अर्जुन थपलिया
गोलबजार नगरपालिका वडा नं. ३ की उर्मीला सदा कलकलाउँदीे उमेरकी छन् । उनले १८ वसन्त पार गरेकी छन् । काखमा दुधे बालक छ तर उनको सिउँदो पुछिएको छ । माया पिरती लाएर लगनगाँठो कसेकी उर्मीलाको खसम देव प्रसाद सदा करेसामै मारिए । आँगनमा हासखेल गरिरहेका पति यसो करेसातिर हेर्न गएका मात्र के थिए , जंगली हात्तीको आक्रमणमा परे । मृत्यु बनेर जंगली हात्ती देव प्रसाद सदाको प्रवल बारीमा आएको रहेछ । देव भाग्न भ्याएनन् । हात्तीले चिरिप्पै पा¥यो । यो घटना २३ फागुन २०७९ को हो ।
आफ्ना असाहाय गरिब दलित नागरिक वन्यजन्तुको आक्रमणमा परेर आकाल मृत्यु वरण गर्नुप¥यो । तर मेयर श्याम कुमार श्रेष्ठले मृतकको घरमा पुगेर सान्त्वना समेत दिन सकेनन् । आर्थिक साहायता दिने कुरा त परै जाओस् । उर्मीला भन्छिन्, ‘वडाध्यक्ष धन प्रसाद भेट्न आउनुभयो तर नगरपालिकाबाट प्रमुख र उपप्रमुख आउनुभएन ।’ आजसम्म एक चुनदाम आर्थिक सहयोग पनि दिनुभएन । उर्मीलाले दुधे बालक काखमा लिएर पतिको क्रियाकर्म गरिन् । एकातिर पति गुमाएको असह््य वेदना अर्कोतिर घरमा एक छाक खाने अन्न थिएन ।
मेयर पदको सपथ खानसाथ श्रेष्ठले आफै पहिलो घोषणा गरेका थिए , “ दलितको मृत्यु हुँदा ५ हजार काजकृया खर्च प्रदान गर्नेछु । ” कमसेकम आफ्नै घोषणा बमोजिम कृया खर्च वापत ५ हजारको मात्र आर्थिक सहयोग प्रदान गरेको भए पनि उर्मीलाको चह¥याइरहेको घाउमा स्नेहलेप लगाए जस्तै हुन्थ्यो । उर्मीला र उनको दुधे बालक कति रात भोकै सुते । छरछिमेकको सहयोगमा जुठोबाट उक्सिइन् । तर नातावाद, कृपावाद र जातिवाद मात्र जानेका मेयर श्याम श्रेष्ठलाई मानव मूल्य र समवेदना के हो थाहा भएन । खाली हात भए पनि उर्मीलाको घरमा पुगेर पतिको आकाल मृत्युमा समवेदना मात्र प्रकट गरेको भए पनि मेयरमा मानवता रहेछ भन्ने पुष्टि हुन्थ्यो । शक्तिविहीन र सामथ्र्यविहीन उर्मीला सदाको घरमा आकाल मरण हुँदा मेयर श्याम श्रेष्ठको समवेदना किन पग्लिन्थ्यो र !
त्यस्तै अर्को हृदयविदारक घटना गत बैशाख १ गते हुन पुग्यो । वडा नं. ३ मुक्सार गोलाका तुलबहादुर आलेलाई अन्ध्राहा गाउँमा जंगली हात्तीले किचेर मा¥यो । नयाँ वर्षको मेला भर्न गएका आलेको लास घर फर्कियो । पीडित परिवारले आशाको नजरले गोलबजार नगरपालिका र त्यहाँका प्रमुख श्याम कुमार श्रेष्ठतर्फ हेरेका थिए । मृतक आलेका छोरा कमल आलेलाई आशा थियो , कमसेकम आर्थिक सहयोग नभए पनि सान्त्वना दिन त आउँछन् होला मेयर । तर उही निर्दयी र असंवेदनशील व्यवहार यहाँ पनि दोहोरियो । आफ्ना नागरिक जंगली जन्तुको शिकार भएर ज्यान गुमाउनु पर्दा पनि स्थानीय सरकारले केही खोजीखबर लिएन । कमल आलेको परिवारको चित्त कुढिएको छ । अरुबेला त कसको भाँडामा कसले सामल हाल्छ र ! यसो मर्दापर्दा त चाहिने हो साहारा । यस्तोबेला त इष्टमित्रले बिचार भनेर माना चामल लिएर पुग्छन् । वन्यजन्तुको आक्रमणमा परेर प्राण गुमाउँदा आफ्ना नागरिकलाई स्थानीय सरकारले चार माना चामल पनि सहयोग गर्न सक्दैन र सान्त्वना दिन पनि सक्दैन भने त्यसलाई अमानवीय सरकार भन्दा अतिशोयुक्ति हुँदैन । आफ्ना नागरिक हात्तीले कुल्चिदा कीरा माकुरा मरे सरह ठान्ने मेयर श्रेष्ठको संवेदनहीनता विरक्तलाग्दो नै छ ।
