अर्जुन थपलिया
प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेल ज्यु
गोलबजार नगरपालिका
२०७९ ÷०९÷१४ मा (चलानी नं. १२७२ ) ईलाका प्रहरी कार्यालय गोलबजारलाई गोलबजार नगरपालिकाले एउटा पत्र पठाएको छ । प्रहरीले गैर कानूनी रुपमा माटो उत्खनन् गरी बिक्री गर्न लागेको जेसिभि र ट्रिपर पक्राउ गरेको थियो । सो जेसिभी र ट्रिपुर निजी जग्गाको माटो सम्याउने क्रममा भएको छोडिदिनु भनेर तपाईँ आफैले हस्ताक्षर गरेर पत्र लेख्नु भएको रहेछ ।
ठीक त्यसैगरी २०७९÷०६÷२६ मा ( चलानी नं. ६३८) मा उप प्रमुख मान्ती साहको हस्ताक्षरबाट ईलाका प्रहरी कार्यालय गोलबजारलाई पत्र लेखी निजी जग्गाको दुहाई दिएर पक्राउ परेको गाडी छुटाइएको रहेछ ।
प्रमुख प्रशासकीय अधिकृत ज्यु ः घटना एक पटक मात्र भएको रहेनछ । यी दुई पत्रले घटना पटक पटक भएको पुष्टी हुन्छ । प्रहरीले अवैध उत्खनन्का गाडीहरु पक्राउ ग¥यो कि गोलबजार नगरपालिकाले पत्र लेखेर छुटाउने अभ्यास नै रहेछ । यी दुई पत्रले त्यही सावित गर्छ ।
जग्गा सम्याउन जेसिभी प्रयोग गरिए पनि सम्याउन लागिएको जग्गाबाट ट्रिपरमा लोड गरेर माटो अन्यत्र ओसारिदैन । सम्याउने भनेको अग्लो होचो मिलाउन त्यहाँको माटो त्यहीँ मिलाउने हो । जेसिभिले खन्ने र ट्रिपरले अन्यत्र ओसार्ने भनेको माटो उत्खनन् गरेर बिक्री गर्नकै लागि हो । सम्याउन होइन । त्यसकारण नगरपालिकाको निरीक्षण प्रतिवेदन र त्यसका आधारमा लेखिएको पत्र बदनियतपूर्वक गरिएको गैरकानूनी कार्य हो भन्ने कुरा पहिलो दृष्टिमै देखिन्छ ।
म कानूनको विद्यार्थी त होइन तर जहाँसम्म मलाई थाहा छ निजी जग्गाबाट पनि हेभी इक्युपमेन्ट प्रयोग गरेर माटो खनेर अन्यत्र ओसारपोसार गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नै पर्छ । कानूनमा स्पष्ट व्यवस्था छ । वातावरणीय प्रभाव मूल्यांकन गरेर स्थानीय तह वा जिल्ला समन्वय समिति वा घरेलु तथा साना उद्योग कार्यालय वा अन्य अधिकार प्राप्त निकायबाट इजाजत लिनै पर्छ । विधायिकी निकायले त्यस्तो कानूनी व्यवस्था गर्नुको सामान्य कारण माटोजन्य पदार्थको अनियन्त्रित दोहन नहोस् , वातावरणीय दुष्प्रभाव परेर पहिरो तथा भूक्षय जस्ता क्षति नहोस् र राजस्व छली नहोस् भन्ना खातिर हो ।
खुल्न आएको ( नखुलको त कति होला –होला ) यी दुई पत्र लेखेर दुई पटक छुटाइएका गाडीहरुले उत्खनन् गरिएको स्थानहरुमा वातावरणीय प्रभाव मूल्यांकन गरिएकै थिएन । कानूनको पहिलो उलंघन त त्यहीँ भयो । दोश्रो कुरा अधिकार प्राप्त निकायबाट इजाजत लिएका थिएनन् । यसले गर्दा गलत नजिर बसेको छ । जसलाई जहाँबाट जहिले मन लाग्यो उत्खनन् गर्ने र पक्राउ परेमा नगरपालिकाबाट पत्र लेखाएर गाडी छुटाउने । तेश्रो कुरा उक्त गाडीहरु छुटाइएका कारण नगरपालिका र नेपाल सरकारको