मिर्चैया बासिन्दा र प्रहरीबीच झडप, दुई दर्जन घाईते, ११ सेल अश्रुग्यास प्रहार र २७ राउण्ड हवाई फायर

[sharethis-inline-buttons]

सिरहा, ७ वैशाख ।

सिरहाको मिर्चैयामा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा पाँच जना प्रहरीसहित दुई दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । मिर्चैया बजार स्थापनाकालदेखि नै बस्दै आएका व्यवसायीहरुको घर नगरपालिकाले भत्काएको विरोधले उग्ररुप लिएपछि झडप भएको हो ।
घाइते प्रदर्शनकारीको उपचार स्थानीय अस्पताल र कर्जन्हास्थित पूmलकुमारी मेमोरियल अस्पतालमा भइरहेको संघर्ष समितिका संयोजक अञ्जय साहले जानकारी दिए ।
उत्तेजक अवस्थामाथि काबु राख्न प्रहरीले ११ सेल अश्रुग्यासको सेल प्रहार गरेको थियो । झन्झन् स्थिति बिग्रदै गएपछि प्रहरीले २७ राउण्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । उनले भने, ‘शान्तिपूर्ण प्रदर्शन भनेपनि प्रदर्शनकारीले नगरपालिकाको मुख्यद्वार धकेल्ने, प्रहरीलाई हातपात गर्ने, ढुङ्गामुढा प्रहार गरेर कार्यालयका झ्याल तथा सवारी साधानको सिसा फोडेपछि अवस्था नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको हो ।’
प्रदर्शनकारीको ढुङ्गामुढाबाट कार्यालयको झ्यालका सिसा र मेयर श्रवण कुमार यादव चढ्ने गाडीमा समेत क्षति पुगेको जनाएको छ ।
प्रदर्शनकारीको आक्रमणबाट पाँच जना प्रहरी समेत घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था सामान्य र दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ ।
नगरपालिकाले घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू पछिल्लो तीन सातादेखि आन्दोलनमा छन् । आन्दोलनकै क्रममा आज बजारमा कोणसभा गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार नगरपालिकामा धर्ना दिन गएका आन्दोलनकारीमाथि नगरपालिकाभित्रैबाट ढुङ्गामुडा सुरु भएपछि आन्दोलनले उग्ररुप लिएको संघर्ष समितिका संयोजक अन्जय साहले जनाकारी दिए ।
उनका अनुसार आपूmहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरहेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बन्न पुगेको स्थानीय अगुवा अञ्जय साहले जानकारी दिए ।
सिरहा जिल्लास्थित मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा जथाभावी तथा स्वेच्छाचारी ढंगबाट बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।
संघर्ष समितिले मिर्चैया बजार अस्तित्वमा आएसंगै बस्दै आएका बासिन्दाको घर तोडफोड गरेको, मनोमानी तरिकाले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएकोलगायत आरोप लगाउँदै मिर्चैया बजारका स्थानीयवासीले निरन्तर प्रदर्शन गर्दै आएका छन् । बिहीबार बिहान सर्वपक्षीय बैठकमा सहभागीहरूले मेयर यादवले मिर्चैयामा आतंक मच्चाएको, बजार क्षेत्रलाई बर्बाद गर्न लागिपरेको भन्दै सशक्त रूपमा प्रतिकार गर्नुपर्ने बताएका थिए । मिर्चैया बजार क्षेत्रको जमिन गाउँब्लक क्षेत्रमा पर्छ ।
चार वर्षअघि विशेष नापी टोलीद्वारा गाउँब्लकका सम्पूर्ण जमिनको नाप जाँच गरिसकेर लालपुर्जा दिने प्रक्रियामा रहेका बेला माघ २७, फागुन ११ र फागुन १९ गतेका दिन नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर टहरा डोजर लगाएर भत्काएको थियो । स्थानीयले घर पसलमा रहेको सामान निकाल्ने समय समेत नदिएको गुनासो गरेका छन् । यही घटनालाई लिएर उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनकारीहरूले जग्गाको लालपूर्जा दिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिनुपर्ने लगायतका माग गरेका छन् ।
सयौँ वर्षअघि मिर्चैया जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोबास गराएको भए पनि अहिले आएर मेयर यादवले राजनीतिक प्रतिशोधका कारण उठिबास गराएको उनीहरूको गुनासो छ । नगरपालिकाले सोही बजार क्षेत्र रहेको २ सय ५६ नम्बर कित्तालाई सरकारी जग्गा भन्दै आएको छ ।
गाउँब्लकभित्र सरकारी, सार्वजनिक र निजीलगायत जग्गा रहेको भए पनि मालपोत कार्यालयले यो जग्गालाई नेपाल सरकारको नाममा गरी दिएको उनीहरूको गुनासो छ । २०५१ सालमा तत्कालीन सरकारको निर्देशनमा मालपोत कार्यालयहरूले गाउँब्लकका जमिनहरूलाई तत्कालका लागि संरक्षण गर्ने उद्देश्यले सरकारको नाममा श्रेस्ता बनाइदिएको थियो । नेपालका धेरै स्थानमा गाउँब्लकका जग्गा सरकारको नाममा गरेको भेटिएपछि २०७५ सालमा संघीय सरकारले राजपत्रमा सूचना नै निकालेर यी जग्गाहरू सम्बन्धित जग्गाधनीको नाममा कामय गर्न भनेको थियो ।

 


प्रकाशित : २०८० बैशाख ७ बिहीबार