
अर्जुन थपलिया
पृथ्वी घुम्छ भनेर पढेको तर खोजी गर्नेले कसरी पत्ता लगाएछन् भन्ने गुनथुन वर्षौदेखि मनमा चलिनै रहेको थियो । हिजो साँझ थाहा पाएँ , पृथ्वी घुम्छ भन्ने पत्ता लगाउने मान्छे गँजेडी रहेछन् । अब जिज्ञाशा राख्नु होला , के आधारमा यस्तो भने मैले ? लौ सुन्नुस् – हिजो साँझ भंगी काका मेरो घर आइपुग्नु भयो । के छ हौ पत्रकार बौवा भनेर कुशलक्षेम सोध्नु भयो । गाँजा चिलिममा भरेर ल्याउनु भएको रहेछ । मलाई भन्नुभयो ‘तान बौवा एक सर्को , आनन्द आउँछ ।’ जे त पर्ला भनेर दुई सर्को तानेको थिए , पृथ्वी त फनफनी घुम्यो । ओहो ! यो बुटी प्रयोग गर्नेले पो पृथ्वी घुम्छ भनेर पत्ता लगाएका रहेछन् – ज्ञात भयो ।
गाँजाको नसामा मलाई आकाशमा उडेको महसुस भइरहेको थियो । उचाल्दै पछार्दै गरेको जस्तो हुँदै थियो । एक्कासी म कैलाश पर्वतमा पुगेछु । त्यहाँ भगवान शिवसँग साक्षात्कार नै भयो । मैले प्रभुलाई ढोग गरे । प्रभुले सोध्नुभयो, मत्र्यलोकका पत्रकार कैलाशमा किन ? के कामले आयौं ? मैले यसो पृथ्वीतिर हेरें । झट्ट नजर प¥यो टुडकिया र जमदहको बीचमा बनेको एकीकृत दलित नमूना घरमा । मैले सोधे –अन्तरयामी भोलेनाथ , उ त्यो घरको भित्री नालीबेली जान्न पाउँ । हजुरलाई थाहा होला । हामीले कसैगर्दा पनि त्यस घरबारे तथ्य जानकारी पाउन सकेनौं । मेरो बिन्ती सुनेर देवाधिदेव प्रसन्न हुनुभयो र भन्नुभयो , ल दत्तचित्त भएर सुन पत्रकार ! म सत्य तथ्य बताइदिन्छु ।
मैले सविनय शिर निहु¥याएर सुन्न थालें । श्री महादेव भन्न थाल्नुभयो । २०७४ सालमा एक दिन पूर्व मेयर ससुराली घरमा बास बस्नुभयो । ससुराली जाने क्रममा उहाँले भाङवारी मुसहर बस्तीको चरम गरिबी हेर्दै जानुभएको थियो । ससुराली गाउँमा रातभरी स्याल कराएर उहाँलाई सुत्नै दिएन । उहाँ निदाउन सक्नु भएन । उहाँको मनमा दार्शनिक बिचार आयो । बिचरा ति मुसहरहरु रातभरी स्याल हुइयाको चर्को कर्कश ध्वनिले निदाउन सक्दा रहेनछन् । रातभरी अनिदो बसेपछि दिउँसो कसरी काम गर्नु ? अनि दिनभरी सुतेर निन्द्रा पु¥याउँदा रहेछन् । त्यसकारण यी बुकुरा मुसहरहरु गरिब भएछन् । उनको माक्र्सवादी सूक्ष्म चक्षुले देखेको र कुसाग्र बुद्धिको प्रखर तर्कले ठहर गरेको गरिबीको मुख्य कारण ‘स्याल कराउनु र मुसहर सुत्न नपाउनु हो । ’
मैले फेरि बिन्ती गरें भोले शंकर अनि के भयो ? त्यही रात उनले अठोट लिए – जुन दिन म गोलबजारको मेयर हुन्छु त्यस दिन जमदह र टुडकियाको बीचमा स्याललाई शयनकक्ष निर्माण गर्छु । स्यालहरु शयनकक्षमा रातभरी मस्त सुतेपछि मुसहरहरु पनि निदाउँछन् । बिहान उठेर काममा जान्छन् । अनि मुसहरको गरिबी समाप्त हुन्छ । मुसहर बस्तीमा समाजवाद ल्याउने यो मेरो पहिलो अभ्यास कम्युनिष्ट इतिहासमा एउटा बिचारधारा बन्ने छ –उनको ध्येय थियो ।