राजस्व छलियो । गाडी छुटाइए पछि उत्खनन् गरिएको ठाउँबाट मनलाग्दी माटो उत्खनन् गर्ने इजाजत पाए सरह भयो । त्यहाँबाट जति माटो उत्खनन् गरियो त्यसको राजस्व हिनामिना भयोे । छलिएको राजस्व तपाईहरुबाट असुल उपर गर्नु पर्ने हो कि होइन ? चौथो कुरा उत्खनन् भएको स्थानमा भूक्षय भएर छरछिमेकको जग्गाको माटो बगायो वा प्राकृतिक रुपमा कुनै जल उत्पन्न विपद् आइलाग्यो भने को जिम्मेवार हुने ? पाँचौ कुरा यी गाडी छुटाउन पत्र लेख्दा प्रमुख प्रशासकीय अधिकृत र उप प्रमुखले नाजायज नजराना लिएका छैनन् भन्ने आधार के ? छैठौं कुरा दुईवटालाई पत्र लेखेर छुटाइसकेपछि अन्यका हकमा पनि यही नजिर लागू हुन्छ कि हुँदैन ? सातौ प्रश्न , प्रमुख प्रशासकीय अधिकृत र उप प्रमुखलाई कुन कानूनको कुन दफाले हुकुम प्रमाङ्गी शैलीमा प्रहरीले पक्राउ गरेको गाडी छोडिदिनु भन्ने पत्र लेख्ने अधिकार प्रदान गरेको छ – बताउन सकिन्छ कि ?
मेयर साहब श्याम कुमार श्रेष्ठले भन्दै हुनुहुन्थ्यो – प्रहरीले अवैध उत्खनन् रोक्न नगरपालिकालाई सहयोग गरेन । पक्राउ परेका गाडी जरिवाना गरेर छाड्ने होइन अपितु लिलाम नै गर्नुपर्छ । मेयर साहव तपाईहरुका आफ्ना मान्छे , पार्टीका मान्छे वा नजराना चढाउने मान्छेले अवैध उत्खनन् गर्दा प्रहरीलाई पत्र लेखेर गाडी छुटाउने अनि उल्टो प्रहरीलाई दोष दिने ? असंगत र द्वैध चरित्रको प्रदर्शन भएन र ? मेयर साहवलाई मन लागेको गाडी लिलाम गर्ने र मन लागेको गाडी छोड्ने व्यवस्था लागू गर्न खोजिएको हो । उत्खनन्को मामिलामा गोलबजार नगरपालिकाको आन्तरिक कुशासनको अभ्यास थाहा पाएरै प्रहरीले सहयोग नगरेको हो कि ?
मैले सुनेको छु एउटा कथा – ( ऐतिहासिक सत्य हो कि होइन थाहा छैन तर ऐतिहासिकता प्रमाणित गर्नुभन्दा यसलाई प्रतीकात्मक रुपमा बुझ्दा हुन्छ ) २० वर्ष पहिले डोटीबाट मुल्ला नसरुद्दिन पत्नी सहित गोलबजारतिर बसाईँ सरेर आएका थिए । डोटीमा उनको राम्रो बन्दोवस्त थियो तर दुर्घटनावस उनी एउटा घटनामा बदनाम भए । लोकलाज लुकाउन उनी गोलबजार आएका थिए ।
भएको के रहेछ भने– उनको बिबाह कोहलपुरतिर भएको रहेछ । बिबाहमा काजीले निकाह पढेर ( बैबाहिक विधि ) पूरा गरेपछि दुल्हा नसरुद्दिन उभिन लागेछन् । संयोगले उनको सुरुवालको इजार लामो रहेछ । जरुक्क उठ्दा इजार पैतालाले टेकिएर तानिए छ । सुरुवाल खुलेछ । बिबाहको जग्गेमा दुल्हाको सुरुवाल खुलेकोले हाँसोको पर्रा छुट्यो । हल्ला फिँजियो ससुराली गाउँभरी । हल्ला नसरुद्दिनको घर गाउँतिर पनि फैलियो । ए है बिचरा नसरुद्दिन ससुरालीमा सुरुवाल खुलेर नाङ्गै भएछन् ..हाहा हाहा । हाँसोको खित्का ….। सर्वत्र हसी– मसखरी र उपहासको पात्र भएछन् नसरुद्दिन । कतै मुख देखाउनै नसक्ने भए उनी । जता निस्क्यो उतै गिल्ला । नसरुद्दिन पति पत्नी नै दिक्दार भएछन् ।
