अर्जुन थपलिया
शान्ति नहंी तव तक, जव तक सुख भाग न नर का सम हो
नहंी किसी को बहुत अधिक हो नहंी किसीको कम हो ।
प्रस्तुत हरफहरु भारतीय युग कवि रामधारी सिंह ( दिनकर ) का हुन् । कवि भन्छन् मुर्दा शान्ति शान्ति होइन , शान्ति न्यायमा आधारित हुनुपर्छ । तवसम्म शान्ति कायम हुँदैन जवसम्म सुखको भाग हरेक मानवको भागमा समान हुँदैन । पछिल्लो एक पंक्तिमा कविले समाजवादको आधारभूत सिद्धान्तलाई प्रष्टा्याएका छन् । न कसैलाई अधिक भन्दा अधिक होस् न कसैलाई आवश्यकता भन्दा कम होस् । आधारभूत समाजवाद यही हो ।
कवि दिनकरका यी दुई पंक्तिलाई आधार मानेर थप कुरा लेख्नु अघि यो घर चिनाउन चाहान्छु । यो घर हो तेतरिया संग्रामपुरका तारा बहादुर सुनुवारको । उनी गोलबजार वडा नं. २ मा पियन पदमा करारमा कार्यरत थिए । श्याम कुमार श्रेष्ठ मेयर भएपछि सुनुवार कोपभाजनमा परे ।
अब उप्रान्त भन्नु के छ भने –चोहर्वा दरवारका बालबच्चाहरुले रसभरी चम्चाले काटेर ज्युनार गरुन् त्यसमा कसैलाई विस्मात नहोला दिनकरको कवितालाई न्यायको सिद्धान्त मान्ने हो भने तारा बहादुर सुनुवारका बालबच्चाले कोदोको रोटी चुँडेर नुनसँग चोपेर त खान पाउनु पर्छ । नत्र शान्ति कायम रहँदैन । रह्यो भने पनि त्यसलाई मुर्दा शान्ति अर्थात अन्याय भित्रको शान्ति भनिन्छ । न्यायमा आधारित शान्ति कदापी भनिने छैन ।
अब अन्यायको पनि महा अन्याय पक्ष हेरौं । मेयर साहव र पूर्व कानून मन्त्री ज्यू त्यति अनभिज्ञ हुनुहुन्न । मेयर साहवलाई पनि एक वर्षको कार्यगत अनुभवले ज्ञात भयो होला । जवसम्म प्रमुख प्रशासकीय अधिकृत दाहिने हुुँदैन तवसम्म स्वयं मेयरले पनि एक्लै चाहेर १ करोड ५२ लाख राजस्व हिनामिना गर्न सक्दैनन् । विष्णुपुर गाउँपालिकामा अध्यक्ष र राजस्वका कर्मचारी मिलेर हिनामिना गरेको ३५ लाख रकम त्यहाँका प्रमुख प्रशासकीय अधिकृतले कडाई गरेर पदमा छँदै असुल उपर गराए । गोलबजारमा हटिया ठेक्का रकम एक करोड ५२ लाख हिनामिना भएको त स्वयं मेयर श्याम श्रेष्ठ ज्युको मुखारवृन्दबाटै पटक पटक सुनिएको हो । मेयर साहव र पूर्व कानून मन्त्री ज्यु के प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलको सहयोग बिना त्यो राजस्व रकम अपचलन भएको मान्नु हुन्छ ? के यो सम्भव छ ? के उनले त्यस रकमबाट भाग नखाइ त्यत्रो ठूलो रकम अपचलन गर्न सघाएका होलान ? दुनियाँ लाटो छैनन् नेता दाजुभाई ज्युहरु । अनि तारा बहादुरको जागिर पजनी हुने तर अनन्त कुमार पौडेलले पूर्व कानून मन्त्री र मेयर ज्युको संरक्षकत्व प्राप्त गर्ने ? यो अन्याय कसरी टुलुटुलु हेरेर बस्नु ? मलाई पनि दुनियाँले सोधिरहन्छन् – तिमी किन लेखिरहन्छौ ? म भन्छु यसकारण म लेखिरहेको छु । किनकि म देख्दैछु नुन रोटी खोसिएको छ । यसरी शान्ति कायम रहँदैन ।
