काठमाडौँ, १० चैत (रासस) :
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताउनुभएको छ ।
साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताउनुभएको हो ।
“बालबालिकालाई बाँच्न, नाच्न र हास्न सिकाऔँ, बढी तनाव दिने काम नगरौँ, मेहनत गर्न सिकाऔँ”, उहाँले भन्नुभयो, “बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन हुँदैन ।”
महामन्त्री थापाले बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने बताउनुभयो । एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उहाँको भनाइ छ ।
“साना–साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हो, बालबालिकालाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्छ”, उहाँले भन्नुभयो ।