गोलबजार , चैत १४
गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठमाथि मोविल छ्यापेको आरोपमा नेकपा बहुमतका एक जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्तिको नाम प्रहरीले सार्वजनिक नगरे पनि उनी सो पार्टीका सिरहा जिल्ला अध्यक्ष रहेको प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले जानकारी दिनुभयो ।
आज मध्यान्ह दुई जनाको संख्यामा गोलबजार नगरपालिका परिसरमा छिरेका व्यक्तिहरुले मेयर श्याम श्रेष्ठ माथि मोविल छ्यापेका थिए । गाडी चढ्न ठीक्क पर्नुभएको मेयरलाई कागजात देखाउँदै एक जनाले अल्मल्याएको र अर्कोले मोविल छ्यापिदिएको प्रहरीले जनाएको छ । मोविल छ्याप्नेहरु मध्ये एकजना भाग्न सफल भएको र एक जनालाई नगरपालिका भित्र कार्यरत कर्मचारीहरुले समातेर प्रहरीलाई बुझाएको प्रहरी उपरीक्षक लिम्बुले बताउनुभयो ।
नगरपालिका परिसरमा फेला परेको पर्चामा नेकपा बहुमतले लघुवीत्तमार्फत शोषण गरेको , मिटरव्याजीहरुलाई संरक्षण गरेको र सडक परियोजनाहरुमा भ्रष्टाचार भएकोले जनकारवाही गरिएको उल्लेख गरेको छ ।
घटना पश्चात नगरपालिका परिसरमा मानिसहरुको जमघट भएको र होहल्ला भइ घण्टौसम्म नरपालिकाको कामकाज अवरुद्ध भएको थियो ।
प्रहरी उपरीक्षले मोविल छ्याप्ने कार्य गर्नेहरु उपर कडा कानूनी कारवाही गर्ने बताउनुभयो ।
तस्बिर ः मुकेश स्वामीको वालबाट