अर्जुन थपलिया
२०५७ सालमा सप्तरीको कदमाहा र दौलतपुर हुँदै सिनो वहिष्कार आन्दोलन लहान आइपुग्यो । तत्कालीन उद्योग राज्य मन्त्री पद्म नारायण चौधरीको दाजुको घरमा मरेको भैंसीको पाडो ( सिनो ) फाल्न रैथाने चमार समुदायले अस्वीकार गरेपछि उच्च जातीय अहंकारलाई खपिनसक्नु औडाहा भयो । पद्म नारायण चौधरीकै आदेशमा चमार नाकावन्दी समिति बन्यो । खानेपानी लिन नदिने , कसैको जग्गा जमिनमा टेक्न नदिने , लहान बजारमा रोजगारी गर्न नदिने , स्वास्थ्य संस्थामा उपचार गर्न नदिने , औषधी तथा खाद्यान्न खरिद गर्न नदिने , दिसा पिसाव गर्न कसैको जग्गामा टेक्न नदिने ( त्यतिबेला घर घरमा शौचालय नै थिएन ) चमार समुदायका बालबालिकालाई विद्यालय जान नदिने तथा कसैले सो आदेशको उलंघन गरे त्यसलाई ५ हजार जरिवाना गरिने उर्दी सुनाइएको थियो । माइकिङ्ग गरेर लहान बजारमा फरमान जारी गरिएको थियो । लहानमा चमार समुदायलाई उनीहरुको घर घरमै नजरबन्द गरिएको थियो । चमार बस्तीलाई २४ घण्टासम्म घरबाट निस्कन दिइएन । कठबाँसका डण्डा बोकेका लठैतहरु लगाएर गाउँलाई घेराबन्दी गरिएको थियो ।
त्यो समयमा बलदेव रामको नेतृत्वमा , विश्वेन्द्र पासवान, डिल्ले मिझार , लखन राम , दुखी राम पत्रकार विजय मिश्र र म अर्जुन थपलिया ( धेरै जना थियौं , सबैको नाम यहाँ उल्लेख गर्न सकिएन ) ले ज्यानको बाजी लगाएर चमार बस्ती छिर्नु परेको थियो । लहानको चमार नाकावन्दीको प्रतिरोधमा आन्दोलनको विगुल फुकियो । तराईभरी फैलिएको सिनो वहिष्कार आन्दोलनले सप्तरीको हरिहरपुर र कोचाभकारीमा झन् अमानवीय नाकावन्दी र दलितमाथिको दमन निम्त्याएको थियो । सिनो वहिष्कार फैलिदै गयो । नाकावन्दी र दमन पनि बढ्दै गयो । प्रतिरोध आन्दोलनको आकार पनि वृद्धि हुँदै गयो । २०६० सालसम्म चलेको मधेसको सिनो वहिष्कार आन्दोलनले दलित आन्दोलनको गरिमा बढायो । नेपालका प्राय सबैजसो सञ्चारमाध्यममा दिनकादिन सिनो वहिष्कार आन्दोलनको समाचार छापिन्थ्यो । त्यतिबेला नेपालका मानव अधिकारकर्मी , मुर्धन्य पत्रकारहरु , नागरिक अगुवाहरु सिरहा र सप्तरी नआएका विरलै होलान् । सिनो वहिष्कार आन्दोलनकारी सिंहदरवार घेर्नसम्म पुगे । जनतामा सीमित अधिकार रहेको प्रजातन्त्र र थोरथोरै खुला समाजको अभ्यास भइरहेको त्यस समयमा पनि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले दलितहरु बारे ८ बुँदे घोषणा गरेपछि मात्र आन्दोलन मत्थर भएको थियो ।
२०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश सत्ता विरुद्ध राजनीतिक दलहरु आन्दोलनमा उत्रेका थिए । विडम्वना यो थियो कि रत्नपार्कमा आन्दोलनकारीहरुको संख्या २ सय कहिल्यै पुग्दैनथ्यो । त्यसबखत नागरिक अगुवा डा देवेन्द्र राज पाण्डेको अगुवाईमा नागरिक आन्दोलन संगठित हुँदै थियो । कोक्याप भन्ने संस्थाको कार्यालय अनामनगरमा नागरिक आन्दोलनको बैठकमा बलदेव राम र म पनि उपस्थित थिए । राजनीतिक विश्लेषक सोमत घिमिरेले भन्नुभयो सामाजिक आन्दोलनहरुले यदाकदा राजनीतिक मुद्दा र आन्दोलनलाई पनि सघाउनु पर्छ । कू पछिको ज्ञानेन्द्रको निरंकुश सत्ताले दलित मुक्ति हुँदैन । त्यसकारण लोकतन्त्र बहालीको लागि सामाजिक आन्दोलनहरुले सघाउनुपर्छ । लोकतन्त्रको बहाली पछि सिनो वहिष्कार आन्दोलन लगायतका सामाजिक आन्दोलनलाई राजनीतिक आन्दोलनले अपनत्व ग्रहण गर्नुपर्छ । लोकतन्त्रमा मात्र सामाजिक आन्दोलनका सवालहरुलाई सिंहदरवारले संवोधन गर्न सक्छ र गर्छ ।
