नमकका दारोगा , महाअमात्यको कार्टेलिङ र नयाँ राजाका कटप्पाहरु

[sharethis-inline-buttons]

अर्जुन थपलिया

सन् १९१४ मा पहिलो पटक प्रकाशित भएको भारतीय महान कथाकार मुन्सी प्रेमचन्दको मर्मस्पर्शी कथामा गिन्ती हुन्छ ‘नमकका दारोगा ’ । यो कथा उहिले ११ कक्षाको पाठ्यक्रममा समावेश थियो । यो कथा पढेर विद्यार्थीहरुको आत्मामा इमान्दारीको छाप प¥यो भनेर बजारले सरकारलाई पाठ्यक्रमबाट हटाउन लगायो ।

“नमकका दारोगा” कथाको सारवस्तु यस्तो छ । उतिबेला फारसीभाषी शासकहरुको शासन थियो भारतमा । फारसी शासकले नुनलाई “इश्वर पदत्त वस्तु ” भनेर यसको व्यापारमा प्रतिवन्ध लगाइ दियो । त्यसपछि नुनको तस्करी र कालोबजारी सुरु भयो । नुनको अवैध तस्करी र चोरी निकासी रोक्न तत्कालीन शासकले ‘दारोगा ’ को पदपूर्ति भर्ना खोल्यो ।
यता वंशीधर फारसी भाषा साहित्यमा अब्बल विद्यार्थी थिए । उसबेला उनी दीक्षान्त सकेर बेरोजगार घरमा बसिरहेका थिए । उनले जागिरका लागि आवेदन दिए । तत्कालीन शासकहरु फारसी भाषाप्रेमीहरुलाई प्राथमिकतामा राखेर जागिर दिन्थे । वंशीधर ‘दारोगा ’ पदमा नियुक्त गरिए । उनलाई नुनको चोरी निकासी रोक्न खटाइयो ।

वंशीधरका पिता गरिबीले सताइएका , अभावग्रस्त र कष्टसाध्य जीवनयापन गरेका व्यक्ति थिए । दुखः गरेर पढाएको छोरालाई उनले सम्झाउँदै भने “ घरमा बहिनीको बिबाह गर्नु छ , साहुको ऋण तिर्नै बाँकी छ । ” तलव भनेको पूर्णिमाको चन्द्रमा जस्तै हो । महिनामा एक दिन आउँछ र त्यसपछि दिनदिनै सिद्धिदै जान्छ । ऋद्धि सिद्धि त उपरी अतिरिक्त आयमा हुन्छ । बिचार गरेस् । मेरो आशाको लहराले थाङ्ग्रा ढाकेको छ । छिमेकीले देख्दा तिनलाई शूल व्यथा उठोस् , त्यस्तरी पैसा कमाउनु ।

एक मध्यरातमा अनअपेक्षित कोलाहल सुनेर वंशीधरको निन्द्रा भंग भयो उनी उठेर वर्दी पहिरिएर घोडामा चढे र यमुना नदीतर्फ हानिए । दर्जनौ बैलगाडामा नुन लादेर तस्करी गरिरहँदा उनले नुनसहित बैलगाडाहरु नियन्त्रणमा लिए । नुन तस्कर आलोपीदीन पण्डितलाई सूचना भयो । उनी घोडामा सवार भएर यमुना नदी किनारमा आइपुगे । वंशीधरलाई अनेकन प्रलोभन दिए । हजारबाट सुरु भएको घुसको प्रलोभन ४० हजारसम्म पुग्यो । अनेक धम्की दिए तर इमान्दार र कर्तव्यपरायण वंशीधर टसमस भएनन् । उनले आलोपीदीनलाई समेत हतकडी लगाएर मजिष्ट्रेटकोमा पेस गरे ।
न्याय र नीति जब लक्ष्मीको हातको खेलौना बन्छ त्यहाँ वंशीधर जस्ता दारोगा भूइँमा पछारिन्छन् । पण्डित आलोपीदीनले मुद्दा जिते र ससम्मान रिहा भएर नुन समेत छुटाए । दारोगा वंशीधर अपमानित भए ।

