सिरहा, २३ फागुन
हात्तिको आक्रमणबाट सिरहामा एक युवकको ज्यान गएको छ । आज अपरान्ह जिल्लाको गोलबजार नपा ३ जमदह पुरानडिहका २२ वर्षीय देव प्रसाद सदाको मृत्यु भएको हो ।
होलीको दिन भएकाले साथीहरुसँग गाउँ नजिकैको जङ्गलमा घुम्न गएको बेला हात्तिले आक्रमण गरेको र घाईते भएका सदालाई उपचारको लागि स्वास्थ्य संस्थामा पु¥याए पनि बचाउन नसकिएको हो । अस्पताल पुग्दा स्वास्थ्यकर्मीले सदालाई मृत घोषणा गरेको वडा अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए ।
उपचारका लागि गोलबजारस्थित गोलबजार हेल्थ केयरमा ल्याइएको र उनको पहिले नै मृत्यु भइसकेको स्वास्थ्यकर्मी नरेश लामाले बताए । उनको छात्ति र दाहिने खुट्टामा गहिरो चोट देखिएको स्वास्थ्यकर्मी लामाले बताए ।
होलीको दिन भएकोले घरमा खानपिन गरेका बेला साथीहरुसँग घुम्न गएको सदाकी दिदी सुनिताले सुनाइन् । उनले भनिन् ‘म पनि बाख्रा लिएर चराउन हिँडे, भाइ पनि साथीहरुसँग घुम्न गएको थियो । गाउँमा हात्ति आयो भनेर हल्ला चलेपछि हामीपनि भाग्यौं, पछि भाइ नआएपछि खोज्दै जाँदा लडेको अवस्थामा पायौं । ’
सदायको एक श्रीमती र दुई वर्षीय एक छोरा छन् । हात्ति अझै वस्ति नजिकैको जङ्गलमा रहेको वडाअध्यक्ष लामाले जानकारी दिए । हात्ति नजिकैको जङ्गलमा रहेकाले स्थानीय त्रसित छन् । हात्ति दुई दिन अघिदेखि यही क्षेत्रमा रहेको स्थानीयको भनाइ छ ।
इलाका प्रहरी कार्यालय गोलबजारले हात्तिको आक्रमणबाट मृत्यु भएको जानकारी प्राप्त भएपनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।
हात्तिको आक्रमणबाट सिरहामा एक युवकको ज्यान गयो
प्रकाशित : २०७९ फाल्गुन २३ मंगलवार