छड्के अनुगमनमा निस्केको टोलीले अवैध ग्राभेल उत्खनन गर्ने तीन वटा जेसिभी नियन्त्रणमा लियो

[sharethis-inline-buttons]

जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी र नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले अवैध ग्राभेल उत्खनन् गर्ने खानीबाट तीनवटा चेन स्काभेटर नियन्त्रणमा लिएको छ । नरहा गाउँपालिका वडा नं. ३ स्थित नयाँ चोहर्वा चोकदेखि उत्तरी क्षेत्रबाट उक्त स्काभेटरहरु नियन्त्रणमा लिइएको हो ।


जिल्ला समन्वय समिति सिरहाका संयोजक दिनेश महतो, उप संयोजक दिलीप लामा , अधिकृत द्रोपदी यादव , जिल्ला प्रशासन कार्यालय सिरहाका प्रतिनिधि विकास प्रधान (नासु) तथा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका सुरक्षाकर्मीहरु पत्रकारसहितको टोली लिएर छड्के अनुगमनमा खानी क्षेत्रमा पुगेका थिए । अनुगमन टोली आइरहेको सुइँको पाएका खानी सञ्चालकहरुले ट्रिपरहरु भगाएका थिए तर तीन थान चेन स्काभेटर घटनास्थलमै फेला परेको थियो ।


चेन स्काभेटरका चालकहरु भगिसकेका थिए । संयोजक महतोले तीनवटै चेन स्काभेटर प्रहरी कार्यालयमा पु¥याउन सुरक्षा निकायलाई आग्रह गर्नुभयो । उहाँले कतै कुनै निकायबाट अनुमति नलिई मनपरी ढंगले ३० फिट गहिरोसम्म उत्खनन् गरिएको र राजस्व समेत छलेको देखिएकोले कडा कारवाही गरिने बताउनु भयो । संयोजक महतोले इलाका प्रहरी कार्यालय मिर्चैयालाई नियन्त्रणमा लिएको चेन स्काभेटर नगरपालिकामा पेस नगरी जिल्ला समन्वय समितिबाट कारवाही हुने गरी पेस गर्न आग्रह गर्नुभएको छ ।


खानी उत्खनन् गरिएको स्थानभन्दा ५० मिटरको दूरीमा सामुदायिक वन छ । २ सय मिटर पर नेपाली सेनाको २७ नं. वाहिनी कार्यालय छ । त्यस्तो संवेदनशील स्थानमा वातावरणीय प्रभाव मूल्यांकन नगरी उत्खनन् गरिएको छ । कुनै पनि सरकारी निकायसँग अनुमति मागिएको छैन ।

३० फिट गहिरोसम्म खनिएको छ । छरछिमेकको सहमति लिइएको छैन । यो त अपराध नै हो जिल्ला प्रशासन कार्यालका नासु विकास प्रधानले बताउनुभयो ।

 

 


प्रकाशित : २०७९ फाल्गुन २९ सोमबार