बदनामी र उपहास सहन नसकेर उनीहरु डोटी छोडेर गोलबजार आएछन् । यतै रोजगारी गरी जीविका चलाउँदै थिए । २० वर्ष बितेपछि एक दिन दुई ज्यामीले सल्लाह गरेछन् । अब त डोटीका समाजले बिर्सिसके होलान् । हामी आफ्नै जन्मघरतिर फर्किऔं । दुबै जना डोटी फर्किए । डोटी पुगेर आफ्नो जन्मघर नजिकैको चौतारामा टुसुक्क बसेर बिसाउदै थिए । चौतारामा बसेका अन्य दुई जना बीच बादबिवाद प¥यो । एक केटाले भनिरहेका थिए ् म १९ वर्षको भएँ । उनका काकाले भनेछन् तिमी २० वर्षका भयौं । बिवाद हुँदाहुँदै काकाले फ्याट्ट भनेछन् बाबु तिमी नसरुद्दिनको सुरुवाल खुलेकै महिनामा जन्मेका हौं । ठ्याक्क २० वर्ष पुग्यौ ।
आफ्नो जग हसाईको विषय समाजले बिस्र्यो होला भनेर जन्मथलो फर्केका नसरुद्दिन दम्पतीमाथि काका भतिजको सम्बादले बज्रपात नै ग¥यो । समाजले बिर्सेकै रहेनछन् । उनीहरु त्यहाँबाट फर्केर अन्यत्र गएछन् ।
गोलबजार नगरपालिकाको वेथिति लेख्न त घैंटोमै मसी घोल्नु पर्ने अवस्था देखिदै छ । सामान्य माटो उत्खनन् देखि खरिद प्रकृयासम्मका वेथिति । उपलब्ध दसी प्रमाणका आधारमा प्रश्न उठाउनु हाम्रो सामाजिक कर्तव्य र कानूनी अधिकार दुबै हो । प्रमुख प्रशासकीय अधिकृत ज्यु , म पनि गोलबजार नगरपालिकाकै बासिन्दा हुँ । यहाँको कुशासनको नकारात्मक प्रभावको बाछिटा म माथि पनि पर्छ । त्यसकारण मेरो मन पनि भत्भती पोल्छ । म मानव अधिकार र अहिंसा प्रति प्रतिवद्ध मानिस हुँ । त्यसकारण मानव अधिकार हनन्का घटनाको पुनःउच्चारण गरेर कसैलाई आहत बनाउन चाहन्न । तर सुशासन पाउने मेरो र समाजको अधिकार हो । त्यसकारण निर्ममतापूर्वक मैले केही प्रश्न तेस्याउनै पर्छ र तपाईँ जवाफदेही ओहदामा बसेकोले जवाफ दिनु तपाईँको कर्तव्य हो । यसबाट पञ्छिन मिल्दैन ।
अहिले अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोवाइल फोनको रिङ्गटोनमा भ्रष्टाचारको सम्पत्तिले सात पुस्ता पिर्छ भनेर सन्देश राखिदिएको छ । अख्तियारले समाज र राज्यका विभिन्न अवयवहरुमा कार्यरत सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई बदनामीले सात पुस्ता पिर्छ भनेको छ । दुर्घटनावस सुरुवाल खुलेको बदनामीले नसरुद्दिनलाई जन्मथलो छोड्न बाध्य बनायो । भ्रष्टाचारमा राज्यका कुनै निकाय वा समाजबाट दामल भएर बदनाम हुनु प¥यो भने त साच्चै सात पुस्ता पिर्छ । २० वर्ष अघि इन्टरनेट थिएन । डोटीको घटना गोलबजारमा फैलिएन । अहिले त सामाजिक सञ्जालले बदनामी निमेष मात्रमा विश्वभर फैलाइदिन्छ र अर्काइभमा भण्डारण गरेर पनि राखिदिन्छ । तपाईँ सधैभरी गोलबजार नगरपालिकामा बस्ने त होइन होला । यहाँबाट जाँदा हामीले सदाचारी व्यक्तित्व भन्ने कतै लक्षण भेटेनौ । यही लाग्छ पिरलो ।
तस्बिर ः सामाजिक सञ्जाल