त्यतिले मात्र आलोपीदीन चुप भएनन् । उनले थप रकम उत्कोच वापत दिएर वंशीधरलाई दारोगा पदबाट बर्खास्त गर्न लगाए । झिटीगुण्टा बोकेर वंशीधर गहभरी आँशु लिएर घर फर्के ।

एक साता पछि घोडामा सवार आलोपीदिन वंशीधरको घर पुगे । उनलाई देखेर वंशीधरका सपरिवार झस्किए । जागिरबाट हटाएर पनि पुगेन , वंशीधरसँग बदला लिन घरसम्मै आइपुगे भन्ने ठानेर सपरिवार अनुनय विनय गर्न थाले – हजुर अब त माफ पाउँ । पण्डित आलोपीदिनले भने मैले रकम खर्च गरेर तिमीलाई जागिरबाट हटाएको तिमीसँग बदला लिन होइन । तिमी जस्तो इमान्दार मानिस सरकारी ओहदामा बस्नु हुँदैन । मेरो कम्पनीमा काम गर्नुपर्छ । सरकारी ओहदामा तिमी बस्ने हो भने त मेरो व्यापार चौपट हुन्छ । त्यसकारण तिमी मेरो कम्पनीमा जागिर गर र इमान्दारी देखाउ । सरकारी ओहदामा भ्रष्ट मान्छे रहनु पर्छ । यति भनेर पण्डित आलोपीदीनले सरकारी वेतनभन्दा तीन गुण बढी र थप आवास, खाना खर्च , घोडा समेत सेवा सुविधा दिएर वंशीधरलाई जागिर दिए । Ò Ò

पुरानै सरकारको पालामा गोलबजारको महाअमात्य पद खाली भयो । अर्को महाअमात्यको खोजी सुरुभयो । वंशीधर जस्ता मानिस नपरोस् भनेर वडो सतर्कता अपनाइयो । सर्वाधिक बेइमानीका सूत्रहरु जनेका, कार्टेलिङ गर्न खप्पिस र भ्रष्टाचार गर्ने तर देखिन नदिने शिल्पी व्यक्ति खोज्न तत्कालीन राजाका भाइ पूर्वमन्त्री मन्त्रालयहरु चहार्न थाले । एक जना सहसचिवले भने , हजुर एक व्यक्ति छन् जो एक शताब्दीसम्म समाजले नविर्सिने गरी बदनाम भएका छन् । भ्रष्टाचार गर्न कत्तिपनि डर , लाज र धाक मान्दैनन् । डोटीबाट लखेटिएर कोहलपुरमा अडिएका थिए त्यहाँबाट पनि खेदाइए । सरकारलाई पनि घाँडो भएका छन् –कता खटाउनु भनेर । हजुर लैजानुहुन्छ ?

महाअमात्य खोज्न जानुभएका पूर्वमन्त्रीले भन्नुभयो के खोज्छस् कानो आँखो भने जस्तै भयो हजुर । यस्तै मान्छे चाहिएको छ । हामीलाई वंशीधर जस्तो ‘नमकका दारोगा’ को के काम ?
महाअमात्य रोजेर ल्याइयो । जे चिताएर ल्याइएको थियो त्यसै अनुरुप महाअमात्यको आचरण देखेर पूर्व राजा र उनका पूर्वमन्त्री भाइ फुरुङ्ग थिए । महाअमत्यले पूर्व राजा र उनका भाइको खुबै सेवा गरे । आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को बजार ठेक्काको रकम एक पैसा राजस्वमा जम्मा नगरी एक करोड ५२ लाख हजम गरी÷गराई दिए । गागन खोलाबाट चाइनिज कम्पनीले गरेको उत्खनन् वापत तिरेको रकमको फर्जी बील दिएर करिब एक करोड राजस्व स्वाहा बनाए । चाइनिज कम्पनी भन्छ हामीले रकम तिरेका छौं , हामीसँग बील छ । यता सो रकम राजकोषमा जम्मा भएकै छैन । वडा नं. १ मा सडक नै नबनाई फर्जी फाइल खडा गरी १८ नं. सूचीमार्फत ६० लाख भुक्तानी गराएरै छाडे ।

