छुवाछुत गर्ने विरुद्ध उजुरी दर्ता गरिएन

[sharethis-inline-buttons]

भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धिकरण कृया भोजमा दलित समुदायलाई सुनियोजित र जानाजान रुपमा छुवाछुत गरी भोज खुवाइएको भन्दै संयुक्त दलित मोर्चाले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी दर्ता नगरी फर्काइ दिएको छ । छुवाछुत गरिएको भन्दै दोषीहरु उपर अनुसन्धान गरी कानून बमोजिम दण्ड सजाय गरी पाउँ भन्दै दलितहरु जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।
हामीले जाहेरी दरखास्त प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुको टेबलमा राख्यौं । उहाँले हाम्रो उजुरीलाई छुनु समेत भएन – उजुरी दर्ता गर्न जानुभएका शिवकुमार महराले भन्नुभयो । उजुरी दिन जानु भएका अर्का दलित अधिकारकर्मी रविन महराले भन्नुभयो त्यसमा के लेखिएको छ भनेर पढ्ने कुरा त परै जाओस् । मानौ निवेदन छुँदा पनि छोइछिटो लाग्छ भने जस्ते गरी दर्ता हुँदैन भनेर फकाई दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाले उजुरी दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय पुगेका दलित अधिकारकर्मीहरु त्यहाँबाट निराश भएर फर्केको बताउँछिन् कृष्णमाया विक । उजुरी दर्ता नहुने भनेर जिल्ला प्रहरी कार्यालय सिरहा र सरकारी वकिलको कार्यालयबाट फिर्ता पठाइएका दलित अगुवाहरु राष्ट्रिय मानव अधिकार आयोगको ढोका घच्घच्याउन पुगेका छन् । अधिकारकर्मीहरुले आयोगलाई उजुरी दर्ता नगरिएको गुनासो सुनाएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकुनन्द इवा लिम्बुले जो भोजमा छोइछिटो गरिएका पीडित हुन् उनीहरु प्रमाणसहित उजुरी लिएर आए मात्र दर्ता गर्ने बताउनु भयो । अन्य दलितले दिएको उजुरी दर्ता नगर्ने भनेर सम्झाएर फिर्ता पठाएको बताउनु भयो ।
मानव अधिकार हनन्का घटनामा जोसुकै नागरिकले उजुरी दिन सक्ने र प्रहरी स्वयंले पनि सञ्चारमाध्यममा आएको समाचारको आधारमा फइल खडा गरेर अनुसन्धान गर्न सक्ने कानूनी व्यवस्था रहेको स्मरण गराउँदा लिम्बुले भन्नुभयो राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोगले अनुसन्धान गर्दैछ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय सिरहाले पनि छानविन आयोग बनाएको छ । अनि थप जाहेरी किन दर्ता गर्नुप¥यो ? लिम्बुले प्रमाणसहित पीडित खुद आए मात्र दर्ता हुने बताउनुभयो ।
आयोगकी अधिकृत मञ्जु खतिवडाले उजुरी किन दर्ता नगरिएको हो आयोगले लिखित रुपमा सोध्ने बताउनुभयो । मानव अधिकार हनन्को घटनामा जोसुकैले उजुरी दिन मिल्छ भन्ने खतिवडाको जिकिर थियो ।

 


प्रकाशित : २०७९ फाल्गुन २९ सोमबार