अर्जुन थपलिया
तत्कालीन चन्द्रलालपर गाविसको वडा नं. २ चोहर्वा गाउँ । अहिले गोलबजार नगरपालिकाको वडा नं. ७ । चोहर्वा भित्रको पनि श्रेष्ठतम टोल । त्यस टोलभित्रको एक दरवार । त्यस दरवारका अधिपति । राजनीतिक अभ्युदयका कारण दरवार यतिबेला राजनीतिक शक्तिकेन्द्रमा रुपान्तरित भएको छ । खासगरी अमुक एक राजनीतिक दलको तीर्थस्थल नै बनेको छ ।
दरवार वरिपरी विकास सजिसजाउ झकिझकाउ छ । दरवार वरिपरीका बस्तीलाई आभूषण र परिधानले सजाएकी बेहुली झै चिरिच्याट्ट पारिएको छ । खास गरी मानिस मानिस बीच आफूलाई श्रेष्ठतम ठान्ने परिवारको जग्गा जमिन , घर ( बस्ती ) को श्रीवृद्धि हुने गरी भौतिक निर्माणको एक पछि अर्को लर्को लागेको छ ।
अन्य गाउँ जाने सडक कच्ची धूलाम्मे र हिलाम्मे हुँदा चोहर्वा चौकदेखिउत्तर दरवारको आडैबाट ग्राभेल सडक बनेको थियो । अन्य गाउँमा ग्राभेल सडक पुगेकै थिएन दरवार अघिल्तिरको त्यो सडक कालोपत्रे भयो । एक पटक कालोपत्रे गरेर पुगेन । दरवारबाटै अनुज राजा पदमा विराजमान भएपछि दोह¥याएर कालोपत्रे गरियो । त्यतिले पनि पुगेन अब राजमार्ग नै चाहियो । आफ्नै हातमा सत्ता भएपछि जति पटक बजेट खन्याए पनि हुने रहेछ । अहिले धर्मपुर गाउँदेखि माथि मानव बस्ती नभएको चुरे क्षेत्रबाट राजमार्ग निर्माण हुँदैछ । राजमार्ग निर्माण गर्न हालसालै निर्माण गरिएको भौतिक संरचनाहरु भत्काएर अर्को बनाइदैछ । दरवार , दरवारका कित्ताहरु , श्रेष्ठतम टोल र टोलबासीका कित्ताहरु छुँदै तल पानवारीसम्म उक्त राजमार्ग लम्पसार पर्ने छ । भनिन्छ पानवारी गाउँ छेउछाउ सिरहा सदरमुकाम जाने सडकसम्मै श्रेष्ठतम परिवारहरुको ठाउँ ठाउँमा चक्लाबन्दी छ । निश्चय पनि यो नयाँ राजमार्गले अन्य जातजातिहरुको पनि जमिन र गाउँ छुन्छ ÷भेट्छ । तर मुख्यत यो दरवार र स्वजातीयहरुको जमिनलाई राजमार्ग जडित गर्नका लागि निर्माण गरिएको हो । यदी यो कथन गलत हो भने गोला मुक्सार देखि टुडकिया हुँदै गुरुधाम जाने सडकमा पनि बजेट पर्न सक्थ्यो । असनपुर गाउँदेखि सिमरा भेलहा दुर्गापुरतिर पनि राजमार्ग बन्थ्यो । किन दरवारदेखि उत्तर र दक्षिण नै राजमार्ग निर्माणले पहिलो प्राथमिकता पायो ? सहज उत्तर छ – विकास दरवारबाटै निर्धारत हुन्छ र दरवारकै हितमा रहन्छ ।
अझ आनन्ददायक कुरा त के छ भने आफ्नो चक्लालाई राजमार्गसंग जोड्ने सडक बनाएर त्यसमा खर्च भएको बजेटलाई जिल्लाबासीको विकासका लागि ल्याएको भनेर प्रस्तुत गर्न पाइन्छ । चुनावताका माननीय ज्युको भाषण सबैले सुनेका छौं । एक सय ५० करोड अर्थात डेढ अर्व विकास बजेट मैले ल्याएँ । त्यस डेढ अर्वमा चुरे – धर्मपुरदेखि दरवार हुँदै दक्षिण पानवारीसम्मको राजमार्ग निर्माण पनि हो । अब यो विकास बजेट जिल्लाबासीको लागि हो कि स्वयं दरवारका लागि हो ? बिचारणीय छ तर संशय छैन ।
