भगवानपुरमा भएको छुवाछुत विरुद्ध संयुक्त दलित मोर्चाद्वारा प्रदर्शन

[sharethis-inline-buttons]

अर्जुन थपलिया
गोलबजार, फागुन २७
भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवलाई निलम्वन गरी कानूनी कारवाही गर्न माग गर्दै दलितहरुले गोलबजारमा विरोध प्रदर्शन गरेका छन् । आज मध्यान्ह संयुक्त दलित मोर्चा सिरहाको आयोजनामा विरोध प्रदर्शन भएको हो । सडक प्रदर्शनमा उत्रिएका दलितहरुले भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारयण यादवलाई तत्काल निलम्वन गर्न र पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकार तथा स्थानीय प्रशासनसँग माग गरेका छन् ।
कालो ब्यानर र हात हातमा प्लेकार्ड बोकेर सडकमा उत्रिएका दलित नर नारी तथा बालबालिकाहरुले दलितहरु प्रति छुवाछुत गरी भोज खुवाएकोमा उग्र नाराबाजी गरेका थिए । विरोध ¥याली गोलबजारको मुख्य मुख्य भाग वडा नं. ४ र ६ को परिक्रमा गरेको थियो ।


विरोध प्रदर्शनमा उत्रिएका दलितहरुले छुवाछुतलाई संस्थागत गर्ने गरी भोज खाने माननीय, पूर्व तथा बहालबाला मन्त्री , प्रमुख जिल्ला अधिकारी , सिरहाका प्रहरी प्रमुख , पालिका प्रमुख तथा उपप्रमुखहरुलाई पनि कानूनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।


¥याली पछि गोलबजारको मुख्य चोकमा कोणसभा गर्दै दलित अगुवा कार्यकर्ता तथा दलित अधिकारकर्मीहरुले छुवाछुतको आपराधिक घटना सामाजिक मेलमिलापको नाममा मिलापत्र हुँदैन , दोषीहरुलाई कानूनको दायरामा ल्याउनु पर्ने माग गरे ।


दलित अगुवा राजु विश्वकर्माले संविधान र पचलित ऐन कानूनको परवाह नगरी दलितहरुलाई पोष्टर टाँसेर अलग्गै स्थानमा बसाएर भोज खुवाउनु मानवता विरुद्ध अपराध हो । यसले ६० लाख नेपाली दलितहरुको आत्मसम्मानलाई ठेस पु¥याएको र यो अक्षम्य अपराध भएको ठोकुवा गरे ।
त्यसैगरी अर्का दलित अधिकारकर्मी शिव कुमार महराले भगवानपुर घटनामा दोषीहरु उपर कारवाही नगरिए यो संविधानबाट दलितहरुको मुक्ति नहुने ठहर्छ भनेका छन् । उनले दोषीहरु बचाउने खेल भएमा आन्दोलनले उग्र रुप लिने दावी गरेका छन् ।

त्यसैगरी अर्का वक्ता कृष्णमाया विकले दलितका लागि नेपाली समाज र संघीय लोकतान्त्रिक गणतन्त्र दुबै निर्दयी र गैर जिम्मेवार रहेको बताए । उनले स्थानीय प्रशासनलाई संविधान प्रदत्त दलितको मौलिक हकको रक्षा तथा कार्यान्वयन गराउन ध्यानाकर्षण गराए ।

अर्का वक्ता सुरज महराले कानून बमोजिम भगवानपुर घटनाका दोषीहरुलाई पक्राउ गरी कारवाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् । कोण सभामा महेन्द्र सदा र विन्दु साहले पनि विचार राखेका थिए ।
भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको घरमा गत फागुन २२ गते मृत आमाको शुद्धी भोजमा प्लेकार्ड र फ्लेक्स प्रिन्टमा दलित र गैर दलतलाई अलग अलग राखेर भोज खुवाइएको थियो । १५ हजार मानिसले खाएको उक्त भोजमा उच्च पदस्थ कर्मचारी तथा जनप्रतिनिधिहरु प्नि सामेल भएका थिए ।


प्रकाशित : २०७९ फाल्गुन २७ शनिबार