केही समय पछि राजाको बदली भयो । पुरानो राजालाई जनताले अस्वीकृत गरिदिए । नयाँ राजालाई कल्की लगाएर सिंहासनमा विराजमान गराए । नयाँ राजाका दाजु पूर्वमन्त्रीले आदेश गरेका थिए , बाबु तिम्रो राज्यमा महाअमात्य दागी,बदनामी र बेइमानी छन् । भ्रष्टाचारका सबै कलामा निपुण छन् । यिनलाई बदली गर ÷गराउ । स्वच्छ शासन प्रशासन बनाउ ।
एक दिन नयाँ राजा र महाअमात्यको भलाकुसारी भयो । महाअमात्यले बिन्ती चढाए । महाराज वंशीधर जस्तो खोज्न पनि चर्कै पर्छ । जो आए पनि म जस्तै हुन्छन् । अहिले कर्मचारीतन्त्रमा अधिकाधिक म जस्तै छन् । हजुरले केही माखो मार्नु पर्दैन । म कमाएर हजुरलाई टक्र्याउँछु । हजुर बसी बसी राज गरिबक्स्योस् । मेरो सिप, कला र क्षमताको चमत्कारीकता हेरिबक्योस् । जुँगामा नलाग्ने गरी म हाडीघोप्टे पेटमा अजीर्ण हुञ्जेल ज्युनार गराउँछु । राजा र महाअमात्यको मन्त्रणा सफल भयो । सरुवा गर्ने गराउने प्रसंग रद्द भयो । दाजु पूर्व मन्त्री पनि सहमत हुनुभयो । चुनावमा रित्तिएको तिजोरी महाअमात्यले भरिभराउ गराउने कबुल करार गरेपछि उनलाई गंगाजल छर्केर शुद्ध बनाइयो । Ò Ò

कार्टेलिङ भनेको कसिलो कानूनी व्यवस्थाको बीचबाट छिद्र खोजेर राजस्व चुहावट र हिनामिना गर्नु गराउनु हो । सार्वजनिक खरिद ऐनको बाध्यात्मक कानूनी प्रावधान पनि पूरा गर्ने तर त्यस बीचबाट बेइमानीका लक्ष्य पनि प्राप्त गर्ने कलालाई कार्टेलिङ भनिन्छ । जस्तै गागन खोला ठेक्का लगाउन दुई पटक पत्रिकामा सूचना ( टेण्डर ) प्रकाशित गरिएको छ । तर ठेक्का लाग्न नदिन भित्री षडयन्त्र ( कार्टेलिङ ) गरिएको छ । अब अख्तियार होस् वा अन्य नियमनकारी निकायले समात्न मिल्दैन । हजुर हामीले दुई पटक सूचना प्रकाशित गर्दा पनि टेण्डर कसैले हालेनन् । त्यसकारण अमानतमा लगाएका हौं भन्न मिल्छ । अमानतमा लगाए पछि आफ्नै हात जगरनाथको उखान सिद्ध हुन्छ । गागन खोला वारीपारी बस्ने बासिन्दाहरुलाई थाहा छ , जिल्ला बिकास समिति हुँदादेखि नै गागन खोला ठेक्का लिन मारामार हुन्थ्यो । इतिहासमा यो नदी ठेक्का नलागेको कहिल्यै थिएन । तर यस वर्ष ठेक्का लागेन । किनकी राजा र महाअमात्यलाई थाहा छ यस वर्ष पनि गागन नदी उत्खनन् गरेर चाइनिजलाई बेच्न सकिन्छ । बीच बीचमा क्रसरहरुलाई चोरी निकासी गर्न लगाएर कमिशन असुल्न सकिन्छ । राजा भन्छन् हामीले चोरी निकासी गर्न लगाएको होइन । दिनदाहडै गागन नदीमा स्काभेटरले उत्खनन् गर्दा नदेखिएको हो कि दखे पनि नदेखे जस्तो गरिएको हो ? स्काभेटरले गैर कानूनी उत्खनन् गर्दा पनि रोक्न नसक्ने राजा सक्षम हुन् कि असक्षम ? हामी जनता कसलाई भन्न जाउँ त ? अन्य नगरको राजालाई ? जान मिल्दैन होला । कार्टेलिङको यो महान हातको सफाई बंगालको जादु भन्दा पनि कडा तिलस्मी छ । सर्वसाधारणले बुझीसाध्य छैन । अहिले सुनिदै छ राजाको सुरक्षामा खटिएका बलशालीहरुले निवेदन हालेका छन् रे । चैत बैशाख र जेठ तीन महिनाको लागि स्काभेटर लगाएर गागन नदी उत्खनन् गर्ने अनुमति मागेका छन् । मासिक २ लाख रकम राज्सव तिर्ने शर्तमा । स्मरण रहोस् कानूनले स्काभेटर जस्ता उपकरण नदीमा लैजानसमेत मनाही गरेको छ । वार्षिक एक करोडको हाराहारीमा राजस्व दिने गागन खोला यस वर्ष थारो गाई बनाइयो । यसको नदीजन्य वस्तु राजा र महाअमात्यलाई गाजरको हलुवा सावित भयो । Ò Ò