वडा नं. ३ तेतरियाका कृष्णबहादुर थापा एमालेका टोल कमिटीका अध्यक्ष पनि हुन् । उनी गत जेठमा पिसाब थुनिएर र मलद्वारबाट रगत बगेर इन्तु न चिन्तु भए । आर्थिक अवस्था कमजोर भएका थापा उपचारका लागि काठमाडौं लगिए । उनका परिवारजनले आर्थिक साहायताका लागि गोलबजार नगरपालिकामा निवेदन दिए । निवेदन दिएको ७ महिना भयो ।
थापा र उनका परिवारजन सैकडौ पटक ताकेता गर्न नगरपालिका गए तर मेयर श्याम कुमार श्रेष्ठको सुशासनमा उनले आर्थिक सहयोग पाएनन् । मिसन ग्रासरुट अभियानको जमदहमा कार्यक्रम हुँदा त्यहाँका एमालेका कार्यकर्ताहरुले जोडदार रुपमा यस प्रसङ्गमा आवाज उठाए तर पनि सुनवाइ भएन । जमदहका समर भण्डारी भन्छन् भन्दा भन्दा थाकियो । खोइ के हो कुरै बुझ्न सकिएन । बेवास्ताको पनि हद भयो ।
जमदह वडा नं. ३ जरुवामा एक दलित परिवारका घरमा आगोलागी भयो । सम्पूर्ण घर र घरमा भएका लत्ता कपडा , खाने अन्न र भएका सम्पत्ति सबै जलेर नष्ट भयो । त्यहाँका एमाले कार्यकर्ता प्रेमबहादुर बस्नेतको सहजीकरणमा पीडितले आर्थिक साहायताका लागि निवेदन दिए । यो गत असोज महिनाकै घटना हो । मेयर श्याम कुमार श्रेष्ठले घर बनाइदिने आश्वासन दिए । उनले अह्राए अनुसार इन्जिनीयरबाट लागत इष्टिमेट गराएर निवेदन सहित फाइल पेस गरे । मेयर श्रेष्ठले रातो मसीले तोक आदेश पनि गरिदिए । घर बनाउन २ लाख ८६ हजार आर्थिक साहायता दिने भनिएको आश्वासन आज पर्यन्त कार्यान्वयन भएको छैन । प्रेमबहादुर बस्नेतसहित पीडित बिस्वकर्मा नगरपालिका धाउँदा धाउँदा फतक्कै गलिसके । कहिले फायल हरायो भनिन्छ । कहिले सहेन्द्र यादवलाई कार्यपालिका बैठकमा फायल पेस गर्नु भनेर अह्राइन्छ ।
उता आगोलागी पीडित विश्वकर्माका ४ छोराछोरी खुला आकाश मुनि बस्दै आएका छन् । उनकी १३ वर्षिया छोरी पूर्णिमालाई नगरपालिका भन्ने थाहा छैन तर उनले बुबाले कतैबाट घर बनाउने पैसा पाउने भन्ने कुरा सुनेकी छन् । घर बन्ला र वर्षायामबाट जोगिने बच्चीको आशा छ । तर नगरपालिकामा फाइल हराउने घटनाले निराश पनि बनाएको छ । प्रेमबहादुर बस्नेत भन्छन्, ‘ हामी जाँदा मेयर साहब तात्तिएर हाकिम कहाँ पुग्नुहुन्छ । तर फेरि उस्तै । काम अगाडि बढदैन । मेयर र हाकिमको मिलेमतो हो कि हाकिमले मेयरलाई थाङ्गनामा सुताएका हुन् बुझ्नै सकिएन ।
जमदह ३ मुसहर्नियाका रामकुमार लामालाई पक्षघात ( लकवा ) भयो । उनको आर्थिक अवस्था पनि कमजोर छ । उपचार खर्चका लागि गोलबजार नगरपालिकामा निवेदन हालेको ६ महिना भयो । लामाका परिवारजनले साहायता पाउन सैकडौं पटक धाए – गुहार लगाए । तर नगरपालिकाको झुटा आश्वासन सत्यमा रुपान्तरित भएन । यसबारे एमाले प्रदेश कमिटीका नेता पुष्पलाल पाख्रिनलाई सोध्दा उनले भने मेयर साहाबको बुझिनसक्नुको उपेक्षा र भाका सार्ने प्रवृति छ ।
