
–अर्जुन थपलिया
गोलबजार नगरपालिका वडा नं. ३ जमदहका तिलक थापा । अनुहार र नामले म उनीसँग परिचित नै थिए तर उनको चरित्र,क्षमता र व्यक्तित्वका अन्य बहुआयामिक पक्षबारे ज्ञात थिएन ।
एक दिन , २०७९ मंसिरमा भएको निर्वाचनको सिलसिलामा भाङ्गवारी गाउँमा नेकपा एमालेले चुनावी सभा आयोजना गरेको थियो । मञ्च सजाउने कार्य चलिरहेको थियो । पत्रकार सन्तोष यादव र म दलित मुसहर बस्तीमा चुनावको गतिविधि रिपोर्टिङ्ग गर्न त्यहाँ पुगेका थियौं । त्यहीबेला विपक्षी पार्टीका ५०÷६० जना युवाहरु मास्क लगाएर त्यहाँ आइपुगे र मञ्च घेराउ गरेर बसिदिए । एउटा पार्टीको चुनावी सभामा अर्को विपक्षी पार्टीका मानिसहरु मास्क लगाएर मञ्च घेराउ गरेर बसेको दृश्य निश्चय पनि तनाव सृजना गर्ने प्रकारको थियो । चुनावी सभा सुरु हुनु अगावै कुनै हिंसात्मक अनिष्ट हुने संकेत देखापरेको थियो । विपक्षी जत्था देखेर वरपर डरको वातावरण सृजना भयो । धेरै मानिसहरु त्यहाँबाट पलायन भए । तर तिलक थापा लगायत उनका तीन जना साथी निर्भय , निस्फिक्री र अविचलित भएर अडिए । आफ्नो काम गरिरहे । मैले तिलकलाई सोधें के भएको हो , के हुन आँटेको छ ? उनको भनाइको तात्पर्य थियो “कागजका बाघहरु हामीलाई तर्साउन आएका छन् । साच्चिकै बाघ आए पनि हामी तर्सिदैनौं । मैले पहिलो पटक तिलक थापाको सुझबुझ , क्षमता र निर्भय मष्तिष्कलाई नजिकबाट हेर्ने मौका पाएँ । मलाई लाग्यो तिलक अगेनोभित्र फुलेको फूल रहेछन् । यिनलाई तातो हावाको कत्ति पनि डर रहेनछ ।
अर्को एक दिन, चोहर्वा दरबारमा १० जना जति कार्यकर्ता साथमा लिएर तिलक एमाले अधिपतिलाई भेट्न पुगेका रहेछन् । संयोगले म पनि त्यहीँ थिए । तिलकले सोधे “ के हुन्छ पुष्पलाल पाख्रिनको छनौट प्रकृया ? अधिपतिको जवाफ आयो मैले नाम सिफारिस गरिदिएकै छु अब पर्ने नपर्ने त नीयमको कुरा हो , मत परिमाण र परिणामको कुरा हो । ” तिलकले भन्दै थिए , “पुष्पलाल पाख्रिन स्वयंले पनि आग्रह गर्दै भन्नुभएको थियो कि नपर्ने गरी मलाई समानुपातिक सूचीमा नराख्नु होला, बरु म नाम नराखे पनि पार्टीका हितमा काम गरिरहन्छु । ” तपाईँलाई पनि थाहा थियो यसरी पुछारमा नाम राखेर छनौटमा पर्न सक्दैनन् उनी । अनि जीवनको उत्तरार्धमा उहाँलाई समाजको अगाडि लज्जित पार्ने काम किन भयो ? यो सम्वाद सुनेर तिलकको हक्की स्वभाव नजिकबाट नियाल्ने मौका मिल्यो । मैले त्यतिबेला नै महसुस गरें यिनले राजनीतिमा उभोलाग्ने शैली रोजेनन् । दरबारमा गएर एमाले अधिपतिसँग आँखा जुधाएर यस्तो हक्की स्वभावमा बोल्ने तिलक “लोकमान्य” त हुनसक्छन् तर दरबारले यिनलाई रुचाउने छैनन् ।
फेरि अर्को दिन , राष्ट्रिय सभाका ६ जना सांसदहरु ( अध्यक्ष गणेश तिमल्सिना सहित ) आएका थिए । चोहर्वाको भव्य अतिथि सदनमा कार्यक्रम आयोजना गरिएको थियो । शासकीय सुधार सम्बन्धी सुझाव लिने सांसदहरुको अभिप्राय थियो । त्यस कार्यक्रममा तिलक थापाले सारगर्भित सुझावहरु प्रस्तुत गरेको सुने । मलाई महसुस भयो – यी युवा अध्ययन गर्दा रहेछन् र प्रतिभा राम्रैसँग झाङ्गिएको रहेछ । तिलकमा भोलिका दिनमा नेतृत्वको रुपमा स्थापित हुने पर्याप्त सम्भाव्यता रहेको दृष्टिगोचर भयो ।