महादेवले भन्नुभयो सपना साकार हुने मार्ग खुल्यो । त्यही वर्ष उनी मेयरमा निर्वाचित भए । कत्ति पनि विलम्ब नगरी उनले स्याललाई शयन कक्ष निर्माण गर्न थाले । समाजवाद ल्याउने उनको प्रवल धोको थियो ।
मैले सोधे, श्री श्री भोलेदानी – त्यो घर बनाउन कति खर्च लागेको छ ? श्री श्री नाथले आज्ञा गर्नुभयो “पालिकाहरुले लुकाएको खर्च महादेवको तेश्रो आँखाले पनि देखिदैन ।” मलाई पनि यकिन थाहा छैन तर दुई करोड ५० लाख र अर्को आर्थिक वर्षमा पुन ५० लाख बजेट मर्मतका लागि थियो रे । त्यहाँ १५ वटा घरमा ९० कोठा बनेका छन् । तराई मधेस समृद्धि कार्यक्रमबाट बजेट पाएकोले समाजवादका लागि स्याललाई शयनकक्ष निर्माण गरिएको हो ।
मैले भने –अनि त्यहाँ त सबै घर खाली छन् श्री वामदेव । कही कतै स्याल छैन । महादेव अलि क्रोधमा आउनुभयो । कडकिएर भन्नुभयो , लाटा पत्रकार मान्छे पनि बस्न नमान्ने घरमा स्याल सुत्न मान्छ त ? महादेवको रौद्र रुप देखेर म डराएँ । श्रीमुखले मलाई स्मरण गराउनु भयो । ए गँजेडी पत्रकार तिम्रै अगाडि तत्कालीन प्रमुख जिल्ला अधिकारीले यो घर मानव बस्न लायक छैन भनेर तत्कालीन मेयरलाई ¥याख¥याख पारेको होइन ? ल भन त त्यो दिन के के भएको थियो ?
मैले बेलिबिस्तार लगाए । भगवान सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेल , त्यसबेलाका प्रहरी प्रमुख , सशस्त्र प्रहरी प्रमुख , राष्ट्रिय अनुसन्धानका एसपी, सेनाका कर्नेल र मेयसहित त्यहाँ पुग्नुभएको थियो । म पनि लुखुरलुखुर पछ्याउँदै गएँ । गोलबजारको क्याम्पसमा कोभिड १९ संक्रमितका लागि क्वारेन्टाइन राखिएको थियो । क्याम्पसबाट हटाएर स्यालको शयनकक्षमा क्वारेन्टाइन राख्ने भनेर अनुगमन गर्न सरकारी अधिकारीहरु त्यहाँ पुगेका थिए ।
सरकारी अधिकारीहरुले घर निरीक्षण गरेर ओंठ लेप¥याए । प्रजिअ प्रदीप कणेलले भन्नुभयो , यो घरमा मान्छे त बस्न मिल्ने रहेनछ– स्याल कसरी बस्छ मेयर साहव ? छानाको जस्तापाता त फोटोकापी पेपरभन्दा पातलो छ । कणेल सरको कुरा सुनेर मेयर साहवको अनुहार कालो धसिङर जस्तै भयो । लाज लुकाउने बहाना नपाएर मेयर साहवले भन्नुभयो ठेकेदारले मलाई धोका दिए सर । मेयर साहव झन फस्नुभयो । हेर्दै नहेरी कसरी भुक्तानी दिनुभयो त ? एउटा ठेकेदारले मेयरलाई नटेर्ने हुन्छ ? ल लेखेर दिनु म ठेकेदारलाई पाता कस्छु । मेयर साहव निरुत्तर हुनुभयो । सरकारी अधिकारीहरुले भन्नुभयो यहाँ मान्छे बस्न लायक छैन । कोभिड १९ संक्रमितका लागि क्वारेन्टाइन भवनका रुपमा प्रयोग गर्न त्यो घर उपयुक्त ठहरिएन । धन्न सरकारी अधिकारीहरुले थाहा पाएनन् “ठेकेदार साढूका छोरा हुन भनेर ” । नत्र कति गिल्ला गर्थे होलान् ।