सबैलाई थाहा छ पाँच वर्ष अधि खाडीमुलुक जान तम्तयार तर राहदानी बनाउने खर्च नभएर १० हजार ऋण लिएका व्यक्तिले नगरपालिकामा अचानक जागिर पाए । ५ वर्षको दरवियानमा झिंगाबस्दा पनि चिप्लिने चिल्ला टायल लगाएर घर बनाएका छन् । ५ वर्षको सम्पूर्ण तलब जोडदा पनि त्यस घरमा लगाइएको टायल खरिद गर्न पनि पुग्दैन । उसको जागिर सुरक्षित छ । उ मेयर साहबको प्रियपात्र छन् तर तारा बहादुरको नुन रोटी खोसिएको छ । यसरी समाजमा अमन चयन कायम रहँदैन । एमालेको समाजवाद ढाँटको निम्तो खाई पत्याउनुमा परिणत हुन्छ । त्यसकारण म लेख्न थालेको छु ।
तारा बहादुर प्रतिनिधि पात्र मात्र हुन् । मेयर श्याम श्रेष्ठ ज्युले कलम ठोसेर रोजगारी गुमेका लगभग सबै ( अपवाद वाहेक ) मध्यम वर्गका थिए । उनीहरुको दोष यति थियो कि उनीहरु नेकपा माओवादी केन्द्र पार्टीबाट जितेका मेयर देवनाथ साहको पालामा नियुक्त भएका थिए । उनीहरुको अवस्था र जागिर पाउन गरेको भागिरथ प्रयत्न मैथिली उखान जस्तै थियो । “ कि जाने दुखिया कि दुखिया के माई ” ( कि दुख पीडा दुखियालाई थाहा छ कि उनकी आमालाई ) । हामीले त क्रान्तिकारी मेयर साहबबाट आशा गरेका थियौं ( कतिपय प्रशंगमा उहाँले अभिव्यक्ति पनि दिनुभएको थियो ) – एक करोड ५२ लाख भ्रष्टाचार गर्ने मतियार , योजनाकार र अंशियारहरु अनन्त कुमार पौडेलसहितलाई कानून लगाएर गोर्खेलौरी कस्छन् भनेर । तर हाम्रो आशा त बिहानीको शीतको थोपा बिलाए जस्तै भयो । मध्यम वर्गका बुकुराहरुको जागिर चट पारेर भ्रष्टाचारका ब्वाँसोहरुसँग लगनगाँठो जोडेपछि म लेख्न बाध्य भएँ । त्यसकारण म लेखिरहन्छु ।
जगिर पाउने र जागिर जाने गुण दोषको आधारमा हो । आस्थाको आधारमा होइन । पूर्व मेयरले आस्थाकै आधारमा नियुक्त गरेको भए पनि फरक आस्थाको मेयर आउन साथ आस्था नमिलेकै कारणले जागिरबाट हटाउने प्रचलनलाई सुशासन मान्न सकिन्न । अब अहिलेका मेयरले भर्ना गर्ने कर्मचारी ५ वर्ष पछि अर्को आस्थाका व्यक्तिले जित्नासाथ हटनु पर्छ । यो नजिर किमार्थ सुशासनको पक्षमा छैन । आस्थाका आधारमा हटाउनै नहुने । हटाइसकेपछि पुनः भर्ना गर्न स्वच्छ प्रतिस्पर्धाको प्रकृया अपनाउनु पथ्र्यो । तर जो दरवारमा गएर बिन्ती बिसायो , जसले नजराना चढाउने कबुल ग¥यो वा जसले गुलामी ग¥यो वा जसको आस्था मिल्यो –दरवार उ प्रति प्रशन्न भयो । उसलाई काममा खटायो । अदालतमा