हिजोआज त राजाको ५४१ नं. रथ राति ९ बजे पछि आधारशीलाको द्वारमा रोकिन्छ रे । भित्रबाट भाइ पूर्वमन्त्री स्वागत गर्न निस्कन्छन् रे । संघीय सरकारका राजा हजुरको पार्टीका छन् तल रैथाने राजा म छु । हामी दुई भाइ किन जुध्ने ? मिलेर प्रगन्नाको विकास गर्न बजेट ल्याउँ । हजुरको पनि कल्याण मेरो पनि महाकल्याण । महामन्त्रणा यस्तै यस्तै भएको छ रे । दाजु हजुरलाई पनि दुईवटा चुनाव हारेको ऋण त लागेकै होला । काले काले मिलेर खाउँ भाले ।
घरमा ढुंगा हानेकोले दिनभरी कार्याकर्ताले सडकमा टायर बालेको देख्दा , मुर्दावादको नारा घन्किएको सुन्दा शत्रुता त एक युगसम्मै रहन्छ जस्तो देखिन्थ्यो । तर सडकबाट टायर बालेको खरानी बढार्न नभ्याउँदै छोराको बिबाहमा निम्त्याइएको , भोज खान जाँदा भाई पूर्व मन्त्री र पुराना राजा नयाँ राजा र दाई पूर्व मन्त्रीको स्वागतमा उभिएको तथा सुनको औंठी मुखदेखाईमा चढाईको घटनाले दुईतर्फी कार्यकर्ताहरुको मुखबाट “धत्तेरीका” शब्द त निस्क्यो । व्यर्थमा दिनभरी यात्रुलाई सास्ती दिइएछ भनेर पश्चाताप गरेको पनि सुनियो । Ò Ò

बिना जोरन दही हत्तपत्त जम्दैन । दुई घराना दुई दरवारको यो दोस्तीको दही जमाई नामुद ठेकेदारले गराएका हुन् अरे । सत्य के हो थाहा छैन । महाअमात्यको सरुवा पनि उनैले रोकाएका हुन रे । पुराना राजाका पालामा ४५ वटा भन्दा बढी ठेक्का लिएर एक्लै प्रगन्नाकोे विकास गरेका ठेकेदारले दुई दरवार बीच सहजिकरण गराएका हुन् अरे । नयाँ राजाले आफ्नो पार्टीका कार्यकर्ताहरु माझ उक्त ठेकेदारलाई आफ्नो कार्यकालमा एउटा पनि ठेक्का नदिने घोषणा गरेका थिए । तर अहिले उही ठेकेदारले ४ वटा ठेक्का एकै पटक हात पारेका छन् । राजाको पार्टी र गोलबजार प्रगन्ना (माहिसमती ) राज्यमा जति कार्यकर्ता छन् सबै “कटप्पा ” भन्दा वफादार छन् । राज आदेशको अगाडि मुख खोल्दैनन् । तर भोलिका दिनमा चुनावताका जनतामा के भनेर जाने होला ? भल्लालदेव राजाका महाअमात्य कार्टेलिङमा खप्पिस छन् । कार्यकर्ता कटप्पा छन् । विकास त  “माछी मारन है दाई हो आजलाई चटनी ” ।।।


प्रकाशित : २०७९ चैत्र ११ शनिबार