गोलबजार नगरपालिकामा विकास आयोजनाहरु भद्रगोल वडाध्यक्षले खनेको विद्यालय भवनकोे जग गाउँलेले पुरिदिए

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका वडा नं. १० स्थित धर्मपुर गाउँमा रहेको श्री आधारभूत विद्यालय धर्मपुरको भवन निर्माणमा भएको विवादले चरम रुप लिएको छ । वडाध्यक्ष उपेन्द्र मुखिया र प्रधानाध्यापक मधुराम महतोले भवन निर्माणका लागि खनाएको जग ( फन्डिसन ) स्थानीय अभिभावकहरुले पुरपार गरिदिएका छन् । अभिभावकहरुले भवन निर्माण कार्य रोक्का गरिदिएका छन् । भवन निर्माण कार्यमा विवाद हुँदा नेकपा एमालेको वडा कमिटी र वडाध्यक्ष बीच पनि विवाद चुलिएको छ ।

घटना विवरण अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गोलबजार नगरपालिकामार्फत आएको २२ लाख रुपैयाँ आधारभूत विद्यालय धर्मपुरको भवन निर्माण गर्न विनियोजन भएको थियो । भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिले अभिभावकहरुसँग छलफल र अन्तरक्रिया गरेनन् । वडाध्यक्ष उपेन्द्र मुखिया स्वयं नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि छन् । सदस्य सचिव प्रधानाध्यापक मधुराम महतो हुन् । वडाध्यक्ष र प्रअ मिलेर भवन निर्माणको तारतम्य मिलाए तथा छुट्टै उपभोक्ता समिति गठन नगरी विद्यालय व्यवस्थापन समितिले नै भवन निर्माण कार्य सम्पन्न गर्ने भन्दै अघि सरे । रड सिमेन्ट खरिद गर्नुका साथै विद्यालय परिसर भित्र भवनका लागि स्काभेटरले जग खन्न लगाए ।

धर्मपुरका अभिभावक तथा गाउँलेहरु कसैसँग सरसल्लाह नगरी अभिभावक बैठक नबोलाई एक्कासी भवनको जग खनेको देखेर झस्किए । स्थानीय बासिन्दाहरुले प्रअ महतोलाई अभिभावक भेला बोलाएर छलफल गर्न र सहमती गरेर मात्र निर्माण कार्य थाल्न अनुरोध गरे । नेकपा एमाले वडा कमिटी अध्यक्ष सुरेश कुमार लामा भन्छन्, – स्थानीय अभिभावकहरुको अनुरोध लत्याएर प्रअ र वडाध्यक्षले जबरजस्ती भवन निर्माण थालेपछि हामीले खनिसकेको जग पुरिदिएका हौं । लामा भन्छन् , ‘ हामीले प्रअलाई अनुरोध गरिरहँदा वडाध्यक्ष नजिकै आउनुभयो तर कसैलाई नबोलाई कुनै वास्ता नगरी हिँड्नुभयो । हामी एउटै पार्टीमा छौं तर विद्यालयमा मनपरीतन्त्र त गर्न दिनुभएन – लामाको कथन छ । भवन निर्माण रोकिएपछि पनि वडाध्यक्षले अभिभावकहरुसँग छलफल गर्न आवश्यक ठान्नुभएन । उल्टो प्रहरी बोलाएर बलपूर्वक निर्माण कार्य थाल्ने दुस्साहस गर्नुभयो । केही लफङ्गाले काम रोकेको भनेर प्रचार गर्नुभएछ । हामी यहाँका अभिभावकहरु लफङ्गा होइनौं । म पनि एमालेको वडा कमिटी अध्यक्ष हो ।

अर्का स्थानीय देब कुमार तामाङ्ग भन्छन् , “ त्यो विद्यालय सबैको हो । प्रअ र वडाध्यक्षले मात्र मनोमानी गर्न मिल्दैन । बजेट आएपछि अभिभावकहरुसँग राय सल्लाह गर्नुपर्छ । गत वर्ष निर्माण गरिएको भवन अधुरै छ । त्यही अधुरो भवनलाई पूरा गर्नुपर्छ । एउटालाई अधुरो राखेर फेरि अर्को अधुरो भवन बनाउनु उचित होइन । त्यसकारण हामीले रोकेका हौं । तामाङ्गले भने पहिलेको भवनको हरहिसाब पनि फछ्र्यौट भएको छैन ” । प्रअले ६ लाख रुपैयाँको फरफारक गर्न बाँकी नै छ । हामी अभिभावकको कथन छ पहिलेको हिसाब देखाउ र अधुरो भवनलाई पूरा गराउँ ।