गौरातर्फ हेर्दै नटराजले भन्नुभयो यो पत्रकारले गाँजा पिए पनि रिपोर्टिङ्ग सही बतायो । मैले फेरि प्रश्न तेस्र्याएँ । भगवान आशुतोष , त्यो घरलाई एकीकृत दलित नमूना बस्ती नामाकरण किन गरिएको हो ? भगवानले भन्नुभयो लाटा पत्रकार कुरा बुझ्दैन ।
मैले एक पटक करजोरी भगवानलाई सोधे – प्रभु भांगवारीका दलित मुसहरहरुलाई त्यहाँ राखे हुन्थ्यो नि ! महादेव मुस्कुराउनु भयो र भन्नुभयो यो पत्रकारले गुह्य कुरा मलाई ओकल्न लगाएरै छाड्ने भयो । ल सुन । भांगवारीको मुसहरहरु बसेको जमिन जिरायत जग्गा हो । उहिले एक जना जमिन्दारले जग्गाको कर राणाहरुलाई तिर्न नसकेपछि त्यो जग्गा खोसियो र अमानतमा लगाइयो । यस्तो जग्गालाई जिरायत भनिन्छ । अमानतमा जग्गा कमाउनेहरुले पनि छाडेर गएपछि त्यहाँ मुसहर बस्ती बस्यो । प्रजातन्त्र आएपछि जमिन्दारका नाती पनातीहरु जग्गा खोज्दै आए । सरकारको पुरानो बक्यौता तिर्ने तथा मालपोत , नापी र भूमिसुधार मन्त्रालयमा कागजात मिलाएर जग्गाको लालपुर्जा बनाउन मिल्ने भएपछि उनीहरुले प्रकृया सुरु गरे । तर सो जग्गा खाली गराउन त्यहाँ बसेका मुसहरहरुलाई उचित निकास र वैकल्पिक बसोबास दिनु प¥यो । त्यसका लागि एकीकृत दलित नमूना बस्ती नाम राखिएको हो ।
म त महादेवका कुरा सुनेर रणभूल्ल मै परें । प्रभु कता स्यालको शयनकक्ष कता दलित बस्ती ? कुरा बाझिएन र ? महादेवले भन्नुभयो , मुसहर बस्तीको बीचबाट हाइवे ( राजमार्ग ) गएको कतै देखेका छौ ? मैले भने, छैन प्रभु । भगवानले भन्नुभयो –हो यो कुरा बुझ । जिरायत जग्गा रैतानी बनाउन ( लालपुर्जा बनाउन ) नगरपालिकाको सिफारिस बिना हुँदैन । मेयरले मुसहर बस्ती खाली गराउन र जग्गा जमिन्दारका नाती पनातीको स्वामित्वमा पु¥याउन किन सिफारिस दिने ? मैले भने माने – माने ! भगवान भित्री सम्झौता ? महादेवले आँखा झिम्काएर भन्नुभयो “इशारोको अगर सम्झो तो राज को राज रहने दो ”
महादेवले एउटा उखान भन्नुभयो “वनको चरी वन कै ढुंगा – गुगेलीले हान्यो , शिकार मारेर खायो ” आफ्नो घरको के गयो ? ऐलानी पर्ती जग्गा , सरकारको बजेट । डाडु पन्यु आफ्नो हातमा । स्याल बस्न नमाने भांगवारी मुसहरलाई त्यहाँ सार्ने । बस्ती खाली गराउने । जमिन्दारका नाती पनातीसंग साझेदारी गर्ने । समाजवादको यो भित्री खाका नगरवासी कसैले थाहा पाउने कुरै भएन । तर आज महादेवको मुखारवृन्दबाट थाहा पाएर म त चकित परे ।