अर्को पाटो – श्रेष्ठतम टोलको केन्द्रबिन्दु क्लव चौक । त्यहाँदेखि पश्चिम सृजनशील लघुवित्त कार्यालयसम्म कालोपत्रे छ । नाला निर्माण भएको छ । कल्व चौकबाट पूर्व राजाको घर हुँदै पूर्व श्रेष्ठतम मानिसहरुको बस्ती भएसम्म पक्की सडक र नाला छ । दरवारको आडैमा करोडौ सरकारी रकम खर्च गरेर भव्य पाहुना घर निर्माण भएको छ । माननीय ज्युको संसदीय कोषबाट दलित बस्तीमा निर्माण भएका अन्य पाहुना घर र दरवार छेउको पाहुना घर तुलना गरेर हेर्नुस् । १५ शैयाको अस्पताल निर्माणका लागि पनि सोही बस्तीको चयन भएको छ ।
सातपत्रे खोलादेखि दक्षिण निपनियाँ गाउँसम्म कालोपत्रे बनुञ्जेल विकास अन्यत्र पनि हुँदैछ भन्ने विभ्रम उत्पन्न गराएको थियो । तर यो भ्रम त्यतिबेला टुट्यो जव कालोपत्रे सिधा दक्षिण श्रेष्ठतम परिवारको इटा उद्योगलाई छुँदै अघि बढ्यो । यदि विकास मानव बस्तीतर्फ लक्षित हो भने त्यो सडक असनपुर हुँदै दुर्गापुरतर्फ मोडिन्थ्यो । तर निपनियाँ कटेर दक्षिण लागेपछि कतै पनि मानव बस्ती नभएको निर्जन ठाउँबाट इटा उद्योग हुँदै बेतौनातिर गएर अर्को राजमार्गसंग जोडियो ।
गुरुधामको खेलग्राम जाने सडक निर्माण गर्ने नाममा दरवारको २ विगहाको कित्तालाई पूर्व पश्चिम राजमार्गसंग जोड्ने अर्को बाटो क्रमश ढलाई गरिंदैछ । यहाँनिर एउटा कुरामा संशय छ । विकास दरवारको श्रीसम्पत्ति भएरतिर लगिएको हो कि विकास भए भएतिर दरवारको सम्पत्ति पुगेको हो ? तथ्यहरुले त पहिलो तर्कलाई स्थापित गरिरहेको छ ।
जे होस् भौतिक निर्माणको सुन्दर छटाहरुले दरवार वरिपरीका बस्ती रंगैरंगमा मुस्कुराईरहेको छ । बस्तीको रुप लावण्य वयान गर्न लायकको छ । बन्दुकको नालबाट सत्ता जन्मिन्छ र टिक्छ भन्ने पुरानो कम्युनिष्ट भनाइ मान्ने कम्युनिष्टहरु दुख पाइरहेका छन् । ब्यालेटबाट सत्तामा गइन्छ भन्नेहरु सत्ताको ढुंग्रोबाट विकास बगाएर तर मार्दै छन् । विकासको वर्गीय चरित्र हेर्न चोहर्वा गए पुग्छ । दरवार वरिपरीका बस्तीमा विकास केन्द्रित हुँदा पनि असन्तुलित विकास भयो भनेर खिन्नता कहीँ कतैबाट व्यक्त हुँदैन । आफ्नै पार्टीका नेताका दरवार र बस्तीको लालित्य र आभाले दरवारको गरिमा बढाएको छ भन्दै कार्यकर्ता खुशी छन् । आखिर खुशी हुने बाहाना त कार्यकर्तालाई पनि चाहिएको छ ।