वडा नं ३ भाङ्गबारीकी एक मुसहर दलित महिला सुत्केरी भएको ७ दिन मै मरिन् । सदा समुदायले आमा गुमाएको ७ दिने टुहुरो शिशुको दुधका लागि नगरपालिकासँग आर्थिक सहयोगको लागि निवेदन दिए । तर ५ महिना बित्दा पनि कुनै सुनवाइ भएन । ७ दिने शिशु कुन हालतमा छन् नगरपालिकाले खोजी खबर नै गरेन । आमा मरेकी ७ दिनको शिशुको लागि दुध किन्न सहयोग माग्दा मान्छेले गाँस काटेर पनि दिन्छ । गोलबजार नगरपालिकामा दैनिक हजारौंको पानी र चिया खपत हुन्छ तर ७ दिने टुहुरो शिशुको गला रसाउने दुधका लागि सहयोग दिन बजेट भएन । योभन्दा निकृष्ट, अमानवीय र क्रुर शासनको नमूना अन्यत्र भेटिदैन । जनताले यस्तो शासनलाई धारे हात लगाउनु स्वभाविक नै हुन जान्छ ।
गोलबजार नगरपालिका २ की रामपरी राम पति र छोरा दुबैको मृत्यु पीडा खपेकी साधवी ( माइराम ) दलित महिला हुन् । मेयर श्याम श्रेष्ठले चुनाव जितुन् भनेर यिनी अहोरात्र खटिएकी मात्र होइनन् अपितु उनको जितको लागि साधु भोजन गराउने भाकल समेत गरेकी थिइन् । रामपरी बिरामी भइन् र आर्थिक सहयोगका लागि निवेदन नगरपालिकामा दिइन् । धाउँदा धाउँदा दिक्क लागेपछि उनी कार्यपालिका सदस्य फुलेस्वर नायकलाई भेट्न गइन् । नायकले आफ्नै गोजीबाट १० हजार सहयोग दिएर पठाए । उनी नगरपालिका जान छोडिन् । नायक भन्छन् मेयर श्याम श्रेष्ठले रातो मसीले तोक लगाएको र कार्यपालिकाले आर्थिक सहयोग दिने भनेर पास गरेको निवेदन करिब २ सय जति पेन्डिङ्गमा छ । त्यसकारण मेरो गाउँकी महिला भएकोले मैले गोजीबाटै दिएर पठाएँ ।
वडा नं. २ गुरुधामका वृद्ध दलित जुक्तिलाल मण्डलले बिरामी हुँदा ५ हजार आर्थिक सहयोगको याचना गर्दै निवेदन हाले । मेयर श्याम श्रेष्ठले तोक आदेश लगाइ दिए । मण्डलले प्रादेशिक अस्पताल सिरहाबाट जाँच गराएको पुर्जा पेस गरे । औषधीको बील पेस गरे । मण्डल भन्छन् २२ दिन धाएँ त्यसपछि निवेदन मेयरकै अगाडि च्यातेर उनकै टेबुलमा फ्याँकेर हिँडे ।
मेयर श्याम कुमार श्रेष्ठ चुनावताका भन्नुहुन्थ्यो ,“ मेरा पिताले कसैलाई हुँदैन नभन्नु भनेर ज्ञान दिनुभएको छ । त्यसकारण म कसैलाई पनि ‘ हुन्न ’ भन्दिन । तर उहाँका श्रद्धेय पिताले मानिसलाई झुटा आश्वासन दिएर नढाट्नु भनेर सिकाउनु भएनछ । “दाता से सोम भला चटसे दिए जवाफ ” भन्ने मैथिली उखान मेयर श्रेष्ठले आत्मसात गर्नुभए नागरिकले तारिख धाउनु पर्ने थिएन ।
हुन त हरेक कालो बादलमा सेतो चाँदीको घेरा हुन्छ भने जस्तै दुईवटा साकारात्मक उदाहरण पनि भटिए । वडा नं. ३ कै दुई जना क्यान्सर पीडितहरु ( तेजकुमारी श्रेष्ठ जस्को मृत्यु भइसक्यो र गोपाल श्रेष्ठ जो उपचार गराइरहेका छन् ) ले क्रमश ५० हजार र २५ हजार आर्थिक साहायता सजिलै प्राप्त गरेका रहेछन् । उनीहरु भाग्यमानी हुन् वा स्वजातीय भएर हो , निवेदन माथि तत्काल सुनवाइ पनि भयो र कार्यान्वयन पनि गरियो । जातिवादको यो भन्दा उपयुक्त उदाहरण अरु के हुन सक्छ । जनताले मेयर श्याम श्रेष्ठको शासनको जय होस् भन्ने कि क्षय होस् ? निक्र्यौल समयले गर्ने छ ।