अनि किन यो भित्री योजना सफल भएन पशुपतिनाथ भनेर हात जोडे मैले । महादेवले भन्नुभयो प्रयास नगरिएको होइन तर निर्मल लामाका अनुयायी मुसहर्नियाका तामाङ्गहरुले कडा विरोध जनाए । मुसहर बस्ती उठाउन नदिने भने पछि नगरपिता पछि हटेछन् ।
मैले अन्तिम प्रश्न भन्दै जटाधारीलाई सोधे । भगवान अब त त्यहाँ दलितहरुलाई राख्दा हुन्छ नि ? दलितहरु किन त्यहाँ जान नमानेका ? भगवानले मलाई नै सोध्नुभयो नगरपालिकाले त्यो घरमा बस्न तिमीलाई दिनुभयो भने जान्छौ ? मैले भने जान्न प्रभु । भुतनाथले सोध्नुभयो किन नजाने ? तिम्रो घरभन्दा त राम्रो घर छ त्यहाँ ? मैले जवाफ दिए प्रभु म जन्मे हुर्केको गुरुधाम गाउँ मलाई असाध्यै प्रिय लाग्छ । यहाँका रामजनकसंग मैले शैशव अवस्थादेखि धूलोमाटो खेलेको छु । भूपनारायणसंग छुर कवडी खेलेको छु । गुलजारी काकीले मलाई काखमा बोक्नु भएको छ । यहाँ मेरी महतारीले रोपेको आँपका रुख छन् । मैले रोपेको अम्बाको बोट छ । मेरो गाउँका सिताराम र शिवदयाल साँझमा भजन गाउँछन् । मेरो नाता, कुटुम्ब, अफ्न्त, हितैषी सबै यहाँ छन् । यहाँ मेरो नाभी जोडिएको छ ।
महादेवले भन्नुभयो तिमीभन्दा मुसहर अझै गरिब छन् तर भावना , मन , खुशी , हासो , रोदन र समवेदना तिम्रो , मुसहरको र मेयरको पनि एउटै हो । आफ्नो थातथलो सबैलाई प्रिय हुन्छ । अनि त्यो घर बनाउँदा न त स्याललाई सोधियो न दलित मुसहरलाई ? मेयरले आफ्नै मनले घर बनाए । विकास पाउनु जनताको अधिकार हो । विकास दान होइन । त्यसकारण जसका लागि विकास गरिएको हो उसंग परामर्श गर्नुपर्छ । उनीहरुको सहभागितामा काम गरिनु पर्छ । लौ हेर त ! जनता आवास कार्यक्रम अन्तर्गत बनाएको घरमा दलित खुशी खुशी बसेका छन कि छैनन् ? त्यो घोर उपेक्षा गरेर निहित स्वार्थ राखेर बनाएको घरमा दलित बस्न नमान्नु ठीकै हो । हेर न ! त्यो महल नजिकै गरिब दलितहरु झुप्रो बनाएर बसेका छन् तर त्यो भवनमा न स्याल आयो न दलित आए । भगवान भावुक हुनुभयो । भन्नुभयो पहिले ति कम्युनिष्ट नेताहरु मेयरसहित १० परिवारलाई यसो एक वर्ष त्यो घरमा कम्यून शैलीमा बस्न भन त ! कोही तयार हुन्छन् ? अनि मेयर जस्ता कम्युनिष्ट बस्न नसक्ने घरमा दलित कसरी बस्न जालान त ? त्यही घरलाई जनता आवास शैलीमा भांगवारी मै बनाएको भए सबै दलितले स्वीकार्थे ।
अब नयाँ मेयरले समाजवादको अभ्यास गर्न स्याल ल्याउलान त त्यस घरमा ? महादेवले भन्नुभयो , उनीहरुको पार्टी फुटीसक्यो । अब नयाँ मेयरले नयाँ समाजवाद ल्याउँछन् । बजेट प्राप्त हुनुपर्छ ।
गाँजाको प्रभाव घटेछ । छ्याङ्ग भएर ब्युझेर हेर्छु त खलखली पसिना आइरहेको रहेछ । एक लोटा पानी खाए । बल्ल ठीक ठाउँमा आएँ । चुनावमा पराजित भएपछि स्याललाई शयन कक्षमार्फत समाजवाद ल्याउने सपना अधुरै रह्यो ।