क्रोधाग्निले जलेको टायरको धूलो जनस्वास्थ्यका लागि हानिकारक

[sharethis-inline-buttons]

चैत मासमा वसन्ती मनोहर सुन्दरता छ । पूर्वी सिरसिरे शितल बतासले रोम रोममा मादक रस घोलिरहेको छ । मलय मिश्रित पवनले घ्राण इन्द्रिय मगमग हुन्छ । सर्वत्र मनमोहक प्राकृतिक छटा देखेर समाज आनन्दको अतिरेकमा बहने बेला हो यो , तर गोलबजारको मुख्य चोक गोलपार्क भने नर्क बनेको छ । हावाको अलि ठूलो वेग आउनसाथ टायर बालेर असरल्ल छोडिएको कालो धूलो खरानी बुङ्गबुङ्गति उड्छ । सवारी साधनको वेगवान आवत जावतले त झन कालो धूलोको मुस्लो नै हावामा तैरिएको देखिन्छ । उत्तर– दक्षिणपट्टी रहेका पसलहरु, ति पसलमा जाने ग्राहकहरु, पैदल हिड्ने बटुवाहरुको इन्द्रियहरुमा पस्छ । मुख त थुनिएको हुन्छ तर आँखा , कान र नाकले त्यो कलविषसरी टायरको धूलो खानैपर्छ ।

गोलपार्कदेखि २ सय मिटर पश्चिम गोलबजार नगरपालिकाको कार्यालय छ । त्यहाँ राज गर्ने सिंहासनधारीहरु बस्ने कोठा वातानुकूलित ( एसी जडित ) छ । त्यहाँ राज गर्ने शासकहरुको फोक्सोमा वातानुकूलित यन्त्रले फिल्टर गरेको हावा प्रविष्ट हुन्छ तर जनताको स्वास्थ्यमा जतिसुकै प्रतिकुल प्रभाव परोस् – कुनै वास्ता छैन ।

गोलपार्कको यो विषम, विद्रुप र मानव स्वास्थ्यका लागि प्रतिकुल अवस्था आफै श्रृजना भएको होइन । यो परिस्थिति गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको अतिशय क्रोधाग्नि शान्त पार्न जनतालाई दिइएको उपहार हो । मेयर श्रेष्ठमाथि मोविल छ्याप्ने जस्तो घोर अमानवीय कार्य भयो । निश्चय पनि यो घटनाबाट उहाँको मानमर्दन गर्ने कोसिस भयो । यो अपमानको आगोले उहाँलाई कति पोलेको होला त्यसको अनुमान अन्यले लगाउन सक्दैनौं । किनकि जसलाई मर्म पर्छ त्यसको वास्तविक मर्मस्पर्शी उही व्यक्ति हुन्छ । अन्यले त सहानुभूति प्रकट गर्दै स्नेहलेप लगाउने मात्र हो । निश्चय पनि मोविल छर्ने कार्य मेयर श्याम श्रेष्ठको तेजोबध गर्ने मानव अधिकार उलंघन गर्ने कार्य थियो ।

अपमानको आगोले पोल्दा जलन हुनु स्वभाविक हो । पीडा हुनु र त्यसको परिणाम स्वरुप क्रोध जाग्नु पनि अस्वभाविक होइन । तर नगरपालिका राज्यको एउटा जिम्मेवार अंग हो । मेयर श्याम श्रेष्ठ जनताद्वारा चुनिएका जनप्रतिनिधि हुन् । गैर राज्य पक्ष विद्रोहको शिलशिलामा जंगल पसेर जंगली हुन सक्छन् । तर राज्यलाई र त्यसका हरेक निकायलाई जनताले कर तिरेका छन् । त्यसकारण राज्य पक्षलाई जंगली हुने , आगजनी गर्ने वा तोडफोड गर्ने छुट छैन । जनताले नगरपालिकालाई कर तिरेको हराभरा , स्वच्छ वातावरण र चिरिच्याट्ट बजारका लागि हो । टायरको विषाक्त धूलो सुघ्नका लागि होइन ।