अर्को एक पटक, मैले एमालेका सय जना कार्यकर्तालाई सोधेर गोलबजारका मेयर श्याम कुमार श्रेष्ठको कार्यशैलीबारे गरेको अध्ययन प्रतिवेदनमा तिलकको नाम, तस्बिर र भनाइ पनि सामेल थियो । तिलकले मलाई फोन गरेर मेरो भनाइ जस्ताको त्यस्ते नराखेर थपथाप किन गरियो भनेर आपत्ति जनाए । सामाजिक सञ्जालमा मेरो लेखाईमा विरोधका अभिव्यक्ति पनि पोष्ट गरे । मलाई महसुस भयो यिनी पार्टीप्रति निकै बफादार पनि रहेछन् । यसरी तिलकको व्यक्तित्व, सामाजिक छवि, बौद्धिक क्षमता, साहास र पार्टी परायणताबारे म परिचित हुँदै गएँ ।
यसै साता अचानक तिलकको फेसबुकमा हस्तलिखित एउटा पत्र पोष्ट भएको पाएँ र पढें । तिलकले एमाले पार्टीको साधारण सदस्यता पनि परित्याग गरेको घोषणा गरेका रहेछन् । आश्चर्य लाग्यो । पार्टी प्रति उत्सर्गस्तरको बफादारी देखाउने , सुझबुझ भएका र जुझारु प्रवृतिका तिलक किन बिचलित भएछन् ? राजा भरथरी हरिले ज्यानभन्दा बढी माया गर्ने पत्नी पिंगला र राजगद्दी एक मिनेटमा त्यागे झैं तिलकको मोह किन भंग भयो ? मलाई जान्न मन लाग्यो । तिलक जस्ता होनहार कार्यकर्ताले पार्टी छोड्ने घोषणा गर्दा दरवार र त्यहाँका अधिपतिहरुले चासो देखाए कि देखाएनन् ? त्यो पनि बुझ्ने कौतुहलता जाग्यो । म तिलकको गाउँमा पुगें । मेरो उद्देश्य थियो सिधै तिलकलाई भेट्ने । तर संयोग अर्कै प¥यो । एकहुल एमाले कार्यकर्ता एकआपसमा तिलककै बारेमा छलफल गरेर बसेका रहेछन् । म झ्वास्स पुगें । कलकल पानी गलाबाट उतारेर मैले सोधें के हुँदैछ जमदहको राजनीतिमा ? उहाँहरुले चिन्ता जाहेर गर्नुभयो तिलक जस्तो कार्यकर्ता किन रुष्ट भयो भनेर एक वचन सोध्ने वा एक कल फोन गर्न पनि आवश्यक ठानेन दरबारले । तर हामी चिन्तित छौं । किनकि जमदहमा बडो दुखःले सिन्का सिन्का जोडेर पार्टी पंक्ति तयार पारेका छौं । तिलक जस्ता कार्यकर्ताको अनायास वहिर्गमनले पार्टीमा पहिरो जान सक्छ ।
त्यसपछि एमाले पार्टीका एक जना कार्यकर्ता लिएर म तिलक भेट्न गएँ । मैले उनलाई सोधें “ भाइ फेसबुक स्टाटसमा जे देखियो त्यो किन ? उनले भने मलाई पनि मनमा लाग्थ्यो कि कतै मैले गल्ती त गरिन ? तर मेरो भ्रम छ्याङ्ग भयो । अरु साथीहरुको पनि भ्रम बिस्तारै टुट्ने छ । अझै २० वर्ष दरवारको परिवारजनभन्दा बाहिर राजनीति आउने छैन । शाहजादा एक्कासी र एकैपटक केन्द्रीय सदस्य बनाइएका छन् । पद्धतिले त टोल कमिटी, वडा कमिटी, गाउँ ÷नगर कमिटी,जिल्ला कमिटी क्रमश माथि माथि जाने भन्छ तर दरवारका परिवारका सदस्यले १० तह एकै पटक पार गर्छन् । शाहजादा कुन गुणले परिपूर्ण छन् र पार्टीमा उनको के योगदान छ ? अब बुझ्न कठिन नै छैन आगामी स्थानीय तहको निर्वाचनमा दरवारले शाहजादालाई अघि सार्छन् । अन्य कार्यकर्तालाई त फगत आस्वासन मात्र हो । दरबारियाहरुले त्यतिबेलासम्म कार्यकर्तालाई धाप मार्छन जबसम्म उ दरबारको तावेदारी गर्न राजी हुन्छ । त्यहाँ तर्क गर्ने , प्रश्न सोध्ने र पार्टी पद्धतिको कुरा गर्नेको कुनै भविष्य छैन । नगरपालिकामा स्वेच्छाचारी शासन छ । कार्यकर्ताको त्यान्द्रो वरावर सुनुवाई छैन ।
१० मिनेटको भलाकुसारी पछि म उठेर आएँ । जमदहमा एमाले पंक्तिमा एक प्रकारको छटपटी र चिन्ता देखियो । अमुक पार्टीको एकाधिकार तोडेर प्रतिस्पर्धी स्तरमा एमालेलाई पु¥याइयो तर सुखद परिणामसम्म नपुग्दै पार्टीभित्र पहिरो जाने हो कि भन्ने चिन्ता छ । मिसन ग्रासरुटले पार्टीमा सदस्यहरु थप्ने आकांक्षा लिएको बेला तिलक जस्ता “सतिसाल” पलायन हुँदैछन् । तर दरबारलाई हाइसञ्चो छ । दरबारतिर औंला तेस्र्याएर प्रश्न सोध्ने र सबैभन्दा माथि दरबारको संप्रभुता नस्वीकार्ने तिलकहरु एमालेलाई चाहिएकै छैन ।