मैले तिम्रो नेतालाई मेरो हत्याको पाप र अपराधबाट अहिल्यै मुक्त गरिदिएको छु

[sharethis-inline-buttons]

प्रिय बहिनी ,

तिमीले हस्याङ र फस्याङ गर्दै फोन ग¥यौं घरमै बचेर बस्नु । सुरक्षित रहनु । मैले जवाफ दिए खतराबाट जोगिने हो तर चुनौतीको सामना गर्ने हो । बहिनी , हाम्रो लोकतान्त्रिक अभ्यास परिपक्व भइनसकेको अवस्था हो । राजनीतिक र सामाजिक वृत्तमा लोकतान्त्रिक अभ्यास जीवन पद्धति बन्न सकेको छैन । हाम्रा नेताहरु लोकतन्त्रलाई स्वीकार गर्छन् तर आफ्नो विरोध गर्नेलाई आँखाको कसिंगर ठान्दछन् । आलोचना सहन गर्ने, आलोचनालाई सुझावको रुपमा ग्रहण गर्ने र त्यसका आधारमा आफूलाई वा प्रणालीलाई सच्याउने गर्दैनन् । आफ्ना विरुद्ध लेख्ने वा बोल्नेको अस्तित्व मेटाउन चाहान्छन् । तर हामी जस्ता मान्छे आशावादी हुनैपर्छ । लोकतन्त्रले आफूले आफैलाई परिस्कृत गर्दै लैजानेछ र नेपाली लोकतन्त्रले संसारमा सुन्दर लोकतन्त्रको उपमा प्राप्त गर्ने छ । हाम्रा नेताहरुमा पनि आलोचनालाई लोकतान्त्रिक अभ्यास ठान्ने चेत पलाउने छ ।

मैले सुनेको छु एक पटक तत्कालीन भारतीय प्रधान मन्त्री जवाहरलाल नेहरु कुनै स्थानमा सभालाई संवोधन गर्न पुगेका थिए । एक शहीदका पिता जो स्वतन्त्र सेनानी पनि थिए उनले मञ्चमा चढ्ने बेलामा नेहरुको नाडीमा समाए । उनले सोधे “ भारतलाई स्वतन्त्र गर्न हामी लडाईमा होमियौं । मेरो छोरा शहीद भयो । भारत स्वतन्त्र भयो । तिमी प्रधानमन्त्री भयौं तर मैले के पाएँ ?” नेहरुले जवाफ दिए “ भारत जस्तो विशाल देशका प्रधानमन्त्रीको सार्वजनिक स्थलमा नाडी समाउने स्वतन्त्रता पाएका छौं । ” स्वतन्त्रता सेनानीले नेहरुको नाडी छोडेर सलाम गरेका थिए ।

हामी नेपालीले हाम्रा नेताहरुको सार्वजनिक रुपमा नाडी समात्नका लागि ( सार्वजनिक रुपमा प्रश्न गर्न र आलोचना गर्न ) कै लागि राजतन्त्रलाई ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका हौं । तर हाम्रा नेताहरु हिटलर बन्न चाहान्छन् । उनीहरु भन्छन् लोकतन्त्र ठीक छ तर हामी दुई भाईको विरोध हुनु भएन । हामी दुई भाईको विरोध भएमा हामी लोकतान्त्रिक आचरणको सीमा भित्र बस्दैनौ । हिंसामा उत्रिन्छौं । हाम्रा विरुद्ध लेख्ने पत्रकारलाई छोडदैनौ , समाप्त पार्छौ । हामीले आशा त के गरेका थियौं भने हाम्रा नेताले भन्नेछन् ,“ तिमी बोल र लेख , म नसुन्न नदेख्न पनि सक्छु तर तिम्रो बोल्ने र लेख्ने अधिकार कसैले खोस्यो भने म आफ्नो रगत बगाएर पनि त्यसको रक्षा गर्छु । तर हाम्रा नेताहरु आफू विरुद्ध बोल्ने र लेख्ने पत्रकारलाई तारो बनाउँदै छन् । हिटलरको जस्तो स्वभाव भएका नेताबाट लोकतान्त्रिक सहिष्णुताको मधुरिमा अभिव्यक्त हुँदैन । उनीहरुले शक्तिको दम्भ नै ओकल्छन् ।

एकथरी भन्छन् मजबुरीका नाम महात्मा गान्धी । अर्काथरी भन्छन् मजबुतीका नाम महात्मा गान्धी । म दोश्रो बिचारसँग सहमत छु । महात्मा गान्धी मजबुर थिएनन् मजबुत थिए । गान्धीले भनेका छन् “किनकि हिंसा र कायरताको उद्गम स्थल एउटै हो । जो कायर हुन्छन् उसले मात्र हिंसाको बाटो रोज्छन् । ” गान्धीलेले लेखेका छन् आफूलाई सिध्याईदेला भन्ने डरले हिंस्रकले पहिल्यै आक्रमण गरेर विरोधीलाई समाप्त पारिदिन चाहान्छ । यो कायरता हो । लोकतन्त्रमा त बलियोले कमजोरको रक्षा गर्ने अभिभारा लिनुपर्छ । त्यसकारण लोकतन्त्र अहिंसाको पक्षपोषण गर्ने प्रणाली हो । त्यसकारण मजबुतिको नाम महात्मा गान्धी हो । शक्तिशाली र वीरहरुले मात्र सहिष्णुता प्रदर्शन गर्न सक्छन् । मजबुर त हिटलर थिए । मजबुत गान्धी थिए ।

