणीय विनाशले पालिका भित्रका थुप्रै मानव बस्ती बसाईँ सर्नुपर्ने बाध्यता त अवश्यम्भावी छ ।

कुनै पनि प्राकृतिक श्रोतको उपयोग गर्दा विपदा ननिम्तिने गरी , प्रकृति विनाश नहुने गरी , उत्तराधिकारबाला पुस्ताका लागि पनि रहने गरी, सधैका लागि नमासिने गरी , संयमित, सतत् र अविच्छिन्न उपयोग गर्ने तारतम्य मिलाउनु पर्छ । त्यस वाहेक मानव बस्ती र समाजलाई पर्यावरणीय हानी नोक्सानी नहुने गरी र कानुनले तोके बमोजिम सरकारी राजस्व हिनामिना नहुनेतर्फ पनि स्थानीय सरकारले नियमन गर्नै पर्छ । त्यसका लागि कानुनले निश्चित मापदण्ड र कार्यविधि तोकिदिएको छ । तर प्राकृतिक श्रोत गिटी , बालुवा र ग्राभेलको गैर कानुनी , अनियन्त्रित र तस्करी सरहको दोहन गरेर धन आर्जन गर्ने समूह र स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न चाहने समाज बीच द्वन्द्व सुरु भएको छ । सरकारी तथा सार्वजनिक सम्पत्तिको रुपमा रहेको गिटी, बालुवा र ग्राभेल उत्खनन्को नियमन गर्न खोज्ने सरकारी निकाय र अवैध ग्राभेल खानी तथा बिना अनुमति मापदण्ड वपरीत सञ्चालन गरिएका कथित क्रसर उद्योगीहरु बीच भिडन्त नै सुरु भएको छ । यसले समाजमा शान्ति सुरक्षा तथा अमन चयनमा खलल पार्ने ज्यादै डरलाग्दो अवस्थाको ृसजना भइरहेको संकेत गरेको छ ।

गत बैशाख १५ गते धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले माथि उनको कार्यकक्षमै हातपात र दुव्र्यवहार गरियो । बेचन शर्मा, महेश अधिकारी र राम एकवाल यादव सहित ५–७ जनाको समूहले अधिकृत बगालेलाई कार्यकक्ष भित्रै पसेर पानीको बोतल प्रहार गरेर हुलहुज्जत गरे । उनको तेजोबध गर्ने , अपमान गर्ने र उनलाई भयआतुर बनाएर उनको मनोबल तोड्ने प्रयास गरे । सरकारी अधिकृतलाई कर्तव्यपालन गर्न कुर्सीमा बसेकै बेला हिंसात्मक कृत्य गरेर मानव अधिकार हनन् गर्ने समूहमा अरु कोही नभएर गिटी, बालुवा र ग्राभेलबाटै धन आर्जन गर्ने व्यक्तिहरु थिए ।

अधिकृत बगाले माथिको आक्रमणको मात्रा घाउ खतबाटै मापन गर्ने हो भने उनी सुरक्षित रहेको मान्नु पर्छ । उनलाई घाउ खत लागेन । तर घटनाको कारण र कारक व्यक्ति तथा समूहको दुस्साहास, अपराध गर्ने शैली , प्रकृति र त्यसले सामाजिक मनोविज्ञानमा पार्ने असरको संवेदनशीलतातर्फ बिचार गर्ने हो भने यो घटनाले डरलाग्दो भविष्यको संकेत गर्छ । एउटा अधिकृत स्तरको सरकारी अधिकारीलाई त कार्यकक्ष भित्रै हुर्मत लिने समूहले भोलिका दिनमा स्वच्छ वातावरणको माग गर्दै गिटी,बालुवा र ग्राभेलको गैर कानुनी दोहनमा प्रश्न उठाउँदा सिधै गोली हान्न सक्छन् भन्दा अतिशोयुक्ति नहोला । झन् यस घटनामा देखिएको राजनीतिक संलग्नता र संरक्षकत्वले सुशासन तथा अमन चयन चाहने समाजलाई अत्याउने स्थिति पैदा गरेको छ । त्यसैगरी स्थानीय प्रहरी तथा जिल्ला प्रशासनको उदासीनता र फितलो शान्ति सुरक्षाको प्रवन्धन माथि पनि प्रश्न उठाउने प्रसस्त ठाउँ दिएको छ ।

