राष्ट्रको आवश्यकताअनुसार कम्युनिष्ट एकता हुनुपर्छ : प्रधानमन्त्री     

[sharethis-inline-buttons]

काठमाडौँ, १० वैशाख (रासस) :
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सही विचार र नीतिका आधारमा कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यही प्रक्रियामा छौँ । जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौँ ।” उहाँले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनमा नयाँ धुव्रीकरणको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अङ्गीकार ग¥यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देख्यौँ र आफ्नै आँखा अगाडि पनि देख्यौँ ।”

उहाँले २०७४ को आम निर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैँ भएको बताउनुभयो ।

“राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ”, उहाँले भन्नुभयो । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले बिना आग्रह पूर्वाग्रह विचारधारात्मक रुपले समीक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि वामपन्थी कम्युनिष्टलाई आह्वान पनि गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, “एकताबद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौँ । अहिले हामी कम्युनिष्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौँ । अहिले राष्ट्रको आवश्यकता, रााष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गर्नेहरु सबै एउटा मोर्चामा आबद्ध भएर एउटा सन्देह दिऔँ ।” उहाँले छिट्टै समाजवादी मोर्चा गठन गरिने र नेकपातिर फर्कनका लागि सबैलाई अपिल गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समान विचार भएका कम्युनिष्ट पार्टीका बीचमा छिट्टै समाजवादी मोर्चा बनाएर एकताको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले मोर्चाका लागि प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पहल गरिरहनु भएकाले छिट्टै सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीबीच छिट्टै एउटै पार्टी बनाउने गरी तयारी भइरहेको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बताउनुभयो । “विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोचहरु, कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी हुन सक्छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले वामपन्थी कम्युनिष्ट एकापसमा मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना रहेकाले त्यो दिन धेरै टाढा नभएको बताउनुभयो । राष्ट्रिय समस्या समाधानका लागि वामपन्थी शक्तिबीचको एकता जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधर, पुराना वामपन्थी नेता चन्द्रदेव जोशी लगायतको उपस्थिति थियो ।


प्रकाशित : २०८० बैशाख १० आईतवार