![](https://dawanal.com/wp-content/uploads/2023/05/as.jpg)
गत २०८० बैशाख २१ गते गोलबजार नगरपालिकाको फेसबुक पेजमा लिखित परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरुको नाम प्रकाशित भयो । विभिन्न पदमा करारका कर्मचारीमा भर्ना गर्न उनीहरुको लिखित परीक्षा लिइएको र लिखितमा उत्तीर्ण भएका कारण मौखिक अन्तर्वार्ता हुने म्याद तोकिएको सूचना प्रकाशन भयो । यो सूचना प्रकाशन भएपछि गोलबजार नगरपालिकाभरी हल्लिखल्ली मच्चियो । कर्मचारी भर्नाको आह्वान नै नगरी कसरी लिखित परीक्षा भयो भनेर सोधिखोजी हुन थाल्यो ।
राप्रपाका स्थानीय नेता उद्धव बहादुर अधिकारी भन्नुहुन्छ , “मेरै नेतृत्वमा ८ –१० जना युवा तथा दलका नेताहरु नगरपालिका कार्यालयमा पुग्यौं । ” हामीले प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेललाई सोध्यौं, ‘कहिले कर्मचारी भर्ना सम्बन्धी आह्वान गरिएको सूचना निस्क्यो ? किन वडा वडामा सूचना टाँस भएन ? ’ पौडेलले १० गते माघमा सिरहा जिल्लामा कतै पनि नआइपुग्ने पत्रिका हिमालय टाइम्समा गुपचुप रुपमा सूचना प्रकाशित गरेर मेयर तथा हाकिमका आफ्ना निकटहरुलाई गोप्य रुपमै फारम भर्न लगाएको रहस्य खुल्यो । अधिकारी भन्नुहुन्छ, “हामीले प्रश्न ग¥यौं किन स्थानीय पत्रिकामा वा गोलबजारमा आइपुग्ने कान्तिपुरमा सूचना प्रकाशन गरिएन ? ” यसमा सिधै नियत खराब देखियो ।
नेता अधिकारीले जानकारी दिए अनुसार डेलिगेशनले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई अन्तरर्वार्ताको सूचना रद्द गर्न आग्रह ग¥यो र पुनः फारम भर्ने सूचना प्रकाशित गरी सबैलाई मौका दिन भनियो । तर उनले मानेनन् । त्यसपछि डेलिगेशन टिमले अन्तरर्वार्ता रद्द नगरे कालोमोसो दल्ने लगायतका भौतिक कारवाही गर्ने धम्की दिए पछि उनी हच्किए । परिस्थिति उत्तेजक भएको देखेर उपप्रमुख मान्ती साहले आदेश दिएपछि अन्तरर्वार्ता स्थगनको सूचना प्रकाशित गर्न प्रमुख प्रशासकीय अधिकृत बाध्य भए ।
बदनियतपूर्वक र अनियमित रुपमा कर्मचारी भर्ना आह्वान गरिएकोले उक्त प्रकृया सुरुदेखि नै खारेज गरी नयाँ सिराबाट प्रकृया थाल्नु पर्ने डेलिगेशन टिमले माग गरेका छन् । त्यसो नगरिए आन्दोलन गर्ने चेतावनी पनि दिइएको नेता अधिकारीले बताउनुभयो ।