गाउँ घरमा जाँड खाएर होहल्ला गर्ने , प्रहरीसँग सार्वजनिक स्थलमा ठाडो र ठूलो स्वरले कराएको सामान्य कसुरमा अभद्र व्यवहारको दफा लगाएर कम्तीमा २ हप्ता थुनामा राखेको र २०÷३० हजार धरौटीमा रिहा गरेर वर्ष दिनसम्म तारेखमा राखेको अनगिन्ती उदाहरण सिरहामै देख्न सकिन्छ । तर सरकारी अधिकारी (अधिकृत) बगालेमाथि कार्यकक्षमै हुलहुज्जत गर्नेहरुलाई पक्राउ गर्न र मुद्दा चलाउन प्रहरी र प्रशासनले आवश्यक ठानेन । यस प्रसंगमा दुई अक्षरको शब्द “ किन ” भनेर प्रश्न गर्नुस् र उत्तर खोज्दै जानुस् । स्थानीय प्रशासन र प्रहरीको भ्रष्ट र निकम्मापन उजागर हुनेछ । अपराधलाई राजनीतिक संरक्षण र राजनीतिको अपराधीकरण जस्ता पाटोहरु खुल्दै जानेछ । तस्करहरुद्वारा गिटी, बालुवा र ग्राभेलबाट उत्पन्न गरिएको द्रव्यले राजनीतिकर्मीहरु पनि पालिएको प्रष्ट देखिन्छ । तस्करहरुसँग प्रहरी र स्थानीय प्रशासनको सेटिङ्ग रहेको खुलासा हुन्छ । तस्करहरुको जालो र तानाबाना धेरै बलियो रहेको ज्ञात हुन्छ । स्थानीय प्रहरी, प्रशासन र राजनीतिक नेतृत्व गिटी बालुवा र ग्राभेल तस्करहरुको गोजीमा कैद रहेको प्रष्ट हुन्छ ।

अधिकृत बगाले माथि गरिएको दुव्र्यवहार अन्नतः सामाजिक छलफलको नाटकीय आयोजन÷ मञ्चन गरेर फरफारक गरियो । अपराधपूर्ण हिंसा गर्नेहरुले मादक पदार्थ सेवन गरेको बेला सुद्दी हराएर घटना घट्यो भन्दै माफी मागे पछि खतबातबाट उन्मुक्ति पाए । तर यहाँ एउटा प्रश्नको जन्म भयो । यो घटना सामाजिक भेलाबाट निरुपण गर्ने सवाल थियो कि कानुनी कारवाही गर्ने मुद्दा थियो ? स्थानीय प्रहरी प्रशासनले मापन गर्ने वा छुट्ट्याउने कुनै मानक त होला नि ! सरकारी अधिकारीमाथि कार्यकक्षमा प्रहार भएको यस्ता घटनाहरु सामाजिक छलफलबाट माफी मागेर मिलाउँदै जाने हो भने यसले दण्डहीनतालाई प्रश्रय दिन्छ । धनगढीमाईको यो घटनाले एउटा गलत सामाजिक नजिर र परम्परा बसालेको छ र सामाजिक मनोविज्ञानमा यसले दुरगामी नाकारात्मक असर पर्ने छ ।

मैले चिने बुझेसम्म अधिकृत बगाले अन्तरमुखि स्वभावका व्यक्ति हुन् । अपमानको आगोले डाम्दा हुने पीडाको मर्मस्पर्शी उनी आफै हुन् । उत्पन्न भएको मानसिक तनावलाई उनले क्षमाशील हुँदा प्राप्त हुने आनन्दले मेटाएका होलान् । तर समाजमा एउटा शंका भने व्याप्त छ । नगर प्रमुख शिव संकर महतोले देखाएको घटना प्रतिको उदासिनता र न्याय दिलाउन गरिएको अस्वभाविक ढिलाईको कारण के होला ? यस घटनामा महतोले खेलेको नकारात्मक वा सकारात्मक भूमिका पर्याप्त थियो कि थिएन ? परत परत उधिन्नु समयको काम हो ।

 


प्रकाशित : २०८० जेष्ठ १८ बिहीबार