अर्का अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य छोटेलाल मोक्तान भन्छन् , ‘ वडाध्यक्ष उपेन्द्र मुखिया स्वयं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । मैले उहाँलाई समितिको बैठकमा अभिभावक भेला बोलाएर उनीहरुको राय सल्लाह लिन आग्रह गरेको थिएँ । तर उहाँले माथिबाट परिपत्र छ । समितिले नै भवन निर्माण गर्नुपर्छ भनेर जिद्दी गर्नुभयो ’ । त्यसपछि मैले भोलिका दिनमा विवाद आयो भने तपाईँहरु जिम्मेवार हुनुपर्छ भनेर आएँ ।

स्थानीय अभिभावक भोलामान लामा भन्छन् , “ पुरानो कामको हिसाब पारदर्शी हुनु प¥यो र नयाँ काम गर्न अभिभावकसँग छलफल हुनुपर्छ । यहाँ त नीति अनुसार नचल्ने व्यक्तिको हैकम चल्ने भयो । त्यसकारण काम रोकेका हौं । ”

अभिभावक रेश कुमार लामाले वडाध्यक्ष र प्रअको मनपरीले विद्यालय बर्बाद हुनेभयो भनेर आफूहरुले खनेको जग पुरिदिएको बताए । उनले भने एउटै व्यक्ति वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अनि भवन निर्माण समितिको अध्यक्ष पनि हुन मिल्छ ? अभिभावकको भेला गराएर सहमती लिनु पर्छ । पुरानो भवन अधुरै छ । अहिले आएको २२ लाख बजेटले नयाँ भवन बनाउँदा पुनः अधुरै रहन जान्छ । अनि अधुरो भवन बनाउँदै छाड्दै गर्ने ? विद्यार्थी कहाँ बसेर पढने हो त ? लामाले प्रश्न गरे ।

यस सम्बन्धमा प्रअ मधुराम महतोसँग सोध्दा उनी भन्छन् , विद्यालय व्यवस्थापन समितिको अधिकार छ – आफैले निर्माण कार्य गर्न सक्छ । अभिभावक भेला बोलाउने वा छुट्टै उपभोक्ता समिति बनाउन पर्दैन । कानुन बमोजिम नै काम गरिएको हो । प्रअ महतो भन्छन् राजनीतिक विवाद मिलाउने काम वडाध्यक्षको हो । म विद्यलाय व्यवस्थापन समितिको सदस्य सचिव भएको हैसियतले कानुन बमोजिम काम गरिरहेको छु ।
प्रअ महतो भन्छन् “पुरानो हिसाब फछ्र्यौट गरि फरफारक दिन मैले पटक पटक नगरपालिकामा अनुरोध गरें । तर नगरपालिकाका हाकिम तथा प्राविधिकले मान्दैनन् । भवन निर्माणको कार्यादेश ल्याउ भननुहुन्छ । पहिलेका हाकिमले बजेट ग्रान्ट दिएपछि कार्यादेश चाहिदैन भन्नुभयो । हामीले काम ग¥यौं । बजेट निकासा दिएर काम भइसक्यो अब फछा्र्यौट गर्न मान्दैनन् । पुरानै इन्जिनीयर र हाकिमलाई भन भन्छन् । सरकार भनेको निरन्तर उत्तरदायित्वको अविच्छिन्नता र निरन्तरता हो । एउटा हाकिम सरुवा भयो भने अर्कोले बाँकी उत्तरदायित्व सम्हाल्नु पर्छ । कानुनले त्यही भन्छ । तर यहाँका प्राविधिकले मूल्यामङ्कन गरिदिन मान्नुभएको छैन । हाकिमले फरफारक गर्न मान्नु हुन्न । हामीले के गर्ने ? महतोले आफ्ना मुस्किल प्रस्ुत गरेका छन् । ”

धर्मपुरको विवाद मेयर श्याम कुमार श्रेष्ठ समक्ष पुगेको तर उनले पनि वास्ता नगरेको स्थानीयको गुनासो छ । एमाले वडा कमिटी अध्यक्ष लामा भन्छन् , “ मेयर साहब हाम्रो गाउँमा आउनुभयो तर मलाई देखेर पनि नदेखे जस्तो गरी नबोलाई हिँड्नुभयो । उहाँलाई वडाध्यक्ष मात्र प्रिय छ । हामी जनताको बिचार के हो भन्ने बुझ्न आवश्यक ठान्नुभएन । ”

भवन निर्माणका लागि आएको २२ लाख रुपैयाँ बजेट विवाद समाधान हुन नसक्दा फ्रिज भएर जाने अवस्था आएको छ । यसबारे वडाध्यक्ष उपेन्द्र मुखियासँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।


प्रकाशित : २०८० जेष्ठ ५ शुक्रबार