संयुक्त दलित मोर्चा सिरहाद्वारा ज्ञापन पत्र प्रस्तुत

[sharethis-inline-buttons]

संयुक्त दलित मोर्चा सिरहाद्वारा भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारयाण यादवले आमाको पुण्यतिथिको भोजमा सार्वजनिक रुपमा दलित तथा मुस्लिमहरु प्रति छुवाछुत गरेकोले निजलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गरिएको छ ।
मोर्चाले जिल्ला प्रशासन कार्यालय सिरहामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै गैर दलित र दलित तथा मुस्लिमलाई जातीय आधारमा पोष्टर टाँसेर अलग अलग स्थानमा राखेर भोज खुवाएर छुवाछुत गरिएकोले कानूनी कारवाहीको माग गरिएको छ । दोषी उपर कारवाही नगरिए सशक्त रुपमा आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा चेतावनी दिइएको छ ।
संयुक्त दलित मोर्चा सिरहाले भगवानपुरको भोजमा गरिएको विभेदले नेपालको संविधान २०७२ को धारा १८ ले प्रदान गरेको समानताको हक, धारा २४ ले प्रदान गरेको छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक, धारा ४० बमोजिमको दलितको हक र धारा ४२ अनुसारको मानव अधिकार प्रत्याभूतिको हकको उलंघन भएको जिकिर गरेको छ ।

दलित मोर्चाले त्यस भोजमा सहभागी भएर आतिथ्य ग्रहण गर्ने र भोज खाने सबै सार्वजनिक ओहदामा बसेकाहरुले नैतिक रुपमा माफी माग्नु पर्ने माग पनि गरेको छ ।


प्रकाशित : २०७९ फाल्गुन २६ शुक्रबार