सिरहा र सप्तरीमा सिनो वहिष्कार आन्दोलनले ५० हजार दलितलाई संगठित बनाएको थियो । बलदेव रामले भन्नुभयो हाम्रो दलित संगठनले १५ हजारको मास सडकमा उतार्न सक्छ । राजनीतिक आन्दोलनले हाम्रो मागलाई पछि संवोधन गर्ला कि नगर्ला तर हामी लोकतन्त्रका लागि लड्न सहमत छौं । तर ज्ञानेन्द्रको निरंकुश सत्ताले दमन गर्न सक्छ । मैले प्रस्ताव राखे हामी भूमिहीन सुकुम्वासी र दलितका लागि भूमि माग्दै अनसन बस्ने । ४८ घण्टा पछि नागरिक आन्दोलनका अगुवाहरु गएर अनसन तोडाउने र सडक प्रदर्शन र सभा गर्ने । यसो गर्दा ज्ञानेन्द्र सत्ताको कोपभाजनबाट बच्न सकिन्छ र सिनो वहिष्कार आन्दोलनलाई भूमि आन्दोलनमा रुपान्तरित गर्न सकिन्छ ।
सहमति बनेपछि बलदेव राम र म सिरहा , सप्तरी आयौं । एक सातको तयारीमा राजविराजको राज रंगशालामा भूमि माग्दै ४५० जना दलित, भूमिहीन र सुकुम्वासीहरु ( २२५ महिला समेत ) ४८ घण्टे अनसनमा बसे । खगेन्द्र संग्रौला, स्वनाम , नेता गगन थापा लगायत एक दर्जन नागरिक अगुवाहरु राजविराज पुगे । ४८ घण्टा पछि अनशनकारी दलितहरुलाई जुस खुवाए । त्यसबेलासम्म १० हजारभन्दा माथिको संख्यामा दलितहरु राजविराजमा उत्रिएका थिए । ज्ञानेन्द्रको कू मुर्दावाद , गणतन्त्र जिन्दावाद , लोकतन्त्र जिन्दावादको गगनभेदी नारा सहित राजविराजको सडकमा अदम्य साहास देखाउँदै अटाम्य दलितहरु ओर्लिए । सभामा नागरिक अगुवाहरु कुर्लिए । नेता गगन थापा पनि उफ्रिए । नेपाली राजनीतिमा धेरै दिन भएको थियो १० हजारको मास आन्दोलनमा उत्रिएको र सभामा एकत्रीत भएको । लेखक खगेन्द्र संग्रौलाले काठमाडौं गएर कान्तिपुरमा लेख्नुभयो दलितको कटुवाल अर्जुन थपलियाको निम्तोमा हामी सप्तरी गएका थियौं । सप्तरीबाट १० हजार दलितहरुले सडकमा ओर्लेर लोकतन्त्र र गणतन्त्रको सिंहनाद गरे । कू पछि को सर्वाधिक ठूलो मास सडकमा ओर्लेको त्यो पहिलो दिन थियो ।
२०७९ साल फागुन २२ गते सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवकी आमाको १३ हौं दिने शुद्धि भोज थियो । भोजमा कथित पानी नचल्ने जातिहरुलाई अलग्गै बसेर खाने प्रबन्ध गरियो । मुस्लिमलाई अलग ठाउँ तोकिएको थियो । अलग स्थान तोकेर प्ले कार्ड र फ्लेक्स प्रिन्ट ब्यानर झुण्डाइएको थियो । माइकिङ्ग गरेर जाति अनुसार तोकिएको स्थानमा बसेर भोज खान निर्देशन दिइएको थियो । दलितलाई भोज बाँड्ने पनि अलग थिए ।
भोज खानेमा बहालवाला सांसद, एमाले पोलिटव्युरो सदस्य तथा पूर्व कानून मन्त्री लीलानाथ श्रेष्ठ पनि थिए । उनी जत्तिका व्यक्तित्वबाट दलितहरुले यस्तो सार्वजनिक स्थान र समारोहमा छुवाछुत विरोधी भूमिकाको अपेक्षा गर्नु स्वभाविक थियो । अन्य आधा दर्जन सांसद मधेस प्रदेशका गृह मन्त्री शत्रुधन प्रसाद सिंह कोइरी, अन्य प्रदेश सांसदहरु थिए । सिरहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक भोज खानेहरुमा सबै राजनीतिक दलका जिल्ला स्तरीय धेरै नेताहरु थिए । भोजमा दर्जनौ पत्रकारहरु पनि सामेल थिए । सबैले निसंकोच भोज खाए ।