आफ्ना बिचार वा इच्छा बमोजिम धेरै मान्छेहरुलाई पछि पछि घुमाउनु वा आदेश मान्न लगाउनु नै शक्ति हो । यो शक्ति प्राप्त हुने तीनवटा श्रोत छन् । धन दौलत , सामाजिक प्रतिष्ठा र राजनीतिक पद । मुख्यत यही तीन श्रोतबाट शक्ति प्राप्त हुन्छ । यिनै तीन शक्तिबाट सुसज्जित घरलाई हवेली, ड्यौडही वा दरवार जस्ता शब्दले संवोधन गरिन्छ । दरवार तीन प्रकारको शक्तिले भरिपूर्ण भएको विशेषणयुक्त शब्द हो । यतिबेला चोहर्वा दरवार तीनथरी शक्ति एकत्रित भएको सत्ता बनेको छ । दरवारद्वारा शक्तिको प्रभावले धेरै ठूलो समुदायलाई वशीकरण गरेको छ । । शक्तिलाई सत्तामा रुपान्तरण गरिएको छ । समाज वा पार्टीमा आदेश गर्ने र आदेश मान्ने प्रचलनहरु चल्न थाल्छ अनि बुझ्नुस् शक्तिकेन्द्रले आफूलाई सत्तामा परिणत ग¥यो । चोहर्वा दरवार अहिले सिरहा जिल्ला भित्र शक्तिकेन्द्र र सत्ताका प्राधिकार भएको छ । सिरहाको शासन , प्रशासन र विकास दरवारको मुठ्ठीमा छ । उनका दलका तमाम कार्यकर्ता करुणा र दयाको प्रार्थी भएर दरवारमा उभिन्छन् । आजका दिनमा चोहर्वा दरवारमा कसैको पनि हैसियत विदुर जस्तो छैन जो दरवारमा उभिएर कटुसत्य बोल्न सकोस् । कसैले बोलेछन् भने पनि यति थान मन्त्री भएको र यति जिल्ला चलाउनेका मुखेञ्जेली बोल्ने भनेर झाँको झारिन्छ । यसैलाई भनिन्छ लोकतन्त्र भित्रको महाजनी प्रथा ।
लोकतन्त्र अझै पनि महाजनी प्रथाको पिजडामा कैद छ । राजनीतक उथलपुथलले प्रजालाई तानाशाही र सामन्ती पिजडाबाट झिकेर बाहिर ल्यायो तर उनीहरुको दिमागबाट पिजडालाई झिक्न बाँकी नै छ । दासता अलग स्वरुपमा कायम भएको छ । लोकतन्त्र बलवान भुजा र महाजनको धन प्रभावबाट मुक्त हुन सकेन । राजनीतिक दलका कार्यकर्ताहरु बुद्धि र वाणीबाट तिखारिएनन् । फगत आज्ञापालक मात्र भए । राजनीति गर्नु वा चुनाव जित्नुको उद्देश्य नाफा कमाउनु भएको छ । तर नेताहरु राजनीतिमा महाजनी शोषणलाई प्रजापालन भन्छन् । नेतालाई समाज चाहिन्छ तर मात्र शोषण र शक्तिको प्रभाव कायम राख्न । “कार्यकर्ताहरु एकनिष्ट भावले नेताको उपासना गर , जीवनभरी पसिना बगाउ र एक दिन मर ”का लागि मात्र हुन् । महाजनी राजनीति चरित्रले एकद्वार शक्ति अभ्यास गर्छ र विकासका लाभहरु आफू केन्द्रित बनाउँछ ।
अन्त्यमा प्रतीकात्मक दन्त्य कथा । एकादेशमा नेताको कुकुर मर्दा एक हजार एक मलामी गएका थिए । किनकि नेता शक्तिमा थिए । नेताजीको कुकुर मरेको थाहा पाएर मलामी नजाने कार्यकर्तालाई वागीको आरोप लगाएर पार्टीबाट निष्काषन गर्न सकिन्थ्यो । तर स्वयं मालिकको मृत्यु हुँदा एक जना पनि मलामी भएनछन् । किनभने शक्तिको स्वरुप मालिक नै रहेनन् त किन डराउने कोसंग डराउने । राजनीतिलाई व्यवसाय ठान्ने हो र यसमा मानव मूल्य , भावना , भावुकता र नैतिकता नजोडिने हो भने अन्तत सुस्त गतिमा पतनको राजमार्गमा हिँडने यात्रु भइन्छ । महाजनी प्रथा होइन उन्मुक्त लोकतन्त्रतर्फ संक्रमणको खाँचो छ । चेतना भयाँ ।