मिर्चैया , चैत १३
मिर्चैयाका रैथाने व्यापारीहरुले आज बिहानैदेखि पूर्व पश्चिम लोकमार्गमा चक्का जाम गराएका छन् । व्यापारीहरुले सडकमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा सैकडौ सवारी साधनहरुको लर्को लागेको छ ।
कच्ची ग्राभेल सडकमा सवारी साधनले धूलो उडाएर कुहिरीमण्डल बनायो भन्दै व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् । चैतमासमा चल्ने पश्चिमी तेज वायु र गाडीले उडाएको धूलोले घरभित्र निस्सासिने अवस्था आएको र पसलका सामानहरु धूलाम्मे भएको व्यापारीहरुको गुनासो छ ।
मिर्चैयामा बतहा खोलादेखि पश्चिम जीबा खोलासम्मको कालोपत्रे सडक भत्केर विरुप भएको छ । वर्षायाममा चुरेबाट आउने भल बगेर मिर्चेयामा वर्षेनी कालोपत्रे भत्किन्छ । स्थानीय व्यापारीहरु भन्छन् , “राजमार्ग भत्केको तीन वर्ष भयो । समयमा कालोपत्रे नगरिएको कारण धूलो उडेर बजार क्षेत्रमा बसिसाध्य छैन । ”
स्थानीय व्यापारीहरुले राजमार्ग निर्माणको अन्यकाम थाति राखेर पनि मिर्चैया बजार क्षेत्रमा तत्कालै कालोपत्रे गर्न माग गरेका छन् ।
स्थानीय व्यापारीहरुसँग वार्ता गरेर राजमार्ग खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।