युएईमाथि नेपालको जित   

[sharethis-inline-buttons]

काठमाडौँ, २२ फागुन
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । जवाफमा युएई ४५ ओभरमा सबै विकेट गुमाउँदै १८७ रनमा सीमित बन्यो ।

युएईका लागि ओपनर मुहम्मद वासिम शून्य रनमा आउट भएका थिए भने अर्का ओपनर आसिफ खानले ८२ रनको योगदान दिए । त्यसैगरी आर्यन लाक्राले ५० रन जोडे भने वृत्य अरविन्दले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

युएईलाई १८७ रनमा समेट्ने क्रममा नेपालका दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३÷३ विकेट झारे भने आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । त्यस्तै सन्दीप लामिछानेले २७ तथा करण केसीले १७ रन बनाए ।

युएईका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २÷२ विकेट लिए । यस खेलसँगै नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अङ्कका साथ अङ्क तालिकाको पाँचाँै स्थानमा उक्लेको छ । यता युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अङ्कका साथ छैटौँ स्थानमा छ ।

सन् २०१९ देखि जारी उक्त प्रतियोगितामा नेपालको विदेशमा हुने यो अन्तिम त्रिकोणात्मक शृङ्खला हो । शृङ्खलाअन्तर्गत नेपालले पपुआ न्युगिनीसँगको दुवै खेल जितेको थियो ।


प्रकाशित : २०७९ फाल्गुन २२ सोमबार