जातीय विभेद गरेर यसरी भोज खुवाउनु गैर कानूनी , गैर संवैधानिक वा मानव अधिकार विरुद्ध छ भनेर कसैले एक शब्द बोलेनन् । यो पोष्टर हटाउ र दलित गैर दलित सँगै बसाएर भोज खुवाउ भन्न सकेनन् । राजनीति गर्ने नेताहरुले दलितको पंक्तिमा बसेर भोज खान सकेनन् । भोज छोडेर हिँड्न सकेनन् । अपमान महसुस गरेका केही दलितहरुले विरोध गरेका थिए । उनीहरु त्यहाँबाट धपाइए ।
यो घटनाबारे पत्र पत्रिकामा समाचार सम्प्रेषण भयो । भोज आयोजकले पत्रकारहरुलाई फकाउन र धम्क्याउन थाले । पार्टीगत रुपमा एमालेले अहिलेसम्म मौनता साधेको छ । घटनाबारे पार्टी एक शब्द बोलेको छैन । दलित आयोग एउटा पत्र काट्यो । पालिका अध्यक्ष यादवलाई पक्राउ गरेर कारवाही गर्न भन्यो । तर मुद्दा दर्ता गर्न गएका दलितहरुको जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएन । पालिका भरी भोज आयोजकहरु घुमेर दलितहरुलाई डलर खेत ीगर्नेको पछि नलाग भनेर थामथुम पार्ने प्रयास गरिरहेका छन् ।
राजनीतिक दलका दलित भातृ संगठनहरु छुवाछुतबाट मुक्तिका लागि होइन आ–आफ्ना पार्टीका कथित उच्च जातिका नेताहरुले छुवाछुत गर्दा उनीहरुको बचाउमा उत्रिनका लागि हो जस्तो देखिन्छ । यस घटनामा कोही बोलेका छैनन् । पद्म नारायण विरुद्ध मुक्ति समाज खनिदा नेपाल दलित संघ बचाउमा उत्रेको थियो । अहिले मुक्ति समाज मौन छ । इन्सेक भन्ने संस्था सिनो बहिष्कार आन्दोलनको यस लिन सिरहामै डेरा खसाएको थियो । अहिले भोज आयोजकको बचाउमा लागेको छ । भोज आयोजकले दलित गैर दलितलाई भेला पारेर मानव अधिकारकर्मी र पत्रकारहरु विरुद्ध अभिव्यक्ति दिन लगाउँदैछन् । अधिकारकर्मी र पत्रकारमाथि सामाजिक सद्भाव बिगार्न खोजेको आरोप लगाउँदै छन् । नेकपा एमालेले मौनता साधेर भगवानपुर घटना दबाउन तथा सामसुम पार्न खोज्दै छ । निरपेक्ष मौनता ( टतस्थता ) अन्यायको पक्षधरता हो । कि त एमालेले पार्टीगत रुपमा भन्नुप¥यो यो पार्टी मनुस्मृतिवादी पार्टी हो अन्यथा छुवाछुत गर्ने लाई दण्डित गर्नु प¥यो ।
राजनीतिक आन्दोलनलाई दलितहरुले सघाए । तर दलितको सवाललाई राजनीतिले आफ्नो सवाल बनाएन । दलित हितका संवैधानिक धाराहरु पक्षघात भए सरह छ । राज्यका अवयवहरु अहिले पनि २०५७ सालकै मानसिकतामा छन् । त्यतिबेला पद्म नारायणमाथि मुद्दा दर्ता गर्दा नेपाली कांग्रेस प्रतिरोधमा उत्रिए पछि तीन दिनमा मुद्दा खारेज भएको थियो । अहिले त मुद्दा दर्ता नै भएन । डलर नपाई एक पाइला नचल्ने दलित आन्दोलन पनि २०५७ भन्दा झन् निम्छरो भएछन् ।
जनयुद्ध र जनआन्दोलन २०६२÷० ६३ ले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरायो । नेपालको संविधान २०७२ मा छुवाछुतलाई कडाईका साथ वर्जित गरियो । छुवाछुत विरुद्ध बलदेव रामको नेतृत्वमा २३ वर्ष भयो सिरहा र स्पतरीमा घनिभूत लडाई ( शान्तिपूर्ण ) गरेको । एक दिन समाज विभेदरहित होला भन्ने आश थियो तर २३ वर्ष पछि पद्म नारायणको अवतार –२ मा उग्र नारायण र लीलानाथ श्रेष्ठ निस्किए । समाज जहाँको त्यहीँ र ज्युँ का त्यूँ देखियो । यो दलितको कटुवाल फेरि आग्रह गर्दछ ( विशेष रुपमा २०६२ मा राजविराज आउनु भएका नागरिक अगुवाहरुलाई ) भगवानपुरको भोजमा गरिएको छुवाछुतले कसैलाई पोलेको छ भने यहाँ आउनुस् र हामीलाई सिकाउनुस् कसरी बदलिन्छ समाज ।