भोजमा गरिएको छुवाछुतको छानविन गर्न आयोग सिरहामा

[sharethis-inline-buttons]

सिरहा ÷ फागुन २९
भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली सिरहा आइपुगेको छ । आयोगको जनकपुर स्थित मधेस प्रदेश कार्यालयकी अधिकृत मञ्जु खतिवडाको नेतृत्वमा छानविन टोलीले कार्य प्रारम्भ गरेको छ ।

पहिलो चरणमा सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र जिल्लाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुसँग आयोगले सोधपुछ गर्ने अधिकृत खतिवडाले बताउनु भयो । दोश्रो चरणमा भोजस्थलमा गएर पीडित दलितहरुसँग सोधपुछ गरी घटनाबारे सत्थ तथ्य संकलन गर्ने कार्यतालिका रहेको खतिवडाको भनाइ छ । जिल्लामा रहेका दलित तथा मानव अधिकारकर्मी र अन्य देखिजान्ने व्यक्तिहरुसँग पनि सत्य तथ्य जान्ने उहाँले भन्नुभयो ।
मानव अधिकारको दृष्टिले विश्वका सबै मानिसहरु समान हुन् । कोही ठूला र कोही साना छैनन् भन्दै उहाँले उक्त भोजमा छुवाछुत गरेर पोष्टर राखिएको र माइकिङ्ग गरेको जान्दाजान्दै भोज खाने प्ुर्व मन्त्री र बहालबाला जनप्रतिनिधिहरुसँग पनि सोधपुछ गरिने जानकारी दिनुभयो । मानव अधिकार रक्षाका लागि कुनै मुलाहिजा नगरिने र आवश्यक परे आयोगले २४ घण्टे पुर्जी काटेर बोलाउने पनि उहाँले बताउनु भयो ।
भगवानपुर भोजमा भएको भनिएको छुवाछुतलाई आयोगले निकै गम्भीरतापूर्वक लिएको छ । आयोगले अत्यन्त कडाइका साथ दोषीहरु उपर कारवाही गर्न सरकारलाई निर्देशन पनि दिएको जानकारी दिनुभयो । मानव अधिकार हनन् गर्नेहरुको नाम तोक्ने , कसुरको मात्रा निक्र्यौल गर्ने , लज्जित गर्ने र दण्डनीय कदम चालिने अधिकृत खतिवडाको भनाइ छ । अनुसन्धानमा सहयोग गर्न उहाँले सम्वद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।


प्रकाशित : २०७९ फाल्गुन २९ सोमबार