साक्षरता सेनानी अभियान सञ्चालन गरिने – अध्यक्ष सिके राउत

[sharethis-inline-buttons]

७ चैत, सिरहा
जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेसमा साक्षरता सेनानी खटाएर साक्षरता अभियान सञ्चालन गर्ने बताउनु भएको छ । उक्त पार्टीको सिरहा जिल्ला कमिटीद्वारा चोहर्वामा आयोजित पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई संवोधन गर्दै अध्यक्ष राउतले सो उद्घोष गर्नुभएको हो । मधेस प्रदेशमा दिनदिनै साक्षरता दर कम हुँदै गएको र निराक्षर नागरिकको संख्यामा वृद्धि भएकोले साक्षरता अभियान सञ्चालन गर्ने पार्टीले तयारी गर्ने उहाँको कथन थियो । साक्षरता कक्षा सञ्चालनका लागि पार्टीका कार्यकर्ताहरुलाई साक्षरता सेनानीको रुपमा परिचालन गरिने र साक्षरता प्रतिशत वृद्धिबाटै मधेसमा विकास हुने उहाँले बिचार व्यक्त गर्नुभयो ।
सरकारले रसायनिक मलमा अनुदान कटौती गरेर मूल्य वृद्धि गरेपछि आफूले कडा विरोध जनाएको उहाँले बताउनु भयो । जनमत पार्टीकै दबाबमा सरकारले अलोकप्रीय निर्णय फिर्ता लिएको भन्दै गरिब किसानमारा नीति विरुद्ध आफू उभिने भन्नुभयो ।
अध्यक्ष राउतले रावणको दरवारमा अंगदले खुट्टा जमाए झैं मधेसको जनमतको शक्ति पाएर नेपाली राजनीतिमा संसदमा नहल्लिने गरी आफूले खुट्टा जमाएको बताउनु भयो । उहाँले चुनाव जितेर जानेहरु ५ वर्ष पछि मात्र जनता समक्ष फर्केर आउने परम्परालाई जनमत पार्टीले तोड्ने र जनता कै बीचबाट योजना तर्जुमा गरिने उहाँले घोषणा गर्नुभयो ।
आमसभामा स्थानीय रोहित महतोसहित विभिन्न राजनीतिक दलबाट सैयौं मानिसहरु जनमत पार्टीमा प्रवेश गरेका थिए ।
आमसभामा सहिदहरु प््रति एक मिनेट मौन धारण गरिएको तर राष्ट्रिय गान बजाइएको थिएन ।


प्रकाशित : २०७९ चैत्र ७ मंगलवार