छुवाछुत गरेको अभियोगमा गाउँपालिका अध्यक्षमाथि जाहेरी दर्ता

[sharethis-inline-buttons]

सिरहा,चैत १४

भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवमाथि जातीय भेदभाव तथा छुवाछुत कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । गत फागुन २२ गते आमाको शुद्धिकरण भोजमा ब्यानर पोष्टर र प्लेकार्ड झुण्ड्याएर कथित पानी चल्ने र नचल्ने जातिहरुलाई अलग अलग स्थानमा राखेर भोज खुवाएको भन्दै एक दर्जन दलितहरुले जाहेरी दर्ता गराएका छन् । जाहेरी दिनेहरुमा विन्दैस्वर मण्डल, राम विलास मोची, नवीन पासवान, शिवलाल सदा, सत्य नारायण मोची, जितेन्द्र पासवान र असर्फी मोची लगायत अन्य ४ जना रहेका छन् ।

जाहेरी दरखास्तमा भनिएको छ जातीय भेदभाव तथा छुवाछुत ( कसुर र सजाय ) ऐन २०६८ को दफा ३ , उपदफा (१),(२) र (३) र दफा ४ को उपदफा (१),(२) र (३) (४),(५) (६) र (१२) र दफा ५ बमोजिम उजुरी दिएको हो । जाहेरीमा दफा ७ को उपदफा १ को (क),(ख) र (ग) र सोही ऐनको दफा २ बमोजिम आरोपीलाई पक्राउ गरी हदैसम्म सजाय गर्न र क्षतिपूर्ति भराउन माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सुरुमा जाहेरी दरखास्त दर्ता आनाकानी गरे पनि मानव अधिकार आयोग र दलित आयोगले दबाब दिए पछि जाहेरी दर्ता गरिएको दलित अगुवा शिव कुमार महराले जानकारी दिएका छन् ।

 

 

 


प्रकाशित : २०७९ चैत्र १४ मंगलवार