बरियारपट्टी गाउँपालिकामा बिवादित प्रमुख प्रशासकीय अधिकृत राख्न उपाध्यक्षको जोडबल

[sharethis-inline-buttons]

सिरहा,४ चैत्र । बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादवले बिवादित व्यक्ति अशोक कुमार सिंहलाई पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा राख्न जोडबल गरेकी छन् । उनले पत्रकार सम्मेलन गरेर प्रेस विज्ञप्ती जारी गर्दै विवादित व्यक्ति सिंहलाई पालिकामा टिकाउने प्रयत्न गरेकी छन् ।
समान्य प्रशासन मन्त्रालयको मिति २०७९ फागुन १४ को चलानी नं. १२६९ को पत्रानुसार प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंह बरियारपट्टी गाउँपालिकामा हाजिर भएका थिए । तर, अधिकृत सिंह यस अघि नै यसै पालिकामा अध्यक्षसँग अमर्यादित रुपमा हिंसात्मक झैझगडा गरी गएकाले विवादित व्यक्ति रहेको जानकारी मन्त्रालयमा पुगेपछि सोही दिनको चलानी नं.१३४० को पत्रानुसार सुजित कुमार यादवलाई बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तोकेर पठाइयो ।
मन्त्रालयले पत्र दिएपछि अधिकृत यादव २०७९ फागुन २९ मा कार्यालयमा हाजिर भएर कामकाज थाले । त्यसपछि उपाध्यक्ष यादवले आफुहरुले प्रमुख प्रशासकीय अधिकृतको रुपमा मगाएका अशोक कुमार सिंहको ठाउँमा अर्का व्यक्ति सुजित यादवलाई पठाएर मन्त्रालयले गल्ती गरेको उपाध्यक्ष पक्षको भनाइ छ ।
‘आफुहरुले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएको अशोक कुमार सिंह नै यहाँ हाकिम भएर रहनुपर्छ,’ बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादव भन्छिन्,‘अशोक सिंह हाकिमको रुपमा नरहे आफुहरुले कसैको कुरा स्वीकार गर्ने पक्षमा छैन् ।’ उपाध्यक्ष यादव पक्षले अशोक कुमार सिंह राम्रो व्यक्ति रहेको भन्दै उनैलाई हाकिमको रुपमा राख्न बहुमत प्रस्तुत गर्दै विभिन्न प्रयास थाल्दै आएकी छन् ।
अशोक कुमार सिंह आर्थिक बर्ष २०७५÷०७६ र ०७६÷०७७ मा बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका व्यक्ति हुन् । उनको कार्यकालमा गाउँ कार्यपालिकासँग विवाद भएको कुरा जिल्ला प्रशासन हुँदै मन्त्रालयसम्म पुगेको थियो । तत्कालीन समयमा अशोक कुमार सिंह र गापा अध्यक्ष सन्तोष महतो तथा अन्य सदस्यहरुबीच हात हालाहालसम्म हुन पुगेको थियो ।
‘कार्यालयको कामकाजमा ढिलासुस्ती गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहलाई सम्झाउ–बुझाउ गरेको कुरालाई इगोको रुपमा लिएर अझ समस्या सृजना गर्न खोजेको थियो,’गापा अध्यक्ष सन्तोष कुमार महतोले भने,‘अशोक कुमारको रबैयालाई गाउँ कार्यपालिकाले निगरानीमा राखेर कडाई गर्न खोज्दा विवाद भएको थियो ।’
‘कार्यपालिकाको कुरालाई अन्यथा लिएर विवाद चर्काउन खोजियोे । समयमा कार्यालय आउन छाडे । कार्यालयको कागजातहरुलाई राम्रोसँग अभिलेख राख्न लापरवाही गरियोे,’ गापा अध्यक्ष महतोले भने,‘तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहको रबैया ठीक नभएको ठम्याईका साथ कार्यापालिकाको अनुरोधमा मन्त्रालयले अन्यत्र सरुवा गरिदिएको थियो ।’
पहिलो कार्यकालमा विवाद चर्काएका प्रमुख प्रशासकीय अधिकृतलाई फेरि पनि पालिकामा ल्याएर उपाध्यक्ष ममता कुमारी यादवले सुल्झलेको विवादमा मल–जल दिएर बिवाद बल्झाएर विकासको गति रोक्न खोजेको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले दाबी गरेका छन् ।
कार्यपालिकामा बहुमत नभएपनि पालिकाको चौतर्फी विकासका लागि काम गर्न खोजेको तर उपाध्यक्षले बहुमत र पहुँचको आडमा विवाद चर्काएर रोकावट दिन खोजेको उनले प्रष्ट पारे । विकासको नीति तथा प्रक्रियालाई पाखा लगाएर उपाध्यक्ष यादवले व्यक्तिवादी नीतिका साथ अगाडि बढन् खोजेको उनले आरोप लगाएका छन् ।
शान्त र सालिनका साथ काम गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत राजगीर महतोलाई उपाध्यक्ष पक्षले पावर र पहुँचको प्रयोग गरेर गोप्य रुपमा सरुवा गराएको बरियारपट्टी गाउँपालिका ३ नं.वडाका वडाध्यक्ष बिनोद कुमार यादवले बताए । ‘हाकिम फेर्नै थियो भने विवादित व्यक्तिलाई नल्याएर अर्कोलाई ल्याउँदा हुन्थ्यो तर उपाध्यक्ष पक्षले त्यस्तो नगरेर इवी साध्नका लागि विवादित रहेको अशोक कुमार सिंहलाई ल्याएर विकासको गतिलाई रोक्न खोजेका छन्,’वडाध्यक्ष यादवले भने,‘उपाध्यक्ष पक्ष बहुमतमा छ । बहुमत हुँदैमा जेपनि गर्न मिल्दैन् । जनप्रतिनिधिले जनताको विकास गर्नका लागि हो पुराना विवादलाई आगो झैं सल्काएर विकासको गति रोक्ने काम गर्नु हुँदैन् ।’
‘अघिल्लो कार्यकालमा विवादित भएका अशोक कुमार सिंहलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राखेर पालिकाको नोक्सानी वाहेक केही हुनेवाला छैन्,’वडाध्यक्ष यादवले थप्दै भने,‘विवादित भन्दा अरु व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा राखेर पालिकाको कामकाज सुचारु गराउन सबैपक्षसँग आग्रह गर्दछु । हाकिम यो वा त्यो किन ? जसले पनि नियम अनुसार काम गर्ने हो । गर्न दिनुपर्छ ।’ सकभर स्वयं अशोक कुमार सिंह हात हालाहाल भएको स्थानमा नैतिक रुपमा फर्केर आउन मिल्दैनथ्यो –वडाध्यक्ष यादवले जिकिर गरे ।


प्रकाशित : २०७९ चैत्र ५ आईतवार