म महान आत्मा गान्धीको यस बिचारसँग सामीप्यता राख्दछु । मेरो मानव अधिकार , अहिंसा र शान्तिपूर्ण विरोधको बाटो अवलम्बन गर्ने अभ्यास र निष्ठा सिंगो समाजलाई ज्ञात छ । त्यसकारण मैले यस सम्बन्धमा कैही भन्नु छैन । यदाकदा हिंसाको बाछिटाले अहिंसावादीहरु लाई पनि सताउँछ । कोपभाजनमा पार्न सक्छ । तर निर्भय मष्तिष्क लिएर बाँच्न पनि त जरुरी छ । भयआतुर भएर कलमको बिर्को बन्द गर्न पनि सुहाउँदैन । आत्मस्वभिमानले पनि दिंदैन ।

म सानो उमेरमा ( १० वर्षको उमेर देखि ) तत्कालीन नेकपा मालेका नेताहरुले भूमिगत अवस्थामा दिने भौतिकवादी दर्शनको प्रशिक्षण सुनेर बुझेर हुर्केको मान्छे । द्वन्द्ववादको सिद्धान्तले समाजलाई वर्गीय रुपमा हेर्छ र समाजमा द्वन्द्व हुनुलाई अनिवार्य मान्छ । तर म यतिबेला आध्यात्मिक दर्शन प्रति पनि आकर्षित भएको छु । एक मुक्त नारी थिईन् “सहजो वाई ” । उनले भनेकी छिन् ‘निद्र्वन्द्व, निरवैरता र निरवासना । ’ मनुष्य निद्र्वन्द्व हुन सक्छन् , त्यसपछि उ निरवैरता र निरवासनाको अवस्थामा पुग्न सक्छ । यतिबेला द्वन्द्ववाद र निद्र्वन्द्ववाद बीच द्वन्द्वमा रुमलिएको मान्छे हुँ म । फ्युजन कसरी हुन्छ थाहा छैन ।

ओशो सन्यासी भएको नाताले म ओशो दर्शनको रस माधुर्यतामा पनि अलि अलि डुबेको छु । ओशो आश्रममा आफ्ना सन्यासीहरुलाई मृत्युको कला सिकाइन्छ । निर्भय र होसपूर्वक मर्न सिक भनिन्छ । आध्यत्मको अलौकिक विधा अनुसार साधनाको मार्गमा म एक अणु बरावर पनि अघि बढेको छैन । तर साहित्य पढेर भए पनि थोरै अनुभूति एकत्रीत गरेको छु । सहजो वाई कि दौतरी अर्की मुक्त नारी दया भन्छिन् “जगत तरैया भोर कि ” जीवन डुब्नै लागेको बिहानी पखको तारा हो । यो तुच्छ जीवन बचाउन कै लागि संविधान प्रदत्त मौलिक अधिकार र विराट सामाजिक दायित्वलाई विर्सनु र विचलित हुनु किमार्थ उचित होइन ।

बहिनी , तिमीलाई दुई पटक फोन गरेर तिम्रो नेताले धम्कयाए छन् ‘ तिम्रो दाजु अर्जुनलाई अब छोडदिन ’ । बहिनी भएको नाताले तिमी चिन्तित हुनु स्वभाविक हो । तर भयले कम्पायमान नहोउ । मेरो मृत्यु तिम्रै नेताको हातबाट निर्दिष्ट भएको रहेछ भने कसैले बचाउन सक्दैन । यदि मेरो मृत्युको विधानको अर्कै प्रकृया कोरिएको रहेछ भने तिम्रो नेताले केही गर्न सक्दैनन् । तिम्रो नेताले हद पार गरेछन् भने मलाई मार्ने प्रपञ्च गर्न सक्छन् । म मेरो हत्याको पाप र अपराधबाट यसै आलेख मार्फत तिम्रो नेतालाई मुक्त गर्दछु । तिमीहरुले पनि उनी माथि कारवाही नगर्नु । अब धम्की आयो भने भनि देउ – मेरो दाजु सुत्ने घर सलाईको बट्टा भन्दा थोरै ठूलो र अलिकति बलियो छ । लात्तले हानेर भित्ता फोर्न सकिन्छ । औजार चाहिदैंन । ढोका र झ्यालमा चुकुल पनि छैन । जानुहोस् आफ्नो आवेग , रिस र क्षुधा मेटाउनुहोस् । यसो भन्नुको अर्थ मलाई मर्ने आतुरता छ भन्ने होइन । म मृत्युको डरले कलम बन्द गर्दिन भन्ने मात्रै हो ।
म हिंसाको कुनै कदमलाई समर्थन गर्दिन । हिंसात्मक गतिविधिमा मेरो कुनै संलग्नता रहने छैन । मै माथि हिंसा भयो भने पनि अहिंसात्मक रुपमा प्रतिकार गर्छु तर प्रतिहिंसा गर्दिन । लोकतान्त्रिक विधि र प्रकृया तथा संविधान प्रदत्त अधिकारको प्रयोगमा म किञ्चित परहेज गर्ने छैन । कलम चलाएकै कारण झुठा मुद्दामा धेरै पटक हिरासत यात्रा गरेकै छु । तर पनि कसैप्रति पूर्वाग्रह छैन । यस पटक इतिहास दोह¥याउने प्रयास भइरहेको सुनेको छु । ठीक छ अन्यायपूर्ण कानून व्यवस्था र हिटलरहरुले शासन गरेको समाजमा निर्भिक नागरिक हिरासत पुग्नु वा इहलीला समाप्त पारिनु अनौठो होइन । म यहाँ तिम्रो नेताको नाम पनि उल्लेख गर्न सक्थें तर मैले आफूलाई संकटमा पार्न सक्छु तर तिमीलाई संकटमा पार्नु मेरो धर्मले दिएन ।

दाजु पत्रकार –मुक्त आकाशको यात्री अर्जुन थपलिया


प्रकाशित : २०७९ चैत्र १५ बुधबार