मोविल छ्याप्ने कार्य हिंसात्मक प्रवृति हो । यसले व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा आघात पु¥याउँछ । आघातले मर्माहत मेयर श्याम श्रेष्ठ ज्युले हिंसाको बदला प्रतिहिंसालाई रोज्नुभयो । यसलाई किमार्थ शोभनीय मान्न सकिदैन । तरबार बनाउने अनि त्यसलाई छेक्ने ढाल बनाउने अनि फेरि ढालभन्दा शक्तिशाली तरवार बनाउने र त्यसलाई छेक्ने उन्नत ढाल निर्माण गर्ने प्रवृतिले युद्ध र हिंसालाई बढावा दियो । क्रमश संसारको समूल नष्ट गर्ने आणविक बमसम्म तयार भयो । हिंसाको उपचार प्रतिहिंसा हुँदैहोइन । झन् राज्यका अंगमा बसेर आगजनी , तोडफोड र सार्वजनिक सम्पत्तिको बर्बादी गर्न मिल्दै मिल्दैन । हिंसा नाजायज र प्रतिहिंसा जायज हुन सक्दैन । प्रतिहिंसाको बदला झन् ठूलो हिंसा भयो भने के भन्ने नि ?

हिंसा कसले ग¥यो ति व्यक्तिहरु कानूनको दायरा अनुसार डण्दित हुनुपर्छ । तर हिंसामा भाग नलिने आम मानिसहरुको स्वास्थ्यमा असर पर्ने गरी टायर बाल्नै हुँदैन । हिंसामा भाग नलिने निर्दोषहरु चढेको गाडी तोडफोड गरिनु हुँदैन । जो निर्दोष थिए उनको गाडी तोडफोड गर्दा उसले फेरि बदलाको कारवाही गर्दै अर्को गाडी तोडफोड र आगजनी ग¥यो भने के भन्ने ? अर्को पक्षले टायर बालेर सडक जाम ग¥यो भने के भन्ने ? आफूले गरेको हिंसा ठीक तर अरुले गरेको हिंसा बेठीक भन्न मिल्छ ? सार्वजनिक सम्पत्ति कालोपत्रे डढेर टाटा बस्यो । त्यसकारण हिंसाको बदला प्रतिहिंसा होइन बरु अहिंसात्मक प्रतिरोधका बाटाहरु थुप्रै छन् तिनलाई अवलम्बन गर्दा हुन्छ ।

यसबेला मेयर श्याम श्रेष्ठ ज्युको आलोचना गर्नु दुखेको घाउमा नुन चुक लगाउनु सरह हुनजान्छ । त्यसकारण उहाँलाई सान्त्वनाका शब्दहरुले सुम्सुम्याउनु नै उचित हुन्छ । मात्र यति भन्नु छ कि विरोधका लागि विध्वंसात्मक तौरतरिका भन्दा रचनात्मक र शान्तिपूर्ण शैली समाजका लागि हितकर हुन्छ । ६० हजार जनताका प्रतिनिधि हिंसामा उत्रिनु हुँदैन । हिजो राजमार्गमा पैदा गरिएको दृश्यको लागि उहाँले जवाफदेही लिनुपर्छ ।

मेरो सरोकार के हो भने हिजोदेखि गोलपार्क वरपर यत्रतत्र छरिएका टायरका तार र धूलो खरानीको रागले अझै त्यस वरपर हिड्ने बटुवाहरुको नाथ्रीलाई एलर्जी पैदा गरिरहेको छ । टायरको खरानी धूलो कोभिड १९ जतिकै फोक्सोका लागि हानिकारक हुन जान्छ । सफा र स्वस्थ वातावरण संविधान प्रदत्त जनताको मौलिक हक हो । वातावरणीय क्षतिले हामी सबैलाई पिर्छ । त्यो धूलो नगरपालिकाका सफाई कर्मचारीहरुले पनि बढार्न छोडेछन् । कुनै स्वयंसेवी संस्था वा समाजका हकमा रचनात्मक काम गर्ने जाँगर भएका युवाहरुले आजै साँझ पवनको गति सुस्त भएको बेला त्यो टायरको धूलोमैलो बढारेर व्यवस्थापन गर्न सके समाजमा सबैको हित हुन्थ्यो । म पनि हातेमालो गर्न आउँथें बरु ।

 


प्रकाशित : २०७९ चैत्र १६ बिहीबार