मुद्दा छिनोफनो भएकै छैन पुरानाहरु मध्ये केही काममा फर्किए । कोही रोएर बसे । निकाय विधि अनुसार चल्नुपर्छ व्यक्ति अनुसार होइन । यो सुशासन होइन । आस्था नमिलेकै कारण गरिएको काखापाखा अनाचार हो , अन्याय हो । यो मेयर श्याम श्रेष्ठको राज्यमा न्याय र शान्तिको बध लीला हो । अशान्तिलाई निम्तो हो । त्यसकारण म लेखिरहेको छु ।
पुनरावेदन अदालतबाट जागिर चट पारिएका कर्मचारीहरुको रीट निवेदन खारेज भएछ । मेयर साहवको अघोषित सचिवालयबाट फेसबुकमा न्यायालयलाई बधाई ज्ञापन गरिएछ । मुद्दा जित्नुभयो मेयर साहवले अनि न्यायालयलाई किन बधाई ? न्यायालयलाई के नाफा छ र यसमा ? के यसरी न्यायालयलाई सामाजिक सञ्जालमार्फत बधाई दिएर न्यायालय हाम्रो मुठ्ठीमा छ भन्न खोजिएको हो ? हुनत ः मेयर साहव स्वयंले सार्वजनिक रुपमै भाषण गर्दा भन्नुभएको थियो “ मैले फोन गरेर श्रीमान्लाई भनिदिएको छु आदि आदि ( रेकर्डिङ्ग सुरक्षित छ ) ” । अहिलेको न्यायालयलाई दिइएको बधाईले मुद्दा कसरी जितिएछ भन्ने छर्लङ्ग हुन्छ । नुन रोटी हारेको छ । फगत दरवारिया अभिमानले जितेको छ । कुशासनले जितेको छ । त्यसकारण म लेखिरहेको छु ।
अन्त्यमा एक फरक प्रसंग ः एक मालिकका दुई जना दास थिए । दुबै दासमा बढी वफादार हुने होडवाजी थियो । एक दिन ख्वामित सुतेको बेला दुबै जना दासले एक–एक पाउमा मालिस गर्न थालेछन् । मालिक उङ्दै ( निदाउँदै ) थिए । त्यसैबेला मालिकले एउटा खुट्टा अर्को खुट्टामाथि चढाएछन् । जुन नोकरले मालिस गरेको खुट्टा तल प¥यो उसले मालिस गर्न पाएन । उसले अर्को नोकरलाई भन्यो तैले मालिस गरेको खुट्टा उता हटा । तान उता तल झार । अर्कोले भन्यो मैले चढाएको हो र ! म झार्दिन । मालिकले आफै चढाए आफै झार्नु हुन्छ । अब पहिलो नोकरलाई डाहा भयो । म भन्दा त यो पो बढी वफादार कहलिने भयो । उसले चेतावनी दियो र भन्यो त मालिकको खुट्टा झार्छस कि म उपाय गरुँ ? अर्कोले जवाफ दियो जे गर्नु छ गर । खुट्टा थिच्न नपाएको नोकरले मुङ्ग्रो ल्याएर मालिकको माथिको खुट्टमा प्रहार ग¥यो । नली हाड भाच्चिने गरी दियो । मालिक इन्तु न चिन्तु भएर रन्थनिए । मैले थिचेको खुट्टामा हान्ने भनेर अर्कोले हथौडा ल्याएर मालिकको अर्को खु¥ामा प्रहार गरे । मालिकको घुँडाको पाङ्ग्र्रा फुटाए ।
अनुचरहरुले खुट्टा थिचेर सेवा गरेको राजनीतिक मालिकहरुलाई बडो आनन्द आइरहेको छ । तर न्यायालयको पनि मर्यादा भताभुङ्ग पार्ने गरी लेखिएका स्टाटस र अन्य कृयाकलापले एउटा समाजवादी पार्टीको नली खुट्टा चकनाचुर हुँदेछ । म त्यसकारण लेख्दैछु । क्रमश…